४ जेष्ठ, २०७६
शीतलपाटीन्युज डटकम।
सिधा कुरा जनतासँग कार्यक्रमको प्रस्तोता तथा चर्चित लोकप्रिय पत्रका रवि लामिछाने र चलचित्र निर्मात्री तथा चलचित्र बिकास बोर्डकी पुर्व अध्यक्ष निकिता पौडेलको शुक्रबार औपचारिक रुपमा धुमधामका साथ बिवाह सम्पन्न भएको छ। रवि र निकिताले कोर्ट म्यारिज गरेको चार महिनापछि परम्परागत बिवाह गरेका हुन्। नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा बिवाह सम्पन्न भएको हो। दुई पक्षका निकै नजिकका आफन्तको मात्र बिवाह समारोहमा उपस्थिति रहेको थियो।
गत बर्षको माघ ७ गते रवि र निकिताले अदालती बिवाह गरेका थिए। रविले आफुले कानुनी बिवाह सम्पन्न गरेको भन्दै फेसबुक स्टाटस लेखेका थिए । चाँडो बिवाह गर्ने सोच नभए पनि आफूहरूबारे चलेका चर्चाले चाँडो भएको उनले फेसबुकमा लेखेका थिए। उनले भनेका थिए 'यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबैप्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाँचो पर्यो’। उनले भनेका थिए ‘यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो। कसैको चर्चा,आलोचना,सुझाव,ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला।
हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुसी छौँ। र, हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौँ।’अन्तत रवि र निकिता बैवाहिक जीवनमा बाँधिइसकेका छन्। अहिले सामाजिक सञ्जालमा उनीहरुलाई शुभकामना तथा बधाई दिनेको ओइरो लागेको छ। हाल यो बिषय सामाजिक सञ्जालमा ‘हट टपिक’ बनेको छ।