१० असार, २०७६
शीतलपाटीन्युज डटकम।
सरकारी जागिरबाट २०५४ सालमा राजीनामा दिएर राजनीतिमा लागेका कुमार पौडेल प्रहरी कारबाहीमा मारिएपछि उनका छोराछोरी पढाइ रोकिने चिन्तामा छन्। बागमती नगरपालिका–२ धरहरा स्थायी घर भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका सर्लाही जिल्ला इन्चार्ज पौडेलको बिहीबार दिउँसो लालबन्दी नगरपालिका–१ लखन्देही खोलामा प्रहरी ‘इन्काउन्टर’मा मृत्यु भएको थियो ।
लालबन्दीबाट मोटरसाइकल चढेर सिन्धुली जाँदै गर्दा प्रहरीले गरेको जवाफी कारबाहीमा पौडेलको मृत्यु भएको सर्लाही प्रहरीले दाबी गर्दै आएको छ भने उनको पार्टीले हत्या भनिरहेको छ । मृत्यु भएको तीन दिनपछि परिवारले शव बुझेर शनिबार हिन्दू परम्पराअनुसार बागमती नदीमा अन्त्यष्टि गरेका छन् ।
पौडेलका १५ वर्षका छोरा कुशल र ३७ वर्षीया श्रीमती कला किरिया बसेका छन् । बाबुको मृत्युबाट विक्षिप्त बनेका कुशलले भक्कानिँदै भने– ‘मेरो सीए पढ्ने र बहिनीको डाक्टर बन्ने चाहना सकियो, अब के गर्ने, कसो गर्ने केही सोच्न सकिएको छैन ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा पुष्पा थापाले लेखेकी छिन् ।