Sunday April 02, 2023

गण्डकी प्रज्ञा प्रतिष्ठानको तेस्रो प्राज्ञ सभा बैठक सुरु, खोज अनुसन्धान गर्ने कार्य प्रतिष्ठानले गर्नुपर्छ : सरुभक्त

२९ मंसिर, २०७८ शीतलपाटीन्युज डटकम 4929


गण्डकी प्रज्ञा प्रतिष्ठानको तेस्रो प्राज्ञ सभा बैठक सुरु, खोज अनुसन्धान गर्ने कार्य प्रतिष्ठानले गर्नुपर्छ : सरुभक्त

शितलपाटी न्यूज डटकम । गण्डकी प्रज्ञा प्रतिष्ठानको तेस्रो प्राज्ञ सभा बैठक बुधबारबाट पोखरामा सुरु भएको छ । 

बैठकको उद्घाटन समारोहमा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभत्तले गण्डकी प्रज्ञा प्रतिष्ठानको क्रियाशिलताप्रति खुशी व्यक्त गर्दै प्रतिष्ठानले जग बसाउँदैछ भन्ने आभाष आफूले गरेको बताउनुभयो । ‘अहिले जग हाल्ने समय हो, मलाई प्रतिष्ठानले जग बसाउँदैछ भन्ने आभाष भएको छ, जग जति बलियोसँग हाल्न सक्नुहुन्छ त्यति मजबुत हुन्छ’ उहाँले भन्नुभयो । 

गण्डकी प्रज्ञा प्रतिष्ठानको गठन र चयन प्रक्रिया प्रति आफ्ना केही विमती रहेको भएपनि प्रतिष्ठान गठन पश्चात प्रतिष्ठानले गर्ने कार्यमा सदैव साथ रहेको र आगामी दिनमा समेत रहने बताउनुभयो । प्रतिष्ठान प्रारम्भीक अवस्थामा रहेकोले भोली फेरी विमती आउन नदिन विधानलाई परिमार्जन गर्न उहाँको सुझाब छ । 

प्रतिष्ठानले देखेका सपना सुन्दर भएकोले ती सपना पुरा गर्न सबैजना दत्तचित्त भएर लाग्नुपर्नेमा उहाँको जोड थियो । ‘खोज अनुसन्धान गर्ने कार्य प्रतिष्ठानले गर्नुपर्छ, प्राथमिकता केलाई दिने हो भन्ने ध्यान दिनुपर्छ’ उहाँले थप्नुभयोे । प्रतिष्ठानका कार्यक्रम गण्डकी प्रदेशका सबै ठाउँमा विकेन्द्रित हुनुपर्नेमा समेत उहाँको आग्रह छ । 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव तीर्थ श्रेष्ठले गण्डकी प्रज्ञा प्रतिष्ठानले छोटो समयमा हासिल गरेको उपलब्धी प्रति प्रशंसा गर्दै अबका दिनमा अवसर सँगै चुनौती समेत रहेको बताउनुभयो । ‘सबैको काँधमा ठुलो जिम्मेवारी छ, अवसर उतिकै छ, चुनौती पनि छन्, तपाईहरुले सही ठाउँमा राखेको पाइलाले यसको भविष्य सुन्दर हुन्छ’ श्रेष्ठले भन्नुभयो । गण्डकी प्रदेशको सिंगो वाङमय क्षेत्रको विकास गर्न यहाँ रहेका वाङमयिक संस्थासँग समन्वय गरेर कार्य गर्न उहाँको सुझाब छ । 

गण्डकी प्रदेश शिक्षा,संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव बिनोद बहादुर कुँवरले गण्डकी प्रज्ञा प्रतिष्ठानले छोटो समयमा धेरै महत्वपूर्ण कुरा अगाडि ल्याएको बताउनुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विम्बकवी तथा प्राज्ञ रमेश श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, लोक दोहोरी गायक तथा प्राज्ञ प्रजापति पराजुली, प्रेस स्वतन्त्रता सेनानी वद्रि विनोद प्रतिक, पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ कास्कीका निर्वतमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ, वरिष्ठ कलाकार प्रकाश घिमिरे, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठले बोल्नुभएको थियो । तीन दिन सम्म चल्ने तेस्रो प्राज्ञ सभा बैठकले केही महत्वपूर्ण निर्णय गर्ने सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । 
 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?