१ चैत्र, २०७८
शीतलपाटीन्युज डटकम।
लन्डन, १३ मार्च २०२२। अभियन्ता लीला सेलिङ माबोद्वारा लिखित “मेमोयर्स अफ अ गोर्खा वाइफ ड्युरिङ लकडाउन”कृति विमोचन गरिएको छ। विश्व नेपाली साहित्य महासंघ,पश्चिम यूकेद्वारा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ संगसंगै नियमित त्रैमासिक साहित्यिक गोष्ठीमा शनिबार माबोको पुस्तक विमोचन गरिएको हो।
अथर हाउस बेलायतले प्रकाशन गरेको अंग्रेजी भाषामा लिखित पुस्तक माबोको दोस्रो कृति हो। २६२ पृष्ठको किताबमा उनले कोभिड र महामारीको प्रभाव,गोर्खा पत्नी हुँदाको पीडा र समस्या, आफ्नो थातथलो र साँस्कृतिक भूगोलको स्मरण,अश्वेत,दक्षिण एसियाली अल्पसंख्यक समुदायको अवस्था लगायतका विषयमा धेरै कुरा उल्लेख गरेकी छिन् ।
फार्नबोरो निवासी उनी पूर्व गोरखा सैनिक श्री प्रसाद माबोकी पत्नी पनि हुन्। कोरोना महामारीका कारण सिर्जित लकडाउनको समयमा संस्मरणात्मक डायरी लेखेकी माबोले सोही संकलनलाई पुस्तकको रूप दिएकी हुन् ।
नेपालको ओयाम,पान्थर पुर्ख्यौली घर भएकी माबो सन् २००० यूके आएकी थिइन्। उनी किरात याक्थुङ चुम्लुङ,नेपाल आदिवासी जनजाति महासंघ,फोनिज यूके,ग्रेटर रश्मोर नेपाली समाज,रश्मोर हेल्थी लिभिङ,नेपाली समाज लगायतका संघसंघस्थाहरूमा आबद्ध रहेर काम गरेकी सामाजीक अभियन्ता हुन। उनले युनिभर्सिटी अफ सर्रेबाट अपराधशास्त्रमा स्नातकोत्तर गरेकी छिन्।
विमोचित कृति उपर पत्रकार,लेखक एवम् सांस्कृतिक अभियन्ता अमित थेवेले टिप्पणी गरेका छन । उनले पुस्तकमा गोरखा आश्रित परिवारको सदस्यको आँखाबाट समाजिक,राजनीतिक र साँस्कृतिक घटनाहरू बुझ्न सहयोगी हुने बताएका छन।श्रीमती मावोको साहित्यमा डायरी लेखनले महत्वपूर्ण तथ्य,जानकारी र दर्शन दिएको उदाहरण प्रस्तुत गर्दै संस्मरणात्मक पुस्तकको उचाइँ अझ बढ्नेमा विश्वास व्यक्त गरेका छन।
पुस्तक अमेजन मार्फत खरिद गर्न सकिनेछ। प्रकाशकले कृतिलाई किन्डल भर्सनमा समेत उपलब्ध गराएको छ। केही समयपछि बुकस्टोरहरूमा पनि राखिने लेखिका माबोले जनाएकी छन।