Friday February 14, 2025

घान्द्रुक समाज यूकेले १३ औं वार्षिक समर भेटघाट कार्यक्रम धुमधामसंग मनायो।

२२ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1881


घान्द्रुक समाज यूकेले १३ औं वार्षिक समर भेटघाट कार्यक्रम धुमधामसंग मनायो।

शीतलपाटीन्युज डटकम।

लण्डन,०६ अगस्ट २०२३। घान्द्रुक समाज यूकेले आफ्नो १३ औं वार्षिक समर भेटघाट ५ अगष्ट २०२३ शनिबारको दिन फार्नबोरो स्थित ओकफर्म स्पोर्ट्स कलेजको हलमा धुमधामसंग सम्पन्न गर्यो। 

घान्द्रुक समाज युकेको अध्यक्ष श्री नारायण सिंह गुरुङको सभापतित्वमा एक औपचारिक कार्यक्रम गरि सञ्चालन गरेका थिए। कार्यक्रममा थुप्रै अतिथिहरुलाई आमन्त्रण गरिए पनि व्यवस्तताको कारण अरू अतिथीहरु समयमा आइपुग्न सफल नभएकोले  समयमा उपस्थित हुन सफल आमन्त्रित अतिथि तमु प्ये ल्हु संघ युकेका प्रतिनिधिको रूपमा सहभागी खेगी समितिको अध्यक्ष श्री डमर बहादुर गुरुङ र अध्यक्ष श्री नारायण सिंह गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेर कार्यक्रम शुभारम्भ गरेका थिए।

कार्यक्रम आरम्भको क्रममा खेगी गुरु उपाध्यक्ष श्री देव बहादुर गुरुङले घान्द्रुकेहरुको आस्थाको केन्द्र शक्तिपीठ श्री मेश्रम बराहको पूजा गरेर प्रसाद ग्रहण गरेपछि कार्यक्रमले गति लिएका थिए। कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष श्री देव बहादुर गुरुङले स्वागत मन्तव्यको साथै हेल्थ एण्ड सेफ्टी बारे ब्रिफ गरेका थिए।

औपचारिक कार्यक्रमको पहिलो चरणमा केही  अगाडि पछाडि गरी आइपुग्नु भएका आमन्त्रित अतिथिहरुमा तमु प्ये ल्हु संघको प्रतिनिधि खेगी अध्यक्ष श्री डमर बहादुर गुरुङ दम्पती, तमु धी युकेको अध्यक्ष श्री हरि गुरुङ दम्पती, बेलायतको लागि गैर आवसिय नेपाली संघको हालै निर्वाचित अध्यक्ष श्री हित काजी गुरुङ, मिडिया क्षेत्रबाट गोर्खा मिडियाका प्रबन्ध निर्देशक श्री मिलन तमु, शितल पाटी युकेको प्रबन्ध निर्देशक श्री वाचस्पति रेग्मी, नेपालबाट हाल यूकेमा रहनु भएको श्री मेश्रम बराह मा. वि. घान्द्रुकको व्यवस्थापन समितिको निवर्तमान अध्यक्ष रि. में. श्री ललित बहादुर गुरुङ, हाल भ्रमणको क्रममा यूकेमा रहनु भएको श्री मेश्रम बराह मा. वि. को पुरानो शिक्षक श्री के. वि. ( कृष्ण बहादुर) गुरुङ  दम्पती, गत २९ जुन २०२९ मा सम्पन्न भएको एभरेष्ट म्याराथनमा घान्द्रुकको स्कूलको च्यारिटीको मूल उद्देश्य बोकी सहभागी भएको श्री सूर्य गुरुङको नेतृत्वको सहभागीहरुमा सूर्य गुरुङ, ताङतिङ समाजको अध्यक्ष समेत रहनु भएको श्री तर्क जङ्ग गुरुङ, जुम काजी गुरुङ र ट्याप ट्याप सेन्डको नेपाल प्रतिनिधि सुश्री सृष्टि गुरुङ आदिलाई अध्यक्ष श्री नारायण सिंह गुरुङको हातबाट स्वागत तथा सम्मान गरेका थिए ।

औपचारिक कार्यक्रमको पहिलो चरण मै समाजलाई विभिन्न विधामा जस्तै कसैले भौतिक रूपमा योगदान दिएर, कसैले आर्थिक रूपमा योगदान दिएर, कसैले आवश्यक पर्दा सल्लाह सुझावहरु दिएर, कसैले नाचेर, कसैले गाएर समाजलाई दिएको योगदानहरूको उच्च मूल्याङ्कन गर्दै आमा समुह तथा मूल समितिका विभिन्न सदस्यहरुलाई सम्मान गरेको थियो। त्यस्तै गरि समाजका सदस्यका नानी बाबुहरु जसले यो वर्ष यहाँका विभिन्न विश्व विद्यालयहरुबाट ब्याचलर, मास्टर्स डिग्री र विद्यावारिधि गर्दै गरेका ९ जना नानीहरूलाई पनि सम्मान गरे। 

त्यस्तै गरि घान्द्रुक समाज यूकेले आफ्नो गुरुङ भाषा संरक्षण गर्ने उद्देश्यले २०१५ साल देखि लगातार रूपमा सञ्चालन गर्दै आएको २० वर्ष मुनिको नानीहरूको लागि तमु भाषा प्रतियोगितालाई निरन्तरता दिँदै यस वर्ष पनि सञ्चालन गर्यो। यस वर्ष ५ जना नानीहरूले भाग लिएकोमा अल्डरशट निवासी श्री प्रभात गुरुङको सुपुत्री सुश्री अन्जनी दर्शनी गुरुङले प्रथम स्थान हासिल गरेर यो वर्षको शिल्ड हात पार्न सफल भयो। तमु भाषा प्रतियोगिता सञ्चालन गर्ने क्रममा छोटो समयको मौका छोपेर नेपालबाट हाल युके आइपुग्नु भएका घान्द्रुक स्थित श्री मेश्रम बराह मा.वि. काे स्कूल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रि. मे. श्री ललित बहादुर गुरुङले विद्यालय, स्वास्थ्य, बाटोघाटो गाउँको स्थितिको अपडेट गरे।

त्यसपश्चात दोश्रो चरणको मनोरञ्जन कार्यक्रमको सञ्चालन भयो। उक्त कार्यक्रममा आधा आधा तोला सुनको मुख्य आकर्षण  रहेको दुई वटा पुरस्कार र अन्य विभिन्न आकर्षक पुरस्कारहरू भएको राफल ड्र कार्यक्रम सञ्चालन गरिएका थिए। उक्त आधा तोला सुनको बम्पर पुरस्कार स्विन्डन निवासी सुश्री आयुषा गुरुङ र अर्को आधा तोलाको सुन पुरस्कार केम्बरली निवासी श्रीमति इन्द्र कुमारी गुरुङले हात पार्न सफल भयो। उक्त आधा आधा तोलाको सुनको दुई वटा पुरस्कार यसै समाजका सदस्य याक एन्ड यती गोर्खा रेस्टुरेन्ट योर्कको सञ्चालक श्री किसान गुरुङले र ट्याप ट्याप सेन्डको नेपाल प्रतिनिधि सुश्री सृष्टि गुरुङले प्रायोजन गर्नु भएको थियो।

त्यस्तै गरि घान्द्रुकेहरुको आफ्नै मौलिक कलाकारहरुको बेजोड प्रस्तुति रहेको नृत्यमा पार्टीका सहभागीहरुले भरपुर मनोरञ्जन लिए । त्यसपछि कार्यक्रमको अन्तमा नेपालबाट हाल यूकेमा भ्रमणको क्रममा यूकेमा रहेकी लोक दोहोरी गीत गायिका सुश्री नानु तमुस्योको बेजोड प्रस्तुतिको मजा लिदै बेलुका ९ बजे तिर कार्यक्रम अन्त भएको थियो। करिब सबै कार्यक्रमहरु शुरू देखि अन्त सम्म समाजका महासचिव र सचिव श्री राज कुमार गुरुङ र श्रीमति पुनम गुरुङले सञ्चालन गरेका कुरा घान्द्रुक समाज युकेका अध्यक्ष नारायण सिंह गुरुङले बताउनु भयको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?