५ माघ, २०७६
हुम तमु।
कास्की, सीक्लेस, २ माघ । साँस्कृतिक एवम पर्यटकीय गाँउ सिक्लेसमा माघे संक्रान्ति मेलाको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश कुमार भट्टराईले उद्घाटन गर्नुभयो। सिक्लेस युवा क्लवको २५ औं वार्षिकोत्सव तथा माघे सक्रान्ति मेलाको बुधवार सिक्लेसको खेलमैदानमा प्रमुख अतिथि मन्त्री भट्टराईले रिबन काटेर उद्घाटन गर्नुभएको हो।
वार्षिकोत्सव तथा मेला उद्घाटन पश्चात सभाथरद्धारा सपुमा आयोजित शताब्दी भन्दा अघिदेखि हुदै आएको छेलो प्रतियोगिताका मन्त्री भट्टराईले छेलो फालेर उद्घाटन गर्नु हुदै सिक्लेस र मादी गाउँपालिकाको विकास एवम समृद्धिका लागि सहयोग गर्न सधै तयार रहेको बताउनुभयो। छोटो समयका लागि हेलिकप्टर मार्फत सिक्लेस आउनु भएका भट्टराईले सिक्लेसको संस्कृति र प्रकृतिले लोभ्याएको बताउनुहुदै नेपालकै पर्यटकीय १०१ गन्तव्यमा सिक्लेस पनि रहेकाले पर्यटकीय गन्तव्यको किवास, पर्यटकीय गाँउ बनाउन, नमुना गाँउको रुपमा विकास गर्न आफ्नो पुर्ण सहयोग रहने घोषणा गर्नुभयो। मुलुक संघीयतामा अघि बढि सक्यो अब समृद्धिका लागि सबै जुट्नुपर्ने उहाँको भनाई थियो। कास्की क्षेत्र नं.१ बाट निर्वाचित सांसद खगराज अधिकारीले सिक्लेसको विकास र समृद्धिका लागि आफु सधै क्रियाशील रहेको भन्नुहुदै कास्की क्षेत्र नं. १ को विकासका आधारहरुका बारेमा चर्चा गर्नुभएको थियो। उहाँले सिक्लेसमा पिच सडक नल्याई सांसदबाट नफर्कने वाचा गर्नुभयो भने सिक्लेसलाई २४सै घण्टा विजुलीले झिलिमिली बनाउने उद्घोष गर्नुभयो।
मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ श्यामले सिक्लेसलाई साँस्कृतिक भिलेज घोषणा गरेको बताउनु हुदै साँस्कृतिक भिजेलको विस्तृत योजना प्रतिवेदन तयार भएको र त्यसका लागि १२ करोड रुपैयाँ बराबरको लागत लाग्नेगरी योजना बनेको बताउनुभयो। उहाँले सिक्लेस क्षेत्रको समृद्धिको लागि पर्यटन नै मुख्य आधार भएकाले पर्यटकीय विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग जरुरी रहेको बताउनुभयो।
उक्त समारोहमा सिक्लेस गाँउ भई हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले साँस्कृतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै सिक्लेस युवा क्लवले सम्मान गरेको थियो। सम्मानित वरिष्ठ सँस्कृतिकर्मी गुरुङलाई मन्त्री भट्टराई र सिक्लेस युवा क्लवका अध्यक्ष पदम गुरुङले सम्मानपत्र, भांग्रा सहित सम्मान गरिएको थियो। मेलाको पहिलो दिन हिमाली साँस्कृतिक परिवारको तर्फबाट करिब दुई घण्टा नेपालका पुर्वदेखि पश्चिम हिमालदेखि तराईसम्मका साँस्कृतिक प्रस्तुतिले मेलालाई अत्यन्तै आकर्षित बनाएको थियो भने कार्यक्रममा बरिष्ठ लोक तथा दोहोरी गायक मिलन लामाको प्रस्तुतिले थप मनोरञ्जन दिलाएको थियो।
कार्यक्रमको पहिलो र दोश्रो दिन आयोजित वर्षौ पुरानो परम्परागत छेलो प्रतियोगिता सम्पन्न भएको छ। छेलो यस वर्ष पनि निरज गुरुङ प्रथम र राजेश गुरुङ दोश्रो हुदै ४० हजार र ३५ हजार नगदसहित पुरस्कृत हुनुभएको छ। विजेताहरुलाई सपुबाट विशेष सम्मानसहित पुरस्कृत तथा सम्मानित गरिएको थियो। यसरी नै मेलाको दोश्रो दिन मौसम प्रतिकुलताले मेलालाई प्रभावित पारेको छ भने बेलुका खुल्ला सामुहिक नृत्य हुने क्लवका सचिव बेल गुरुङ जानकारी दिनुभयो। उहाँका अनुसार प्रथम बन्ने टिमले ट्रफी तथा प्रमाणपत्र सहित नगद ४० हजार, द्धित्तीय बन्ने टिमले ट्रफी तथा प्रमाणपत्र सहित नगद ३० हजार र ट्रफी तथा प्रमाणपत्र सहित नगद २० हजार प्राप्त गर्नेछ ।
उत्कृष्ट नृत्य निर्देशक र उत्कृष्ट भेषभुषालाई ट्रफी तथा प्रमाणपत्र सहित जनही ५÷५ हजार प्रदान गरिने उहाँले जानकारी दिनुभयो। मेलामा मुख्य प्रतियोगिताको रुपमा खुल्ला पूरुष भलिबल, महिला भलिबल, खुल्ला पूरुष बास्केटबल प्रतियोगितासहित रस्साकस्सी, घुर्रा, आमा समुहको ह्याकुचे लगायतका प्रतियोगिता रहेको छ। खुल्ला पूरुष भलिबल तर्फ बिजेता टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्ने क्लवका सचिव बेल गुरुङले बताउनुभयो।उहाँका अनुसार उपबिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद ४४ हजार, ४ सय ४४ प्राप्त गर्नेछ भने प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । पुरुष बास्केटबल तर्फ बिजेता टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद ५५ हजार ५ सय ५५ रुपैया, उपबिजेता टिमलाई ४४ हजार, ४ सय ४४ प्रदान गरिने सचिव गुरुङलेजानकारी दिनुभयो ।
त्यस्तै महिला भलिबल तर्फ प्रथम टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद २५ हजार र द्वित्तीय बन्ने टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद १५ हजार प्रदान गरिनेछ । यस क्षेत्रिय तथा राष्ट्रिय खेलाडीहरुको सहभागीता रहने पुरुष भलिबल तर्फ १४ टिम र काठमाण्डौं समेतबाट सहभागिता रहने बास्केटबल तर्फ १६ टिमको सहभागिता रहेको बताइएको छ। मेला माघ ४ गतेसम्म चल्ने आयोजकले जनाएको छ।