Sunday November 27, 2022

प्रहरी अस्पताल जादा

११ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 3232



शीतलपाटीन्युज डटकम।

प्रहरी अस्पताल जाँदा
– वसन्तराज कुँवर
म अवकाश भएको १० वर्ष नाघ्यो तर यस अवधिमा कहिल्यै स्वास्थ्य परीक्षणका लागि वीरेन्द्र प्रहरी अस्पताल छिरिन । यसबीच म आफूलाई स्वास्थ्य परीक्षण गर्नु नपरेको होइन तर वीरेन्द्र प्रहरी अस्पतालभन्दा बाहिरै मलाई सजिलो र सहज लाग्यो । जब म नेपाल पूर्वप्रहरी संगठनको अध्यक्ष भएँ त्यसपछि तल्ला तहबाट त्यहाँको व्यवस्थापनमा ठूलै गुनासो आउन थाल्यो । माथिल्ला पदका लागि अर्कै व्यवहार, तल्ला तहका लागि अर्कै व्यवहार, डाक्टरहरू बिरामीमा भन्दा केबल आफ्नो वृत विकास र आय–आर्जनमा व्यस्त, मस्त, व्यवहार रुखो, ठूलो भ्रष्टाचार, यस्तै यस्तै कुरामात्र मेरा कानमा पर्न थाल्यो । त्यसपछि मैले विगतका प्रहरी प्रमुखहरूसँग अस्पतालमा पूर्वप्रहरीका लागि एक डेस्क खडा गरी त्यस डेस्कमा एउटा अस्पतालको मानिस र अर्को पूर्वप्रहरी संगठनको प्रतिनिधि राखी पूर्वप्रहरीहरूलाई सहयोग र समन्वय गर्ने व्यवस्था मिलाई दिन अनुरोध गरेँ । जतिबेला प्रहरी महानिरीक्षक डिबी लामाले अस्पतालको जग खन्दै हुनुहुन्थ्यो त्यतिबेला मलाई प्रचण्ड भवन तालिम केन्द्रमा (जहाँ अहिले अस्पताल छ) खटाउनु भयो । म त्यस समय इन्स्पेक्टर थिएँ र त्यस अस्पतालमा काम गर्ने सम्पूर्ण कर्मचारी मैले खटाउने गर्दथेँ । म पनि त्यही अस्पतालको जग वरिपरी नै व्यस्त भइरहन्थे । क्रमशः अस्पताल बन्यो, नयाँ नयाँ डाक्टरहरू थपिए, डा. प्रेमलाल श्रेष्ठका हातहरू थपिँदै गए । हाम्रा आँखा अगाडी ल्याब, एक्स रेलगायत अनेकौँ वार्ड बने । हामीलाई खुशी लाग्थ्यो तर म जागिरमै रहँदा अनुभव गरेँ कि डाक्टरहरूबीच मेलमिलाप छैन । गुट बनाएर आफ्ना ग्याङ्गलाई मेडिकल सुपरिटेन्डेन्ट बनाउने खेलमा स्वयम् डाक्टरहरू र स्वास्थ्यसेवीहरू लागिरहेका छन् । उनीहरू व्यवसायिक हुनुभन्दा चाकडीबाज भइरहेका छन् । रचनात्मकभन्दा कुरौटे भइरहेका छन् । नयाँ–नयाँ आविस्कार पढ्न र लागु गर्न भन्दा हाकिमको घर–घरमा ब्लड प्रेसर जाँच्न रुचि दिइरहेका छन् । म एसएसपी हुँदा २०५५ सालतिरै मैले अस्पतालमा प्रशस्त विकृति झाँङ्गिएको महसुस गरेँ । म एसएसपी भएर प्रहरी महानिरीक्षक प्रदीपशमशेर राणाको प्रमुख पिए हुँदा त मैले यो कुरा अरू महसुस गर्ने मौका पाएँ । मलाई कता कता लाग्न थाल्यो प्रहरी अस्पतालको व्यवस्थापन ट्र्याक आउट हुँदैछ । म मनमनै सोच्दथेँ कि एक दिन म आफू प्रहरीको माथिल्लो दर्जामा पुगेँ भने अस्पताललाई रि–स्टक्चरिङ गर्छु । म तिनताका प्रहरी अस्पतालले ज्यादै राम्रो सेवा दिन्छ, रोग निको पार्छ भन्ने कुरामा नै पूर्ण रूपले विश्वास गर्न नसक्ने हालतमा पुगेको थिएँ । मेरो मान्यता थियो प्रहरी अस्पताल मूख्यतया साना दर्जाका लागि आवश्यक छ, तिनका परिवारका लागि आवश्यक छ । अझ सानो दर्जामा पनि पूर्वप्रहरीहरूलाई आवश्यक छ जो उमेरले बूढा छन्, शक्तिले कमजोर छन्, आयका हिसाबले गरिब छन् र निरीह छन् । तिनलाई जवान छोराछोरीले बोझ सम्झन थालिसकेका छन् । तिनीहरू छोराछोरी पढाउँदा, बढाउँदा, विवाह गर्दा र विवाह भइसकेकी छोरीको सुत्केरी स्याहार्दा स्याहार्दा गरिब भइसकेका छन् । त्यसैले मलाई लाग्थ्यो यो अस्पताल डाइरेक्ट फ्रि कम्पीटिसनबाट आएका अधिकृतहरूलाई भन्दा तल्ला तहका प्रहरी कर्मचारीहरूलाई आवश्यक छ । म आइजिपीको पिए भएर अस्पताल जाँदा स्वास्थ्यकर्मीहरू अस्पतालको विकासका कुराभन्दा पनि अर्को पक्षको कुरा लगाउनमै व्यस्त हुन्थे । त्यतिबेला मुखले केही नभने पनि मेरो मनमा अस्पताल व्यवसायिक छ र यो अस्पतालको सेवाले पूरै नेपालमा एउटा विश्वास कमाउन सक्छ भन्ने कुरामा शंका उत्पन्न भइसकेको थियो । 
म अवकाश भएँ । अवकाशपछि म प्रहरी अस्पताल गइनँ । जाने काम पनि परेन । तर त्यतिबेला पनि डाक्टरहरूबीचको मनमुटाव, गुटबन्दी, एक–अर्काविरुद्ध उजुर–बाजुर र चित्त नबुझेर जागिर छोड्ने क्रम प्रशस्त देखेँ । अस्पताललाई मेडिकल कलेज बनाउन लागेको भन्दै त्यहीँका डाक्टरहरू यसलाई रोक्न शक्ति केन्द्रहरूमा पुगेको पनि देखेँ । त्यसपश्चात जब म पूर्वप्रहरी संगठनमा आबद्ध भएँ त्यहाँका कुरा झन् बढी थाहा हुन थाल्यो । पुलिस अस्पतालमा बहालवाला प्रहरीलाई दिइएको सरकारी बजेटको करोडौँ रकम पूरा औषधि उपचारमा नलगाई भ्रष्टाचार गरिन्छ, फर्निचर, इक्यूप्मेन्टलगायत धेरै शीर्षकमा छुट्याइएका रकममध्ये गुट मिलाई प्रशस्त भ्रष्टाचार हुन्छ, डाक्टरहरूलाई अस्पतालको कामभन्दा अन्यत्र आफूखुसी काममा जाने मौका दिएर भ्रष्टाचारलाई सजिलो बनाइन्छ भने अर्कोतर्फ गरिब पूर्वप्रहरीहरू र तल्ला दर्जाका प्रहरी र तिनका परिवारले साधारण औषधिहरू पनि पाउँदैनन् भन्ने गुनासोहरू पूर्वप्रहरीमा आउँथे । त्यसपछि मलाई प्रहरी अस्पतालमा जान अझै मन लाग्न छोड्यो । 
आजभन्दा करिब २ महिनाअघि बर्दियाका पूर्वप्रहरी संगठनका अध्यक्ष साथै ज्यादै वृद्ध व्यक्ति प्रहरी अस्पतालमा उपचार गरी फर्केर मलाई भेट्न धापासी आउनुभयो । उनलाई देखेपछि मैले सोधेँ उपचार कस्तो भयो ? मेरो प्रश्न खस्न नपाउँदै उनले भने, ‘सर पुलिस अस्पताल त स्वर्ग भएछ’ । मैले पहिलो पल्ट धेरै वर्षपछि पुलिस अस्पतालको राम्रो कुरा सुनेँ । यो सुनेको कुरा आइजिपी सर्वेन्द्र खनालज्यूलाई पनि भनेँ तर अस्पताल आफैँले हेर्न चाहिँ गएको थिइनँ । हालै हाम्रो पूर्वप्रहरी संगठनको तर्फबाट पुलिस अस्पताल हेर्ने वरिष्ठ उपाध्यक्ष पूर्व एआइजी विनोद सिंहले मलाई अस्पतालमा सुधार भएको बताउँदै एक पटक त्यहाँ गइदिन अनुरोध गर्नुभयो । हामी दुवैजना केही दिन अगाडि प्रहरी अस्पताल पुग्यौँ । मैले देखेँ, वास्तवमै अस्पतालमा भौतिक परिवर्तन भएकै रहेछ । हरेक कोठा सफा छन् । डाक्टरहरू व्यवसायिक देखिए । मैले पूरै अस्पतालको परिवर्तन हेर्न भ्याइनँ तर थोरै अवलोकन मै मैले बुझेँ कि वीरेन्द्र प्रहरी अस्पताल हिजोको अवस्थाभन्दा डा. पोख्रेलको नेतृत्वमा आजको अवस्थामा माथि गएको छ । मैले त्यहाँको भौतिक विकास तथा व्यवस्थापनको स्तर देख्दा मनमनै ठहर गरेँ कि त्यहाँ पहिलेको भन्दा भ्रष्टाचार पक्कै कम भएको हुनुपर्छ । डा. पोखरेलले पुरानाभन्दा पुराना जीर्ण भएका भवनहरूलाई पनि जीवन्त राख्न सफल भएका र यस्तो यस्तो ठाउँमा पनि सुधारको प्रयास गरेको देखेँ जहाँ उनले ध्यान नदिए पनि हुन्थ्यो । जहाँ खर्च नगरे पनि हुन्थ्यो । केहीबेर घुमेपछि मलाई लाग्यो वास्तवमै अस्पतालले धेरै पछि एउटा कुशल नेतृत्व पाएकै रहेछ र बर्दियाका अध्यक्षले भनेको कुरा सही रहेछ । यस सकारात्मक परिवर्तनका लागि म डाक्टर पोखरेललगायत वीरेन्द्र प्रहरी अस्पतालका सबै चिकित्सक र स्टाफहरूलाई पूर्वप्रहरी संगठनको अध्यक्षका हैसियतले धन्यवाद ज्ञापन गर्दछु । जहाँसम्म त्यहाँ बिरामीहरू निको हुन्छन् कि हुँदैनन् ? भन्ने कुरा छ त्यसमा भने म अझै अध्ययन गरेर मात्र आफ्नो विचार लेख्ने छु । तर एउटा कुरा मलाई विश्वास भयो डा. पोखरेलको नेतृत्वमा प्रहरी अस्पताल माथि गएको छ । आइजिपी खनाललाई धन्यवाद ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?