१ चैत्र, २०७८
शीतलपाटीन्युज डटकम।
लन्डन,१४ मार्च २०२२। प्रवासी नेपाली मञ्च युके द्वारा समस्त जनसमाजको तर्फबाट राजदूतावास मै एक समारोहबीच नया राजदूत महामहिम ज्ञानचन्द्र आचार्यको स्वागत सम्मान अभिनन्दन गर्दै जनसरोकारका विषयहरूमा राजदूतावासको ध्यनाकर्षण गराएको छ।
समारोहमा स्वागत अभिनन्दन ग्रहण गर्नु हुँदै राजदूत ज्ञानचन्द्र आचार्यले भूपु गोर्खा सैनिकहरूका समस्याहरू लगायतका समस्याहरू समाधानका लागि राजदूतावासबाट गर्नसक्ने जति पहल गर्ने बताउनु हुँदै नेपालको आर्थिक विकासका लागि प्रविधि,सीप र प्रयटन देशमा भित्राउन प्रवासमा रहेका जनसामजको योगदान महत्वपूर्ण रहेको चर्चा गर्नु भयो। राजदूत आचार्यले देशको समृद्धिका लागि जनस्तरबाट गरिने हरेक प्रयासहरूमा राजदूतावासको सक्रिय सहकार्य रहने विस्वास व्यक्त गर्नुभयो।
यसअघि प्रवासी नेपाली मञ्च-युकेका अध्यक्ष सुरेन्द्र थपलियाले राजदूत ज्ञानचन्द्र आचार्यलाई र साथमा उप नियोग प्रमुख रोशन खनाललाई खाता,पुष्प गुच्चा र स्वागत अभिनन्दन-पत्र द्वारा सम्मान अर्पण गर्नुहुँदै संगठनका गतिविधिहरू जानाकारी गराउनु भएको थियो । अध्यक्ष थपलियाले भूपु गोर्खा सैनिकका समस्या,नेपाली नागरिकताको निरन्तरता र आम निर्बाचनमा प्रवासबाट मतदान गर्न पाउनु पर्ने लगायतका मागहरू प्रवासी नेपाली मञ्च-युके ले धेरै पहिले देखि नै उठाउँदै आएको छ र आज पनि हामी यी मागहरूमा दूतावासबाट पहलकदमी होस भन्ने चाहन्छौँ भन्नु भयो ।कोरोना महामारी रोकथाममा राजदूतावाससँगै यस मञ्चले सहकार्य गरेको चर्चा गर्नुहुँदै अध्यक्ष सुरेन्द्र थपलियाले मञ्चका विश्वभरिका सैँतिस संगठनहरू मिलेर पोखरा अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट स्थापना गरिएको, नेपालमा नारी सशक्तिकरण कोष स्थापना गरिएको, स्व.भगिरथि भट्टको आमालाई दुई लाख रूपिया आर्थिक सहयोग प्रदान गरिएको र चितौनका चेपाङ बालबालिकाको स्वास्थ्य र शिक्षा विकासको लागि अर्को योजना हालै सुरू गरिएको जानाकारी गराउनु भयो।
संगठनका सल्लाहकार तथा पूर्व अध्यक्ष दिनेश घिमिरेले राजदूत ज्ञानचन्द्र आचार्यको जीवनी र व्यक्तित्वको चर्चा गर्नुहुँदै लामो समयदेखि नेपालको कुटनीतिक र प्रशासनिक क्षेत्रमा उच्च ओहोदामा रहेर उन्तराष्ट्रीय जगतमा नेपालको कुशल प्रतिनिधित्व गरिसक्नु भएका देशका अनुभवि बौद्धिक व्यक्तित्वलाई बेलायतमा राजदूतको रूपमा स्वागत गर्न पाउँदा हामीलाई खुसी लागेको कुरा चर्चा गर्नु हुँदै जनसाजसँग प्रत्यक्ष सरोकार राख्ने मागहरू महामहिमको कार्यकालमा संवोधन हुने कुरामा हाम्रो सङगठन विश्वस्त रहेको बताउनु भयो ।
सभारम्भमा संगठनकी वरिष्ठ उपाध्यक्ष सरस्वती केसीले स्वागत मन्तव्य दिनुहुँदै राजदूतको सम्मानमा तयार पारिएको सम्मान अभिनन्दन-पत्र वाचन गर्नु भएको थियो । वरिष्ठ उपाध्यक्ष सरस्वती केसीले स्वागत मन्तव्यको क्रममा महिलाहरूका समस्यार र महिला सशक्तिकरणका विषयमा चर्चा गर्नु भएको थियो।
कार्यक्रमको सञ्चालन गर्नु हुँदै महासचिव सुरेशजङ्ग शाहले देशको भविष्य बोकेका युवा शक्ति ठूलो सङ्ख्यामा विदेशिइ रहेको पृष्ठभूमीमा रेमिट्यान्स मात्र नभई यी युवाहरूको सीप,ज्ञान र मतको सदुपयोग गर्न राज्यले ध्यान दिनु पर्ने कुरामा जोड दिनु भय। महासचिव शाहले भूपु गोर्खा सैनिकका समस्या, नेपाली नागरिकताको निरन्तरता र प्रवासबाट आम निर्बाचनमा मतदान व्यवस्था आदि कुराहरूमा राज्यले संवोधन गर्नु पर्ने बेलायतमा रहेका नेपाली नागरिकहरूका मागहरू हुन् भन्नु भयो।
समारोहमा मन्तव्य राख्नु हुने अन्य पदाधिकारीहरूमा प्रवासी नेपाली मञ्च- युरोप महाद्विपीय कमिटीकी सदस्य कल्पना त्रिपाठी, पोर्चुगल कमिटीका सल्लाहकार हेमराज सुवेदी, प्रवासी नेपाली मञ्च-युके का उपाध्यक्ष पशुपति पोखरेल, उपाध्यक्ष बालकृष्ण भुषाल,कोषाध्यक्ष पुन्य रेग्मी, क्षेत्रीय अध्यक्ष तारानाथ भण्डारी, प्रचार विभाग सचिव शक्ति घिमिरे, क्षेत्रीय महासचिव यज्ञ खरेल, सचिवालय सदस्य शम्भु अर्याल, सदस्यहरू जयराम कँडेल, अर्जुन मुडभरी र राममाया विष्ट हुनुहुन्थ्यो ।
कार्यक्रमको अन्त्यमा उपनियोग प्रमुख रोशन खनालले राजदूतावासले इ- पास्पोर्ट वितरण सुरू गरेको जानाकारी गराउनुहुँदै राजदूतावासको वेवसाइटबाट पनि जानाकारी लिन सकिने कुरा बताउनु भयो। उपनियोग प्रमुख खनालले एम आर पी पासपोर्टको म्याद भइन्जेल प्रयोग गर्न बाधा नभएको जानाकारी पनि गराउनु भएको कुरा महासचिव सुरेशजङ्ग शाहले समाचारमा बताउनु भयको छ।