२२ श्रावण, २०८०
शीतलपाटीन्युज डटकम।
लन्डन। नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन) यूके लगायतका आदिवासी सङ्गठनहरूले अगष्ट १३ मा विश्व आदिवासी दिवस मनाउने भएको छ। महासङ्घले २९ ओैँ विश्व आदिवासी दिवसको अवसर पारेर आगामी आइतबार एम्पाएर हल अल्डरसटमा कार्यक्रम गर्न लागेको हो।
आइतबार साँझ आयोजित भर्चुअल प्रेषमीट सम्मेलनमा बोल्दै नेफिन यूके अध्यक्ष कर्मा पहाडी शेर्पाले महासङ्घले यस वर्षबाट संघलाई सेवा दिएका आदिवासी वर्ष पुरुष र आदिवासी वर्ष महिला समेत घोषणा गरेर सम्मान गर्न लागिएको बताए। ‘यो सालबाट हामी आदिवासी जनजातिको पहिचान र अधिकारका लागि उल्लेख्य योगदान पुर्याउनेहरू मध्ये आदिवासी वर्ष पुरुष र आदिवासी वर्ष महिला घोषणा गर्दैछौ,अध्यक्ष शेर्पाले भने, ‘यो वर्षको कार्यक्रम पनि आदिवासीकै अधिकारमाथि चर्चा गर्नेछौं ।’
नेफिन यूके अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षतामा भयको सो प्रेषमीटको संचालन महासचिव बिमला सेनेले गर्नु भएको र अल्डरसटको एम्पायर हलमा हुने कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावासको उपनियोग प्रमुख रोशन खनाल रहने नेफिन महासचिव विमला सेने लिम्बुले बताउनु भयको छ । त्यस्तै,नेफिन नेपालका पूर्व सचिव भक्त दुरा मुख्य वक्ता रहने कार्यक्रममा विभिन्न जातीय सङ्गठनहरूले साँस्कृतिक झाँकी समेत प्रदर्शन गर्ने छन् भने चर्चित कलाकारहरूले समेत गीत तथा नृत्य प्रस्तुत गर्री मनोरन्जन प्रदान गर्ने छन। नेफिनसँगै आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) यूके,आदिवासी जनजाति महिला महासङ्घ यूके, आदिवासी जनजाति युवा महासङ्घ र आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ यूके पनि आयोजक संस्थाको रुपमा रहेका छन्।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९५ बाट प्रत्येक वर्षको अगष्ट ९ तारिखमा विश्व आदिवासी दिवस मनाउन थालिएको हो। यस वर्षको नारा ‘आदिवासी युवा,आत्मनिर्णयको परिवर्तनको संवाहक’ रहेको छ ।
कार्यक्रममा सल्लाहकारहरू, एकिन्द्र गुरुङ, भक्त दुरा, ज्ञाम गुरुङ,डा.सुमाया राई, सिरी लिम्बु, फोनिज यूके अध्यक्ष गोमा राना मगर, आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ यूके संयोजक अमित थेवे सहभागी थिए। प्रेस नोट फोनिज यूके अध्यक्ष राना मगरले वाचन गरेकी थिइन्।
पत्रकार सम्मेलनमा फोनिज यूकेका पूर्व अध्यक्ष एवम् पत्रकार विश्वासदीप तिगेला, नेपाल पत्रकार सङ्घ यूकेका महासचिव नरेन्द्र बस्नेत, सचिव खेमराज राजाभाट,शीतलपाटीन्युजका सम्पादक वाचस्पति रेग्मी,आकाश सुनुवार,गजवीर थापा,कियाचु प्रतिनिधि एवम् पत्रकार नगेन्द्र नेम्वाङ,किरण राई लगायतको उपस्थिति रहेको थियो।