२६ कार्तिक, २०७९
मालामा नअटाएको पप्पी फूल
“”””””””””””””””””””””
बिजय हितान
लालिगुराँस सँग मेरो
रङ्गको नाता गाँसिएको छ भनेर
उसलाई बिन्ती गरें एकदिन
र भनें -
तिमी बुट्ट्यान माथि माथि फूल
मलाई भुइभरी फूल्न देउ
र हामी बनपाखालाई रमणीय बनाऔं !
गुराॅसले अस्विकार गर्दै भन्यो-
तँ जुठो रगतले सिन्चित बनेर उम्रेको
जा अन्तै
अरुको छातीभरी सिउरी रहेरै फूल !!
सयपत्री र मक्खमली सँग मेरो
घरेलु सम्बन्ध छ भनेर
उनिहरुलाई पनि बिन्ती गरेँ एकदिन
र भनें-
तिमीहरु घरका पेटिहरुमा फूल
म आङ्गनका ढिकहरुतिर फूलुला
र हामीहरु मिलेर घरआंगनलाई उज्यालो पारौं !
उनिहरुले पनी अस्विकार गर्दै भने-
तँ फ्लान्डरफिल्डका चिहान घारितिर उम्रने
जा अन्तै
कसैको टोपिको घेरामा सिउरी रहेरै फूल !!
अनी एक दिन
म पनि
गुराँस, सयपत्री, मक्खमली, गुर्दौली जस्ता फूलहरूका
थुङ्गाहरु बिच घुस्रिंदै
माला बनेर उनिएँ
तर मलाई तिनिहरुले
चेपे
चिमटे
पिल्स्याए
गिज्याए
र म मालाबाट चुॅडिएर झर्न पर्ने भयो !
अनि म ओईलिएं कि क्या हो !
त्यसपछी
समयको हावासङै
मेरा परागकणहरु उडेर
हंगकंगका कंक्रिट जङलहरुमा
र बेलायतका समतल मैदानहरुमा पुग्दा
म परागसेचित हुन पुगेछु !
फल्सरूप,
म यतै फूल्न पुगेछु
म यतै लहलह झुल्न पुगेछु !
हो म अब
अन्चाह
यतै फूल्नु छ
यतै हजारौं कोपिलाहरु फूलाऊनु छ
र यतै मगमग सुगन्ध छर्दै बसाउनु छ !!!
- विजस हितान
११/११/२०२२