Monday May 29, 2023

नेपाल प्रकृति,संस्कृति र साहसिक पर्यटनको लागि अद्वितीय देश : राजदूत ज्ञानचन्द्र आचार्य

२२ असार, २०७९ शीतलपाटीन्युज डटकम। 5474


नेपाल प्रकृति,संस्कृति र साहसिक पर्यटनको लागि अद्वितीय देश : राजदूत ज्ञानचन्द्र आचार्य

शीतलपाटीन्युज डटकम।

लण्डन। नेपाली राजदूतावास लण्डनले नेपालको पर्यटन प्रबर्द्धन गर्न ०५ जुलाई २०२२ मा “Potentials of Tourism for Boosting Nepal’s Economy” विषयक एक कार्यक्रमको आयोजना गर्यो। कोभिड-१९ संक्रमणबाट शिथिल नेपालको पर्यटनलाई पुनर्जिवित गराउन ब्रिटिश पर्यटकको आवागमन बढाउने अभिप्रायले आयोजित उक्त कार्यक्रममा बेलायतस्थित टुर तथा ट्राभल अपरेटर्स, पर्यटनसम्बन्धित लेखकहरु एवं पत्रकारहरु, नेपाललाई माया गर्ने बेलायतीहरुका साथै नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत करिव ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रममा उपस्थित सहभागीहरुलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले नेपाल प्रकृति,संस्कृति र साहसिक पर्यटनको लागि अद्वितीय देश रहेको हुँदा नेपाल बेलायती पर्यटकहरुको लागि उत्कृष्ट आगामी भ्रमण गन्तब्य भएकोले भ्रमण तालिकामा नेपाल समावेश गर्न अनुरोध गर्नुभयो। नेपाल पर्यटन बोर्डका तर्फबाट पर्यटन बजारीकरण एवं प्रवर्द्धनका निमित्त निर्देशक लक्ष्मण गौतमले भर्चुअल माध्यमबाट बोल्दै नेपालमा रहेका उत्कृष्ट पर्यटकीय आकर्षणहरुको बारेमा जानकारी दिंदै कोभिड-१९ पश्चात् नेपाल पूर्णरुपमा खुला रहेको हुँदा नेपालले ऐतिहासिक सम्बन्ध रहेको बेलायतबाट अझ धेरै पर्यटकको अपेक्षा गरेको बताउनु भयो। त्यसैगरी Nepal Association of Tour and Travel Agents (NATTA) का अध्यक्ष रमेश थापाले नेपालका मुख्य मुख्य पर्यटकीय क्षेत्रहरुका बारेमा जानकारी गराउँदै नेपाल सबै खालका मनोरञ्जन, साहसिक पर्यटन तथा विदा मनाउन उत्कृष्ट गन्तब्य रहेको जानकारी गराउँदै नेपाल भ्रमण गर्न अनुरोध गर्नुभयो।  

BBC MasterChefs ‘The Professionals’-2020 का finalist सेफ सन्तोष साहले आफ्नो BBC MasterChefs यात्रा दौरानका बारेमा संक्षिप्त चर्चा गर्दै नेपाली खाना विश्वमै अद्वितीय रहेको र सबै किसिमका नेपाली खानाहरुको स्वाद लिन नेपाल भ्रमण गर्न अनुरोध गर्नुभयो। त्यसैगरी, Lonely Planet Publications का पत्रकार र लेखक Mr. Joe Bindloss ले आफुले धेरै पटक नेपाल भ्रमण गरेको जानकारी गराउँदै आफ्नो पछिल्लो नेपाल भ्रमणको स्मरण गर्दै नेपाल विश्वमै पर्यटनका लागि प्रमुख गन्तब्य रहेको जानकारी गराउनु भयो। 

बेलायतका लागि नेपालका पर्यटन दूत श्महन्थ बहादुर श्रेष्ठले विश्वको सर्बोच्च शिखर सगरमाथा र बेलायतमा कार्यरत गोर्खा सेनाबाट परिचित नेपाललाई विश्वभर चिनाउन विशेष अभियानको खाँचो रहेको र त्यसका लागि आफुले पनि पहल गर्ने बताउनुभयो। बेलायतस्थित ट्राभल कन्सोलका संचालक विराज भट्टले बेलायतबाट नेपाल भ्रमण गर्न आवश्यक पुर्वतयारी तथा नेपालमा उपलव्ध भ्रमण सम्बन्धी सम्पुर्ण प्याकेजका बारेमा जानकारी गराउनु भयो। AWOL Adventure का Operations Manager Mr. Dan Wright ले नेपाललाई बेलायती पर्यटकहरु माझ आकर्षक गन्तव्यका रुपमा विकसित गरी पर्यटक संख्या वृद्धि गर्न सकिने र सो का लागि नेपाल पर्यटन बोर्डसँग कार्य गर्न चाहेको बताउनु भयो।

कार्यक्रममा सयपत्री नेपाली सांस्कृतिक समूह युकेका तर्फबाट दुईवटा लोकगितमा नृत्य र उक्त समूहका अध्यक्ष डम्बर सिंह प्रयासले सारङ्गीको धुन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सुरुमा अतिथिहरुलाई मास्टरसेफ सन्तोष साहले तयार गर्नुभएका परिकारहरु प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा मास्टरसेफ सन्तोष साहलाई नेपाली खानाको प्रचारप्रसार गरेबापत एवं बेलायतस्थित पानस रेस्टुरेन्टका संचालक एवं पानस हेल्पिङ्ग ह्याण्ड्सका अध्यक्ष सुजन कटुवाललाई महामारीका बेला बेलायतस्थित नेशलन हेल्थ सर्भिस एवं स्थानीय समुदायलाई १ लाख निःशुल्क खाना प्रदान गरेबापत राजदूतावासका तर्फबाट सम्मान गरिएको समाचार नेपाली राजदूतावास लण्डनले बिज्ञप्तिमा जनाएको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?