Saturday July 02, 2022

अचम्मको कला,झारपातबाट सुन्दर चित्र बनाउँछिन् पोखराकी कलाकार मिलन शेरचन

१८ माघ, २०७५ शीतलपाटीन्युज डटकम 38444


अचम्मको कला,झारपातबाट सुन्दर चित्र बनाउँछिन् पोखराकी कलाकार मिलन शेरचन

शीतलपाटीन्युज डटकम।

पोखरा महानगरपालिका माछापुच्छ्रे मार्गस्थित मिलन शेरचनको घरभित्र पस्दा कोठाका भित्ता वरिपरि व्यवस्थित कलाकृतिको उत्कृष्टता देख्न सकिन्छ ।

जापान बसाईका क्रममा सिकेको हानानो ओशिआना सीपलाई नेपाल फर्केपछि प्रयोगमा ल्याएर कला क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल छन् कलाकार मिलन शेरचन । हानानो ओशिआना अर्थात् सुकाइएका झारपातबाट चित्र बनाउने कलाले स्थापित गरेको छ शेरचनलाई ।

हानानो ओशिआना जापानी शब्द हो । दाजु अमेरिकामा भएका कारण उनलाई पनि अमेरिका जाने अवसर मिल्यो । केही समय अमेरिका बसाइपछि त्यतैबाट उनी जापान छिरीन् । जापान बसाइमा साइतो सान भन्ने साथीसँग उनी एउटा कला प्रदर्शनीमा पुगीन्  । त्यहाँको कलाबाट उनी प्रभावित भइन् । जापानी कलाकार नोहारा उमीबाट हानानो ओशिआनाका बारेमा सिकिन् । जापान बसाइकै क्रममा पहिलेदेखिकै चिनजान भएका सत्यनारायण शेरचनसँग उनको विवाह भयो । बिहेको केही समयपछि उनीहरू दुवै नेपाल फर्किए ।

पाँच वर्ष जापान बसेपछि सन् १९९८ मा नेपाल फर्केसँगै यो कलालाई भित्र्याएर व्यावसायिकतामा प्रवेश गरेकी हुन् शेरचन । रहरको कलालाई व्यावसायितकतामा पुर्याउन उनी सफल भइन् । सानैदेखि फरक काममा रुचि राख्ने र सिर्जनामा रमाउने बानीले हानानो ओशिआनाको कलामा स्थापित गरेको उनको भनाइ छ । “केही न केही नयाँ कर्ममा रमाउने बानी थियो । घर र कोठा सजाउन मकैका भुत्ला हुन् कि, दिदीले स्वेटर बुन्दा फालेका धागाका टुक्रा, जे पाए त्यसलाई कुनै कलामा सजाउन मन लाग्थ्यो । मेरो रगतमै सिर्जनशीलता दौडिरहन्थ्यो । त्यसले सफल बनायो”, कलामा लगाव र धैर्यता चाहिने उल्लेख गर्दै उनले भनिन् ।

विद्यालय तहमा गृह विज्ञान लिएकाले पनि कलासँग जोडिन अझै सहज भएको उनको भनाइ छ । उनका हजुरबुबा भीमबहादुर भट्टचन धनशमशेर जबराको मोहारियाटोलस्थित दरबारमा सीतारावादक र तवलावादक हुन । बुबा झपटबहादुर भट्टचन पनि हस्तकलामा पोख्त हुन्थे । कला र सङ्गीतको पारिवारिक पृष्ठभूमि भएर पनि होला मिलनमा पनि त्यो गुणको प्रभाव भेटियो । उनी चित्रकलामा मात्र नभई साहित्य र सङ्गीतमा पनि उत्तिकै रुचि राख्थीन् । विसं २०३४ मा मकैको भुत्लाबाट बनाएको पुतलीको चित्र राम्रो भएको भन्दै पोखरेली युवा सांस्कृतिक परिवारले महिला तथा बालबालिका हस्तकला प्रदर्शनीमा उनलाई पुरस्कृत गर्यो । त्यसपछि २०४१ सालमा पनि उनले पुरस्कार पाइन् । उनको ऊर्जा झनै बढ्यो ।

त्यसपछि पोखराका स्थापित कलाकारसँग उनको सङ्गत भयो । कलाकार बुद्धि गुरुङले उनलाई चित्रकलाको बारेमा सिकीन् । चित्रकलाको ज्ञानले स्तरीय सिर्जनाका लागि मिलनलाई हौस्यायो ।

यही हौसलाकै कारण उनले पहिलोपटक २०५८ सालमा थकाली सेवा समिति नदीपुरमा पहिलो एकल चित्रकला प्रदर्शनी आयोजना गरीन् । सोचेभन्दा धेरै दर्शक आए । कलाको निकै प्रशंसा भयो । यही प्रेरणाले उनले पोखरा र काठमाडौँमा लगातार चार वर्षसम्म एकल चित्रकला प्रदर्शनी आयोजना गरीन् । सामूहिक चित्रकलामा भने उनले दर्जनौँपटक सहभागिता जनाएकी छिन्  ।

रातको समयमा सिर्जना गर्न उत्कृष्ट लाग्छ उनलाई । “कल्पनाका विभिन्न चित्राकृतिलाई उतार्न शान्तिपूर्ण वातावरण चाहिन्छ । सबै सुतिसकेपछि आफ्नो सिर्जनामा तल्लीन हुन मन पराउँछु”, उनले भनिन् । प्रकृतिलाई जीवन्त उतार्न बढी मन पराउनुहुने उनले आफ्ना सिर्जनालाई रु २०० देखि दश हजारसम्ममा बिक्री गरेकी छिन् । शेरचनले कास्कीका विभिन्न गाउँमा कला कार्यशाला गोष्ठीको संयोजक भएर कार्यक्रमसमेत गरेकी छिन्।

हानानो ओशिआना भनेको सुकाइएको झारपातको उचित समिश्रण गरी जीवन्त राख्नु हो । यसरी प्रयोग हुने झारपात हाम्रै वरपर पाइन्छ । आफू यताउता डुल्दा देखिने मौसमी फूल तथा घाँसपात नै कला सिर्जनाका लागि उपयुक्त सामग्री हुन् । घर आँगन, करेसीबारी, खेतबारी, भिरपाखा चौरतिर उम्रने झारपातको सदुपयोग गर्न जाने झारपातलाई जीवन्त पार्न सकिन्छ र आर्थिकरूपमा सशक्त बन्न सकिन्छ भन्ने नमूनाकी पात्र हुनुहुन्छ शेरचन । कलाको मर्म बुझ्नेले मात्र चित्र किन्ने गरेको शेरचनले बताइन् ।

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान हस्तकला विभागबाट विद्वत्वृत्तिसमेत पाइसकेकी शेरचन दर्जन बढी सङ्घ संस्थाबाट सम्मानित भइसकेकी छिन् । ‘प्रथम नेपाली १०१ महिला’ पुस्तकमा समेत उनी समावेश भएको छिन् । केही न केही गरिरहन मन पराउने शेरचनले कला क्षेत्रभन्दा बाहिर पनि निकै उदाहरणीय काम गरेकी छिन् । सामाजिक सेवामा समेत उत्तिकै सक्रिय शेरचनले ‘सुन्दर पोखराका कर्मठ नारी भाग १ र २’ को प्रकाशन गरेर विभिन्न क्षेत्रका महिलालाई समाजमा चिनाउने कामसमेत गर्दै आएकी छिन् । रासस



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?