९ फाल्गुन, २०७८
शीतलपाटीन्युज डटकम।
लेखक सङ्घ दाङद्वारा लण्डनमा कर्मशील साहित्यकार मन्जु भण्डारी पुरस्कृत हुनु भएको छ। लेखक सङ्घ दाङले फागुन ७ गते सङ्घको २७ औं साधारणसभा तथा १४ औं अधिवेशनका अवसरमा विभिन्न श्रस्टाहरूलाई पुरस्कृत गर्दा उहाँ पुरस्कृत हुनु भएको हो।
लामो समयदेखि लण्डनमा रहेर नेपाली काव्य विधामा भण्डारीले पुर्याउनु भएको विशेष योगदानको उच्च मुल्यांकन गर्दै लेखक सङ्घ दाङले डा. कृष्णराज डीसीद्वारा स्थापित “लक्ष्मण कला- साहित्य प्रज्ञा पुरस्कार” कवयित्री तथा निबन्धकार मन्जु भण्डारीलाई प्रदान गरेको हो।
कर्मशील साहित्यकार भण्डारीले बेलायतको नेपाली डायस्पोरामा नेपाली भाषा,साहित्य,संस्कृति र कलालाई जिवन्त राख्न पुरा समय दिनु भएको छ। वहाँले बेलायतमा नेपाली भाषा र साहित्यको पहिचानलाई बचाउका लागि ८ वर्ष देखि बेलायतको नयाँ पुस्तालाई नेपाली भाषा सिकाउंदै आउनुभएको छ। आफ्नो बाल निबन्ध सङ्ग्रहको `प्रतिबिम्बन´मार्फत नयाँ पिढीमा जीवनज्योति छर्न समेत सफल हुनुहुन्छ।
बिदेशमा रहेर नेपाली भाषा,साहित्य र संस्कृति हस्तान्तरण गर्न लागि पर्नु भएकी अभियन्ता भण्डारी बेलायतका विभिन्न सांस्कृतिक समारोहहरुमा कुशल उद्घोषिकाको रुपमा पनि परिचित हुनुहुन्छ। गुल्मीमा जन्मेकी भण्डारी काठमाडौं किर्तिपुरमा हुर्केर उच्च शिक्षाका लागि २००१ मा बेलायत आउनुभएको हो। भण्डारी पेशाले बेलायतमा शिक्षिका हुनुहुन्छ।
रोयल बरो अफ ग्रीनविच नेपाली समाजकी महासचीव भण्डारी बेलायतका विभिन्न साहित्यिक संस्थाहरुमा आवद्ध रहेर सकृय रूपमा समाजमा विशेष भूमिका निर्वाह गरिरहनु भएको छ र संचार क्षेत्रमा पनि उत्तिकै निपूर्ण हुनुहुन्छ।