Monday November 28, 2022

फर्किएला कोइराला बिरासत, देउवालाई कति चुनौती ?

८ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम 150863


फर्किएला कोइराला बिरासत, देउवालाई कति चुनौती ?

शीतलपाटीन्यूज डटकम

सत्तरी वर्षको इतिहासमा कोइरालाहरूले कांग्रेसलाई ४९ वर्ष आफ्नो नेतृत्वमा चलाए । कोइराला परिवारबाट कांग्रेसमा चार सभापति बने । ००३ सालमा कांग्रेस पार्टी स्थापना भएयता बिपी कोइरालाले पाँचपटक गरेर २५ वर्ष कांग्रेसको नेतृत्व लिए । मातृकाले दुईपटक गरेर चार वर्ष, गिरिजाप्रसादले तीनपटक गरेर १४ वर्ष र सुशील कोइराला कार्यवाहकसहित दुईपटक गरेर ६ वर्ष कांग्रेस नेतृत्वमा बसे । गिरिजाप्रसाद र सुशील कोइरालाको निधनपछि कोइराला परिवारबाट कांग्रेस नेतृत्व शेरबहादुर देउवाको हातमा पुग्यो ।

यसबीचमा कोइराला परिवारका तीन सदस्यबीच मेल थिएन, टकराव थियो । तर, अहिले कोइराला परिवारका तीन सदस्य शशांक, सुजाता र शेखरबीच एकता भएको छ । यसले कांग्रेसमा ठूलै तरंग ल्याएको छ । फेरि पनि कांग्रेसमा कोइराला बिरासत फर्कने त होइन भन्ने अनुमान गर्न थालिएको छ ।

भट्टराईको कार्यकाल १९ वर्ष

कांग्रेसमा कोइराला परिवारलाई लामो समय चुनौती दिनेमा कृष्णप्रसाद भट्टराई मात्र रहे । ०३४ सालमा बिपीले स्वास्थ्यको कारण देखाएपछि भट्टराई कार्यवाहक सभापति बने । ०३९ सालमा बिपीको निधनपछि पनि ०४७ सालसम्म कार्यवाहक र ०४८ सालमा निर्वाचित सभापति भएर भट्टराईले ०५३ सालसम्म गरी १९ वर्ष कांग्रेस चलाए । तर, भट्टराईले कांग्रेस चलाउँदा पनि कोइरालाहरूको सद्भावबाट उनी टाढा थिएनन् ।

सुवर्णलाई दुई वर्ष

कांग्रेसमा कोइराला परिवारबाहेक नेतृत्व गर्न पाउनेमा सुवर्णशमशेर पनि पर्छन् । उनले ०१२ देखि ०१४ सम्म गरी दुई वर्ष नेतृत्व गरे ।

२० वर्षपछि देउवाको कब्जा

७० वर्षमा कोइराला परिवारकै नेता वरिपरि कांग्रेसको राजनीति घुम्यो । ०३४ देखि ०५३ सम्मको १९ वर्ष भट्टराईले चलाए । फेरि २० वर्ष कांग्रेसको राजनीति कोइरालाहरूकै वरिपरि घुमिरह्यो । तर, ०७२ फागुनमा भएको १३औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवाको उदय भयो । ०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनकै गृहमन्त्री भएका देउवा २०५२, २०५८, २०६१ र २०७४ गरी चारपटकसम्म प्रधानमन्त्री भएर आफूलाई उदाउँदो नेताका रूपमा उभ्याउन सफल भए ।

कोइरालाहरू किन मिल्न बाध्य भए ?

सुशील कोइरालाको निधनपछि कोइरालाहरूले रामचन्द्र पौडेललाई सभापतिमा अघि सारे । तर, उनले देउवालाई चुनौती दिन सकेनन् । फेरि पनि पौडेलले देउवालाई चुनौती दिन नसक्ने निष्कर्ष कोइराला परिवारले निकालिसकेको छ । यसकारण पनि १४औँ महाधिवेशन आउँन तीन वर्षअगाडिदेखि नै कोइरालाहरू गुमेको राजनीतिक बिरासत फर्काउन लागिपरेका छन् । जसरी पनि बिरासत फर्काउने अभियानमा बिपीपुत्र एवं महामन्त्री डा. शशांक, डा. शेखर र सुजाता कोइरालाबीचको भेट बाक्लिँदै गएको छ । पूर्वसंस्थापनका नेताहरूलाई एकजुट गरेर महागठबन्धन बनाउने अभियानमा उनीहरू सक्रिय छन् । आफूहरूमध्येबाटै सभापतिमा उठ्ने तयारी यी नेताहरूको छ ।

महाधिवेशन आउन तीन वर्षअघिदेखि निरन्तर भेटदेखि एउटै मालासम्म

बिपीपुत्र शशांक, केशव–नोनापुत्र शेखर गिरिजापुत्री सुजाता कोइरालाले पछिल्लो एक वर्षयता झन्डै आधा दर्जनपटक सँगसँगै खाना खाने, भेटघाट गर्ने, राजनीतिक कुराकानी गर्दै एकताको सन्देश दिँदै आएका छन् । यसअघि परिवार भेटघाटका विषय बाहिर नल्याउने उनीहरूले भेटघाटलाई बाक्लो मात्र बनाएका छैनन्, पूर्वसंस्थापनका नेतासँगको भेटलाई समेत जोडेका छन् । गत २ भदौमा विराटनगर पुग्दा शशांकले १४औँ महाधिवेशनमा कोइरालाहरूकै दाबी रहने प्रस्ट्याए । ‘कोइराला परिवारका बारेमा मान्छेहरूले अनेक अड्कलबाजी गरिरहेका छन् ।

हामीबीच समझदारी छैन भन्दै प्रश्न उठाउँदै आएका छन्, यो निरर्थक र निराधार कुरा हो,’ शशांकले भनेका थिए, ‘अब हामीबीच नेतृत्वको कुरामा राम्रो समझदारी छ । उपयुक्त समयमा हामी उपयुक्त निर्णय लिन्छौँ । नेतृत्वका लागि तीनमध्ये एक अघि बढ्छौँ ।’ शेखरले भने नेतृत्वका बारेमा बोलेनन् । तर, उनले देशभर घुम्ने, भेटघाट गर्ने, राष्ट्रिय मुद्दामा धारणा सार्वजनिक गर्ने, सरकारको आलोचना गर्ने, पार्टी र नेतृत्वको आलोचना गर्नेमा समय खर्चिंदै आएका छन् । सभापति शेरबहादुर देउवासँग मात्र होइन, नेता रामचन्द्र पौडेलको भूमिकाप्रति शेखर सन्तुष्ट छैनन् । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ  ।

तीन कोइरालालाई प्रकाशले मिलाएको चर्चा

कोइराला परिवारबाट पार्टीको बिरासत गुमेपछि यसलाई फर्काउनका लागि बिपीकै जेठापुत्र प्रकाशले शशांक, शेखर र सुजातालाई एक ठाउँमा उभिनका लागि आग्रह गरेको बुझिएको छ । गत साउनमा प्रकाशले तीन नेतालाई आफ्नै निवासमा खाना खुवाउँदै मिलेर जान सुझाएका थिए । राजावादी अभियानमा रहे पनि उनी कोइराला परिवारका जेठा सदस्य हुन् । वेलावेलामा यी नेताहरू पारिवारिक जमघट गर्ने गर्छन् ।

कोइरालामाथि पूर्वसंस्थापनका नेताहरूको संशय कायमै

नेतृत्व र केन्द्रका अरू पदका लागि पूर्वसंस्थापनका नेताहरूले कसैले तत्काल दाबी नगर्ने भन्ने सहमति गरे पनि तीन कोइरालासँग पूर्वसंस्थापनका नेताहरूमा भने संशय देखिन्छ । कोइरालाहरूको निरन्तरको सक्रियता वेलावेला कोइराला परिवारबाटै नेतृत्वका लागि दाबी रहने शशांक र शेखरको टिप्पणीले पौडेल, सिंह, सिटौला, महत, केसीसहितका पूर्वसंस्थापनका नेताहरूमा संशय देखिन्छ ।

पूर्वसंस्थापनबाट देउवालाई कति चुनौती ?

गिरिजादेखि सुशील कोइरालासम्म आइपुग्दा पार्टी व्यवस्थित नभएको, विधि र विधानको पालना नभएको भन्दै देउवाले राजनीति मात्र गरेनन्, यही नाराले १३औँ महाधिवेशनबाट नेतृत्वसमेत हत्याए । तर, महाधिवेशन भएको साढे दुई वर्षसम्म पार्टीभित्र राम्रो व्यवस्थापन गर्नमा देउवा पनि चुकेको टिप्पणी हुन थालेको छ ।

सभापतिका रूपमा केन्द्रीय समितिमा देउवाको प्रभाव घटेको छैन । तर, केही प्रभावशाली केन्द्रीय सदस्यले साथ छोड्नु, भ्रातृसंस्थाहरू निरन्तर कमजोर हुँदै जानु, आफैँले मनोनीत गरेका केन्द्रीय सदस्यहरू असन्तुष्ट हुनु, गत तीनवटै निर्वाचन परिणाममा कांग्रेस कमजोर देखिनुले भने पार्टीको तल्लो तहसम्म देउवा बलिया छैनन् भन्ने सन्देश दिन्छ । यी सबै नतिजालाई ख्याल गर्दै तलबाटै चुनिएर आउने महाधिवेशन प्रतिनिधि निर्णायक हुँदा केन्द्रमा बहुमत देखिँदा पनि १४औँ महाधिवेशनमा देउवा कमजोर बन्न सक्छन् ।

१३औँ महाधिवेशनमा जिताउन भूमिका खेलेका कृष्ण सिटौला, अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ, चन्द्र भण्डारीले देउवाको साथ छाडेका छन् । यिनीहरूले छोड्नु पनि देउवाका लागि अर्को ठूलो चुनौती हो । यद्यपि, विजयकुमार गच्छदारलाई उपसभापति बनाएर आफ्नै खेमामा टिकाउने, आफ्नो पक्षमा अनुशासन कायम राख्ने र पूर्वसंस्थापन पक्षलाई फाइदा नपुग्ने गरी पदाधिकारी थप नगर्दा भने देउवालाई फाइदा हुन सक्नेछ ।

सकस र संकटमा रहेका पौडेल देउवासँग मिल्न सक्लान् ?

नेता पौडेल उमेरमा देउवाभन्दा पनि जेठा छन् । उनले अहिलेसम्म देशको प्रधानमन्त्री हुने र कांग्रेसको ‘फस्र्ट म्यान’ हुने अवसर पाएका छैनन् । १३औँ महाधिवेशनको मुखैमा सुशील कोइरालाको निधन भएपछि पौडेलले सभापतिका देउवासँग लड्ने अवसर त पाए, तर दोस्रो चरणसम्म पुगेको निर्वाचनमा सिटौला पक्षले देउवालाई समर्थन गर्दा उनी पराजित हुन पुगे । पौडेल अहिले ७४ वर्षका भइसकेका छन् । अर्को महाधिवेशनसम्म उनी ७७ वर्ष पुग्नेछन् । यसकारण उनलाई सभापतिमा उठ्न अबको महाधिवेशन अन्तिम हुनेछ ।

कोइरालाहरू नै अघि सर्दा पौडेलसामु समर्थन गरेर जाने, जति भोट आए पनि सभापतिमा भिड्ने वा देउवासँग मिलेर आफ्नो शक्ति देखाउने विकल्प मात्र हुनेछ । जसरी पनि एकपटक पार्टी सभापति हुने आकांक्षा पूरा गर्न पौडेललाई कोइराला परिवारकै धापको जरुरी पर्ने देखिन्छ, कोइरालाहरूले एकपटक मौका दिए । तर, फेरि दिँदा उनले देउवालाई पराजित गर्न नसक्ने बुझाइ उनीहरूको छ ।

यसर्थ, कोइरालाहरू साथ छाडेर अघि बढ्दा नेता कार्यकर्ताको सद्भाव भएका, तर संगठनमा पकड नभएका पौडेलसामु देउवासँग मिल्नुको अर्को राम्रो विकल्प हुनेछैन । कोइरालाहरूले पौडेललाई साथ नदिँदा देउवासामु पनि पौडेललाई भावी राष्ट्रपति, प्रधानमन्त्री वा पार्टीमै कार्यवाहक सभापति दिने आश्वासनमा आफूसँग राख्ने विकल्प पनि छ । तर, यो विकल्पलाई देउवा पक्षकै नेताहरू विजयकुमार गच्छदार, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महतसहितले नरुचाउन सक्छन् ।

कम छैनन् सिटौला

कृष्ण सिटौलाले साथ छोड्दा १३औँ महाधिवेशनमा कोइराला बिरासत गुमेपछि यसपटक फेरि पनि सिटौला पनि निर्णायक हुने देखिन्छन् । उनीसँग पनि गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरीसहितका प्रभावशाली नेताहरूको पनि साथ छ । पूर्वसंस्थापनबाट सभापति जो नेता अघि बढ्दा पनि सिटौलालाई चित्त बुझाउनैपर्ने अवस्था छ । सिटौलाले पनि सभापतिको उम्मेदवारभन्दा अर्को विकल्प देखेका छैनन् ।

यी पनि छन्

सभापतिका लागि अरू दाबेदारमा उपसभापति भइसकेका गणेशमानपुत्र प्रकाशमान सिंह र सभापतिका उम्मेदवार भइसकेका कृष्णप्रसाद सिटौला पनि छन् । यसअघि सधैँ कोइरालाहरूलाई साथ दिँदै आएको भन्दै सिंह अबको महाधिवेशनमा आफैँ सभापतिमा उम्मेदवारी दिने मनस्थितिमा छन् । यस्तोमा १४औँ महाधिवेशनमा उनी पनि जितहारमा भूमिका खेल्ने नेतामा पर्छन् । खासगरी काठमाडौं, चितवन, गुल्मी, इलाम जिल्लाका सभापतिहरू सिंहको पक्षमा छन् ।

कोइरालाहरू उठ्दा सिंहले जित्ने गरी मत ल्याउन सक्दैनन् । तर, नजिते पनि पहिले सिटौलाले जस्तै जितहारमा भूमिका खेल्न सक्छन् । सिंह आजकाल देउवाविरुद्ध आक्रामक शैलीमा प्रस्तुत हुने गरेका छन् । यस्तो हुँदा उनी देउवासँग मिल्न जाने सम्भावना कम छ । तर, सभापतिमा दाबी भइरहँदा उनलाई पौडेल वा कोइरालाहरूले कसरी साथ लिन सक्छन् भन्नेले पनि समीकरणमा फरक पार्छ । सिंह मात्र होइन, देउवालाई परास्त गर्न अर्जुननरसिंह केसी, डा. रामशरण महतलाई पनि मिलाउनुपर्ने हुन्छ । सभापतिका लागि यी दुई नेताले पनि दाबेदारी दिनेछन् ।

परिवारको कुरा गर्ने समय होइन यो
डा. प्रकाशशरण महत सहमहामन्त्री
निर्वाचनबाट हामी कमजोर बनेपछि अब सबैको ध्यान पार्टीलाई बलियो बनाउन केन्द्रित हुनुपर्छ । सरकारको गलत क्रियाकलापविरुद्ध आवाज उठाउन केन्द्रित हुनुपर्छ । पार्टी बलियो भए हामी सबै बलिया हुन्छौँ । त्यसैले, कोही व्यक्ति बलियो बन्नुपर्छ भन्नेतिर होइन, पार्टीलाई बलियो बनाउनेतर्फ हामी केन्द्रित हुनुपर्छ । महाधिवेशन आएपछि पक्ष र विपक्षमा खुल्ने, अभियान थाल्ने स्वाभाविक हो । तर, अहिले नै हाम्रो परिवार राम्रो छ, यो राम्रो, ऊ राम्रो छ भनेर भन्ने वेला होइन ।

मै उम्मेदवार हुँ भन्ने वेला होइन
अर्जुननरसिंह केसी
केन्द्रीय सदस्य

पार्टीका जिम्मेवार साथीहरूबीच समन्वय र एकता हुनु अत्यन्त सकारात्मक हो । नेताहरूबीच हुने यस्ता छलफलले बृहत् एकताको निम्ति बल पु-याउँछन् । कोइरालाहरूले पनि पारिवारिक भेट गर्नु, दृष्टिकोण बनाउनुलाई म स्वाभाविक नै मान्छु । अहिलेकोे नेतृत्वबाट पार्टीले गति लिन सक्दैन भन्नेमा हामी एकमत छौँ । सुजाताको ‘लन्च मिटिङ’मै मैले व्यक्तिकेन्द्रितभन्दा पनि जटिलता र चुनौतीलाई चिर्ने पार्टी निर्माण गर्ने विषयलाई प्रमुख एजेन्डा बनाएर जाउँ भनेको छु । जिल्ला र प्रदेशको अधिवेशनपछि नेतृत्वको विषयमा घोषणा गर्दै सामूहिक नेतृत्वमा जानुपर्छ भन्दै आएको छु । तर, अहिले नै कुनै नेताले मै उम्मेदवार हुँ भनेर घोषणा गर्नु ठीक होइन ।

शशांकको काठमाडौं बसाइ र सुजाताको जिपी फाउन्डेसनले आकर्षण घटायो

बिपीपुत्र शशांक काठमाडाैं बस्ने र सुजाताले निवासलाई छेकेर अग्लो तीनतले जिपी फाउन्डेसनको भवन बनाएपछि कोइराला निवासको रौनक झन् घट्यो । एकातिर राजनीतिमा एकता नहुनु र अर्कोतिर कोइराला परिसरमै कोइरालाहरूको दुई बिरासत देखापर्नुले कार्यकर्ताहरू कोइराला निवास जानै हच्किन थाले । कोइराला निवासलाई निकै नजिकबाट देखे बुझेका विराटनगरका अग्रज पत्रकार अनन्त न्यौपानेका अनुसार पहिले कसलाई भेट्न जाने भन्नेमा समेत कार्यकर्तालाई सकस पर्न थालेको थियो । ‘गुटमा लाग्यो वा असहयोगी रहेछ भन्ने आरोप लाग्ला भनेर कार्यकर्ताहरू शेखर र सुजातालाई भेट्नुपर्दा लुकीलुकी जानुपर्ने बाध्यतामा समेत थिए,’ न्यौपाने भन्छन् ।

शशांकले आफ्नो भागको जग्गा बेचे, शेखरले संरक्षण गरे

गिरिजाप्रसाद र नोनाको निधनपछि सुनसान बन्न पुगेको कोइराला निवासको कुल नौ कट्ठा जग्गामध्ये शशांकले आफ्नो भागमा परेको सबै जग्गा बिक्री गरिसकेका छन् । सुजाताले आफ्नो भागमा परेको चार कट्ठा जग्गामा जिपी फाउन्डेसनको नाममा तीनतले भवन निर्माण गरेकी छिन् । बाँकी रहेको जग्गामा उनले जिपी संग्रहालय बनाउने योजना बनाएकी छिन् । विराटनगर आउँदा उनी त्यही घरमा बस्ने गर्छिन् । आफ्नो भागमा परेको कोइराला निवास डा. शेखरले संरक्षण गरेका छन् । विराटनगर आउँदा शेखर आफ्नो भागमा परेको पुख्र्याैली निवासमै बस्ने गर्छन् । २ मंसिरमा जिपी कोइराला फाउन्डेसनको भवन परिसरमा तीन कोइराला (शंशाक, शेखर र सुजाता)ले एउटै माला लगाएर मञ्चबाट एक भएको सन्देश दिएका थिए । तीनैजनाले दिउँसोको खाना शेखरको घरमा गरेका थिए । साँझको डिनर सुजाता र शेखरले कार्यकर्ताहरूसहित आफ्नो घरमा आयोजना गरेकी थिइन् ।

कोइराला परिवारबाट को ?

गत २ भदौमा शशांकले ‘१४औँ महाधिवेशनमा सभापतिको प्रत्यासी हुँ’ भनेका थिए । तर, शेखरले जस्तो उनले सभापति देउवा, पौडेलविरुद्ध कडा अभिव्यक्ति दिने गरेका छैनन् । देश दौडाहामा उनको निरन्तरता हेर्दा प्रमुख दाबेदार उनी नै लाग्छन् । कसैलाई पनि नचिढ्याइकन नेतृत्वमा अघि बढ्ने रणनीति शशांकको देखिने उनीनिकट नेता बताउँछन् । शेखरको तुलनामा देश दौडाहामा उनी कम जान्छन् । तर, पनि उनलाई नजिकबाट चिन्नेहरू पहिलेको निष्क्रियतालाई हेर्दा अहिलेको उनको दौडाहा र जनसम्पर्क धेरै रहेको बताउँछन् । ‘शशांकको शालीनता र शेखरको सक्रियता एकै ठाउँमा हुने हो भने महाधिवेशनमा जित्न गाह्रो छैन,’ कांग्रेस युवा नेता गुरु घिमिरे भन्छन्, ‘उहाँहरू आफू कसरी मिल्नुहुन्छ र अरूलाई मिलाउन लाग्नुहुन्छ भन्ने विषयले नेतृत्व र नतिजामा फरक पार्छ ।’

कति सक्रिय छिन् सुजाता ?

गिरिजापुत्री सुजाता अस्वस्थतापछि घरमै आराम गरी बढी समय बिताउँछिन् । उनले दुई नेतालाई मिलेर अघि बढ्न आग्रह गर्दै आएकी छिन् । उनको धेरैजसो समय आफ्नै निवासमा भेटघाटमा बित्ने गरेको छ । सुजाताले पूर्वसंस्थापनपक्षीय नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसीलाई आफ्नै निवासमा बोलाउँदै एक भएर देउवाविरुद्ध उत्रिनुपर्ने सन्देश दिइसकेकी छिन् । आफूसहितका सात नेताको जमघटअघि उनले कृष्णप्रसाद सिटौला र प्रकाशमानलाई छुट्टाछुट्टै बोलाएर देउवाविरुद्ध गठबन्धन गर्नुपर्ने सन्देश दिएका थिइन् ।

सभापतिको उम्मेदवार शशांक कि शेखर

कांग्रेसमा पछिल्ला दुई वर्षयता देशभर कोही नेता डुलेका छन् भने ती शेखर नै हुन् । उनको निरन्तरको सक्रियताले सभापतिमा सबैभन्दा ठूलो दाबी शेखरको देखिन्छ । तर, सार्वजनिक रूपमा उनले मुख खोलेका छैनन् । तर, यसको ठीकविपरीत ‘सबै मिल्नुपर्छ, गुटबन्दीभन्दा माथि उठ्नुपर्छ’ भन्दै शशांकले पनि आफू सबैको नेता बन्न खोजेको संकेत दिएका छन् । केही दिनअघि नवलपुरकोे शाश्वतधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै शशांकले कुनै पनि गुट र उपगुटमा नलाग्ने बताए । १४औँ महाधिवेशनबाट कांग्रेसमा गुटबन्दीको अन्त्य हुने उनको भनाइ थियो ।

‘सुजातालाई सन्चो छैन शेखर दाइ र ममध्ये एक सभापतिमा अघि बढ्छौँ’
सुजातालाई स्वास्थ्यले साथ नदिएको भन्दै उनले परिवारको सल्लाहमा एकजना सभापतिमा अघि बढ्ने प्रस्ट्याए । ‘अझै अढाई वर्ष बाँकी छ । हामी सबैको राय लिन्छौँ । परिवारसँग छलफल गर्छौं,’ शशांकले भनेका थिए, ‘सुजातालाई स्वास्थ्यले साथ दिएको छैन । शेखर दाइ र म छौँ । हामी सल्लाह गरेर अघि बढ्छौँ ।’

भित्री रूपमा शेखरको दाबी

शेखरले सक्रियता बढाए पनि सभापतिका लागि सार्वजनिक रूपमा दाबी गरेका छैनन् । तर, उनले शशांकसमक्ष सभापतिका लागि दाबी गरिसकेका छन् । उनको दाबीमा शशांकले कुनै प्रतिक्रिया नदिएको कांग्रेस स्रोत बताउँछ ।

तत्काल कसैले मुख नखोल्ने

यी तीन कोइरालाले प्रस्ट रूपमा नेतृत्वमा दाबी गरेर बाहिर मुख नखोल्नुका पछाडि पूर्वसंस्थापनलाई एक ठाउँमा ल्याउनुपर्ने रणनीति र चुनौतीलाई पनि कारण मानिन्छ । अहिले तत्काल दाबेदार बाहिर आउँदा आफू पक्षका नेताको दूरी बढ्ने, सभापति देउवा पक्षधरलाई रणनीति बनाउन सहज हुने बुझाइ उनीहरूको छ । यसकारण महाधिवेशनसम्म पूर्वसंस्थापक्षका नेताहरूले सभापतिका लागि दाबेदारी नगर्ने सहमति उनीहरूले गरेका छन् । तर, कोइरालाहरूसँग भएको यो सहमतिबाट प्रकाशमान, सिटौला, महत, केसीसहितका नेताहरू आश्वस्त हुन सकिरहेका छैनन् ।

सभापतिदेखि उपसभापति, महामन्त्रीसहितका पदाधिकारी लागि दाबेदार नै धेरै हुनु, देउवा पक्षजस्तो संगठित नहुनुजस्ता चुनौतीले पूर्वसंस्थापन घेरिएको छ । तर, पनि देउवाविरुद्ध गठबन्धन गर्न २८ मंसिरदेखि ३ पुससम्म हुने महासमिति बैठकलाई भने पूर्वसंस्थापनले प्रयोग गर्न सक्नेछ ।

कोइराला निवासमा ९ वर्षपछि चहलपहल

कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद र नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष नोना कोइरालाको निधनपछि सुनसान बन्न पुगेको विराटनगर महानगरपालिका–७ स्थित कोइराला निवासमा चहलपहल सुरु भएको छ । परिवारिक कलहले गर्दा अंशबन्डा भएर संग्रहालय बन्न नसकेको कोइराला निवास नौ वर्षसम्म सुनसान बन्न पुगेको थियो । तर, २ मंसिरमा कोइराला परिवारका तीन सदस्य डा. शशांक, सुजाता र डा. शेखरहरूले एक भएको सन्देश दिएपछि बिरानो बनेको कोइराला निवासमा फेरि रौनक फर्कने आशा कांग्रेस कार्यकर्तामा जागेको हो ।

निजी स्वार्थले तीन नेताबीच टकराव

७ चैत ०६६ मा ८७ वर्षीय नेता गिरिजाप्रसाद कोइरालाको मृत्यु भएपछि कोइराला परिवारको बिरासतसँगै कांग्रेसको नेतृत्व गर्ने सम्भावना बोकेका दोस्रो पुस्ताका तीन नेताबाट कोइराला निवासले उत्तराधिकारीको आश लिएको थियो । तर, निजी स्वार्थले गर्दा उनीहरूबीच एकता हुन नसक्दा चुनौती बनिरहेको थियो । बिपीपुत्र शशांक, नोनापुत्र शेखर र गिरिजापुत्री सुजाता कोइरालाको आ–आफ्नो महत्वाकांक्षाले गर्दा मनमुटाव बढेको थियो ।

उनीहरू अलग–अलग भएकै कारण गिरिजाप्रसादको मृत्युपछि कोइराला निवासलाई ऐतिहासिक संग्रहालय बनाउनुपर्ने आमकार्यकर्ताको चाहना त्यत्तिकै अलपत्र परेको थियो । कोइराला परिसरमा रहेको नौ कठ्ठा जग्गा आ–आफ्नो अंशमा पारेर तीन कोइरालाले बिक्री गरेका थिए । एकातिर कांग्रेसको बिरासत थामेको कोइराला निवासमा चामत्कारिक नेता नभएको र अर्कोतिर संग्रहालय बनाउने कुरामा समेत दाजुभाइ र बहिनीबीच कुरा नमिलेपछि कार्यकर्ताहरू निराश हुन पुग्दा कोइराला निवास नौ वर्षसम्म बिरानो हुन पुगेको थियो । नेतृ नोना र गिरिजाप्रसाद हुँदासम्म सधैं कार्यकर्ताहरूले खचाखच हुने कोइराला निवासमा कार्यकर्ताको चहलपहल शून्य भएपछि बिरानो बनेको थियो ।

तर, शेखरको प्रयत्न जारी

कोइराला निवासमा चहलपहल बढाएर पहिलेझैँ बिरासत फर्काउन नोनापुत्र डा. शेखर कोइरालाको प्रयत्न भने जारी रह्यो । उनी विराटनगर आउँदा गिरिजाप्रसादलेझैँ पत्रकारहरूलाई बोलाउने, चियापान गराउने, बरन्डामा बसेर पत्रकार सम्मेलन आयोजना गर्ने, कार्यकर्ता भेटभाट गर्ने गरिरहे । शेखरपछि सुजाता र शशांकले पनि एक–दुईपटक कोइराला निवासको बरन्डामा पत्रकार भेटघाट कार्यक्रम राखे । तर, कांग्रेस पार्टी र सरकारी सत्तामा उनीहरूको पहुँच गुमेकाले गर्दा कोइराला निवासमा चहलपहल फर्कन सकेन । धेरैमा मूल घरमै बसेर, मोरङमै निर्वाचन लडेर कांग्रेस राजनीतिमा सक्रिय भइरहेका डा. शेखरले आफ्नो शक्ति बढाएर पुनः निवासको चहलपहल फर्काउँछन् भन्ने कार्यकर्तामा विश्वास थियो । तर, उनी प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपछि कार्यकर्ताको आश निराशमा फेरियो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?