Sunday April 02, 2023

अल्डर्शटमा रबिन श्रेष्ठको भब्य लाईभ कन्सर्ट सम्पन्न

१० मंसिर, २०७५ शीतलपाटीन्युज डटकम। 30670


अल्डर्शटमा रबिन श्रेष्ठको भब्य लाईभ कन्सर्ट सम्पन्न

शीतलपाटीन्युज डटकम।

अल्डरसट, लण्डन।१७ नोभेम्बर २०१८ शनिबारको सांझ दी लाउन्ज रेस्टोरेन्ट एन्ड बार, अल्डरशटमा रबिन श्रेष्ठ लाईभ कन्सर्टको सागीतिक साझको आयोजना गरिएकोमा भब्य रुपमा सम्पन्न भयो।  करीब २०० जति दर्शकहरुको उपस्थिती रहेको सो कार्यक्रममा  सवा आठ बजे तिर आयोजक मधु गुरुङ्गले स्वागत उद्घोषण गर्दैशुभारम्भ भएको उक्त सांगितिक कार्यक्रमको पहिलो सौगात स्वरुप रबिनले भक्तराज आचार्यको देशप्रेमले ओतप्रोत कालजयी गीत "जहाँ छन बुद्दका आंखा" प्रस्तुत गरेका थिए ।तीन घण्टा लामो सो कार्यक्रममा रविनले करीब १५ वटा गीत गाएर दर्शकलाई मनोरंजन दिलाउन सफल भए। मध्यान्तर पश्चात्  रबिनले आफ्नो ओरिजिनल गीत "आगनै भरी" र "छेक्यो छेक्यो देउराली डाडा हुस्सु र कुहिरोले" गाउना साथ दर्शक दिर्घा खुशीले झुमेर अत्यन्त मस्त अनि रोमांचित भएका थिए।दर्शकहरु खुसीले रमायर  वान्स मोर भनेर अत्यधिक फर्माइश आए पछि रबिनले पुन: सोही गीत गाएर सबैलाई फेरि एक पल्ट झुमाए।

त्यस्तै उनको अर्को लोकपृय गीत सुक गुरुङ्गको रचना "आखैमा झलझली हितैको दौतरी" गाउदा उनलाई शीतल पुनले साथ दिएकी थिइन। शीतल पुनले उनलाई सो गीतको अलावा अन्य यूगल गीतहरुमा पनि साथ दिनुको साथै हिन्दी र नेपाली गीतहरु समेत गाएर दर्शकलाई नचाउन र झुमाउन सफल भईन।  रिसाल ब्रदर्स लाईभ ब्यान्डले साथ दिएको सो सागीतीक साझमा लीड गितारमा जोन रिसाल, मादलमा पहलमान गुरुङ्ग, बांसुरीमा याम गुरुङ्ग र  साउन्ड सिस्टममा विश्व शाहीले साथ दिएका थिए।रविन श्रेष्ठको प्रतिभाको समग्रमा मुल्याड्कन गर्नुपर्दा बेलायत आएको धेरै बर्ष पछि उनको सो पहिलो लाईभ कन्सर्ट एकदमै सफल भएको मान्न सकिन्छ।

सांगीतिक क्षेत्रमा प्रबल संभावना बोकेका एक कुशल गायक बाध्यतावश बिदेश पलायन भएर केही बर्ष गीत संगीतबाट ओझेल भए पनि उनको सांगीतिक फांटमा यसरी पुन: आगमन हुनु पक्कै पनि उनका फ्यानहरुका लागि खुशीको कुरो हो। साथै उनी स्वयमले यो प्रोग्राम सकेपछी अब उप्रान्त गीत संगीतमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएका छन। उनको सांगीतिक यात्रालाई निरन्तरता प्रदान गर्न प्रमुख भुमिका खेल्ने आयोजक मित्रद्वय संगीतप्रेमी दम्पती राजु (भोजेन्द्र) गुरुङ्ग र मधु गुरुङ्ग पक्कै पनि धन्यबादका पात्र भयका छन। उनीहरुले भविष्यमा पनि रबिनलाई साथ दिने भयका छन्।आयोजकद्वयले सो कार्यक्रममा उपस्थित भै कार्यक्रमको शोभा बढाइदिने सम्पूर्ण दर्शकहरु लगायत कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुराउने सबै हितैषीहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गरेका छन।

रबिन श्रेष्ठको सांगीतिक यात्राको लेखाजोखा :

सन १९९१ को समयमा  संगीतप्रेमी ६ जना यूवाहरु अमृत गुरुङ्ग,रबिन श्रेष्ठ,दिपक जंग राणा, सुरेश पुन,भिम पुन र बुद्धि गुरुङ्ग मिलेर नेपथ्य सांगीतिक समुहको स्थापना गरेका थिए। जसले अहिले आफ्नो सांगीतिक यात्राको पच्चीस बर्ष सफलता पूर्वक सांगीतीक कार्यक्रम पूरा गरिसकेको छ। नेपाली सांगीतिक फांटमा अपार सफलताका साथ रजत महोत्सव मनाएको संभवत: नेपथ्य नै पहिलो सांगीतिक समुह होला ।९० को दशकमा स्थापना भए देखि नै नेपथ्य सांगीतिक समुहले धुम मचाउदै गैरहेको थियो भने रबिन श्रेष्ठको आगनै भरी हिऊ नै झरे...छेक्यो छेक्यो देउराली डाडा जस्ता गीतहरु लोकप्रीयताको चरम शीखरमा पुग्दै गैरहेको बेला हङ्गकङ्ग आईडीको लहर तीब्रताका साथ चल्न थाल्यो ।त्यति बेलाको समयमा संगीतमा लागेर जीवकोपार्जन गर्न र धान्न सक्ने अवस्था थिएन, नेपाली यूवाहरु बिदेसिने क्रम तीब्रताका साथ बढ्दै गैरहेको थियो। रबिन श्रेष्ठ पनि सो लहरबाट अछुतो रहन सकेनन र पांच बर्षे कलिलो आफ्नो प्यारो सांगीतिक समुह नेपथ्यलाई नेपथ्यमै छोडेर १९९६ मा हङ्गकङ्ग तिर पलायन भए। त्यसपछी बिदेशी भूमीमा मलजल गर्ने क्रममा गीत संगीतमा आफ्नो असिम चाहना र मोह भए पनि चाहेर पनि सो कार्यक्रमलाई सकृयता पूर्वक निरन्तरता दिन असमर्थ भए। तथापी बेला मौकामा हङ्गकङ्गका बिभिन्न सांगीतिक जमघट तिर गायनको हल्का शौक भने पूरा गर्ने गर्दथे। हङ्गकङ्ग छोड्नु अघि सन २०११ मा हङ्गकङ्गमा पोखरेली झ्यालले रबिन श्रेष्ठ नाईटको सफल आयोजन पनि गरेको थियो। त्यसको लगत्तै सोही बर्ष पोखरेली झ्यालले अल्डरशटमा आयोजना गरेको दोश्रो प्रस्तुतीमा सहभागी हुन उनी बेलायत आएका थिए। त्यसै समयमा उनले इन्द्रनारायण चोम्बाङ्गको शब्द र राजु सिंहको संगीतमा  “तीखो तिखो वचन" बोलको गीत रेकर्ड पनि गराएका थिए। त्यसपछी २०१२ मा हङ्गकङ्गबाट उनी बेलायत आए। बेलायत आए पछि बेला मौकाको जमघट र पोखरेली मंचले आयोजना गर्ने कार्यक्रममा उनले समय समयमा गाउदै आएका छन। २१ नोभेम्बर २०१५ मा पोखरेली मंच, यूकेले मृगौला पिडित गीतकार सुक गुरुङ्ग सहयोगार्थ आयोजना गरेको च्यारिटी कार्यक्रममा पनि उनले गाएका थिए। सुक गुरुङ्ग, उनको सुपरहिट गीत  छेक्यो छेक्यो देउराली डाडां र आखैंमा झलझली (शर्मिला बर्देवा संग) का सर्जक हुन। कुनै पनि गायक गायिका हिट हुनुमा प्रमुख हात गीतकार र संगीतकारको हुन्छ तर बिडम्बना अक्सर उनीहरु ओझेलमा परिरहेका हुन्छन जुन गलत हो भन्ने मान्यता राख्छन गायक रबिन श्रेष्ठ । साथै नेपथ्यको आफ्नो गीत हिट हुनुमा सुक गुरुङ्गको कुशल लेखन कौशल प्रमुख कारक तत्व हो भन्दै गीतकार सुक गुरुङ प्रती आफू सदा आभारी रहने कुरा पनि बताउछन। दुबै मृगौला पिडित सुक गुरुङ्गलाई हालै स्वदेश जादा भेट्न पनि उनले छुटाएनन।

रबिन हालै घर बिदा गएका बेला आफ्नै रचना अनि राजु संहको संगीतमा "ह्याप्पी न्यू ईयर" बोलको नयां गीत रेकर्ड गराएर फर्किएका छन र आगामी नया बर्ष २०७६ मा सो गीत रिलिज गर्ने सुरमा छन। सांगीतिक क्षेत्रबाट धेरै बर्ष कारणबश ओझिलिए पनि देर आए दुरुस्त आए भने झै रबिनको यस क्षेत्रमा पुन: आगमन पक्कै पनि  स्वागतयोग्य कदम हो, उनलाई सफलताको निम्ति हार्दिक शुभकामना ।

सुधा गुरूङ

बेजीङस्टक



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?