१४ श्रावण, २०७५
१३ साउन, पोखरा । शुक्रबार त्रिशुली नदीमा खसेर भएको कार दुर्घटनामा पोखराका पर्यटन व्यवसायी मधु सुवेदीको मृत्यु भयो । मधुका छोरा छैनन्, दुई छोरीमात्रै छन् । जिउँदो हुँदा मधुले भन्ने गरेका थिए, मेरा यी दुई छोरीहरु छोरासरह हुन्, म मरेपछि यिनै छोरीले किरिया गरे हुन्छ ।
तर, मधुको सपना पूरा भएन । संविधान र कानूनले छोराछोरीलाई समान हैसियत दिए पनि सामाजिक मान्यताले समान हैसियत दिएन । मधुकी छोरी ममताले छोरासरह आफ्ना पिताको काजकिरिया गर्न पाइनन् । छोराले पाउने हक छोरीमा हैन, काकातिर सर्यो ।
काका वा ठूलोबुबाहरु जिउँदै भए पनि छोराहरुले आफ्ना पिताको काजकिरिया गर्न निर्वाध रुपमा पाउँछन् । तर, छोरीको हकमा भने सामाजिक मान्यताअनुसार काका र ठूलोबुवा बाधक बनेका छन् । र, यही सामाजिक मान्यताकै कारण मधुको तेह्रदिने काजकिरिया घरमा छोरी हुँदाहुँदै काकाले गरेका छन् ।
मधुकी जेठी छोरी ममता कोरामा नगएकी होइनन् । तर, पण्डितले काका-भतिजी सँगै कोरामा बस्न नमिल्ने सुझाए । ठूलोबुबा एवं काकाहरुले पनि छोरी नै बस्ने भए हाम्रो के काम भन्दै उनलाई सम्झाए । पण्डित नन्दराम अधिकारीले काका किरिया बसिरहँदा भतिजी पनि सँगै बस्न नमिल्ने सामाजिक मान्यता बताएपछि ममता पछि हटिन् । उनी अहिले बेग्लै बसेर पिताको शोक मनाइरहेकी छिन् ।
पण्डित, ठूलोबुबा तथा काकाहरुले सँगै बसेर किरिया गर्न नमिल्ने बताएपछि ममता ढिकुरोमा नगई पोखरा महानगरपालिका ६ नारेश्वर लेकसाइडस्थित घरमै बसिरहेकी छिन् ।
तिमीहरुले नै हो मेरो किरिया गर्ने भनेर बुबाले भन्ने गरेको ममता सम्झिन्छिन् । बुबाको सोही वचनअनुसार उनी किरिया बस्ने तयारीमा थिइन् । तर, सामाजिक परम्पराले छेक्यो ।
बुबालाई सम्झँदै ममताले भनिन्, ‘मेरो इच्छा त उहाँले भन्ने गरेजस्तै छोरासरह तेह्र दिने कर्म गर्ने थियो, ‘तर, पुरोहितले काकासँगै बसेर कर्म गर्न मिल्दैन भनेकाले घरमै बसेर कर्म गरिरहेकी छु ।’
सुवेदी परिवारका चार दाजुभाइमध्ये माइला मधुको शुक्रबार काठमाडौंबाट पोखरा आउँदै गर्दा त्रिशुली नदीमा कार खस्दा मृत्यु भएको थियो । उनको शनिबार रामघाटमा अन्त्येष्टि गरिएको थियो । उनको तेह्र दिने किरिया मधुका भाइ हरि सुवेदीले गरिरहेका छन् ।
मधुका श्रीमती लक्ष्मी, १७ वर्षीया छोरी ममता र ९ वर्षीया छोरी एञ्जिला छन् । ममता पोखरा मासवारमा रहेको मदरल्याण्ड माविमा कक्षा १२ मा अध्ययनरत छिन् ।
‘घरायसी मामिला’ मा मानवअधिकारकर्मीको चासो
यसैबीच सुवेदी परिवारको यो घटनाबारे स्थानीय मानवअधिकारकर्मीले समेत चासो दिएका छन् । स्थानीय महिला अधिकारकर्मीहरुले मधुकी श्रीमती लक्ष्मीलाई आफन्तले अन्त्येष्टिका लागि घाटमा जानसमेत नदिएको आरोप लगाएका छन् । उनीहरुले सती जाने हो भनेमात्रै घाट आउनु नत्र घरमै बस्नु भनेपछि लक्ष्मी चुप लागेको मानवअधिकारवादी अभियन्ताको दाबी छ ।
ममतालाई किरिया बस्न अगाडि सारे परिवारबाट मधुको परिवारलाई बहिस्कार गर्ने चेतावनी दिइएको अधिकारकर्मी सीता पहारीले बताइन् । उनले यो सामाजिक कुसंस्कार हटाउनुपर्ने भन्दै अधिकारकर्मीहरुले दबाव दिए पनि परिवारको दवाबका अगाडि जोर नचलेको बताइन् ।
सुवेदी परिवारले भने यो विषय परिवारभित्रैको आन्तरिक भएकाले सार्वजनिक गरिराख्नु नपर्ने प्रतिक्रिया दिएको छ । ममताकी आमा लक्ष्मी सुवेदीले छोरीको इच्छा तेह्र दिने किरिया गर्ने भएता पनि सामाजिक संस्कारका कारण सम्भव नभएको बताइन् । तर, यो घरभित्रको कुरा भएकाले बाहिर लानुपर्ने विषय नभएको लक्ष्मीले बताइन् ।
त्यसैगरी ममताले छोरी भएकै कारणले भन्दा पनि किरिया बस्ने निर्णय ढिलो गरेका कारण कोरा बस्न नपाएको ठूलो बुबाको प्रतिक्रिया छ ।
‘पहिलो दिनमै निर्णय गरेर किरिया बस्छु भनेको भए दिन्थ्यौं’ ममताका ठूलोबुबा खेम सुवेदीले भने, ‘आज आएर भन्दाखेरि काका र छोरी सँगै बसेर किरिया गर्न नमिल्ने भयो, त्यसैले छोरीले किरिया बस्ने भए हाम्रो काम रहँदैन, हामी निस्कन्छौं भनेका हौं ।’
-onlinekhabar