१३ आश्विन, २०८०
GNNNews-
काठमाडौं। रियालिटी शो 'एनआरएन द सिङगर' को लागि भोटिङ खुला भएको छ। ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ सुरु भएको प्रतियोगितामा गत सेप्टेम्बर ९ देखि २२ सम्म भिडियो पठाएर अडिसन गरिएको थियो। प्राप्त अडियोबाट छनोट गरिएका उत्कृष्ट ४०कलाकारका प्रस्तुतिहरु स्पेस फोरके टेलिभिजनबाट प्रसारण भइसकेका छन्।
पहिलो सिजनमा विश्वभरबाट १३ दिनको अवधिमा ३७ देशबाट ३१२ प्रतिस्पर्धीले भिडियो अडिसन दिएको र प्रशारण योग्यबाट उत्कृष्ट ४० जना छनोट गरिएको थियो। टेलिभिजनबाट प्रशारण भएको सोही भिडियोबाट उत्कृष्ट २० मा जजहरुले नै छनोट गरेका हुन्।
अडिसनका बेला प्राप्त भएका उत्कृष्ट ४० मध्येबाट जजहरुले २० जनाको भिडियो छनोट गरेका थिए। सोही २० जनाबीच फेरि प्रतिस्पर्धा गरेर १५ जना छनोट गरिएको छ। अबको एपिसोडमा उत्कृष्ट १५ को प्रदर्शनपछि उत्कृष्ट १२ छनोट हुने छन् ।
अहिले उत्कृष्ट १५ मा लोकेन्द्र दूधराज, एरिक लिम्बु सम्बाहाम्फे,युक्ति विमली, शिशिर थापा,केदार कार्की,राधिका पोखरेल,कृष्ण खवास,प्रदीप कोयू राई, विष्णु क्षेत्री र कर्मा दोङ तामाङ रहेका छन्। यस्तै गुण मगर निशु,भीम शेर्मा लिम्बू, सुवासचन्द्र पुनमगर,लाक्पा डेन्डी शेर्पा र भेषबहादुर गुरुङ रहेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालले व्यवस्थापनमा उत्पादन गरिएको कार्यक्रममा अब उत्कृष्ट १५ बाट १२ जना छनोटका लागि भोटिङ खुला गरिएको छ। त्यसका लागि खल्ति एपसँग सहकार्य गरिएको युनिटेकका कार्यक्रम उत्पादक सुरज राइले जानकारी दिए।
भोटिङका लागि अक्टोबर १ अपरान्ह ५ बजेसम्मको लागि समय दिइएको छ।
एनआरएनएबाट उत्कृष्ट सिंगरको खोजीका लागि जज (निर्णायक) को रुपमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई नेपालबाट रहेका छन् भने युकेबाट शर्मिला बर्देवा र रुपककुमार शाहीसमुदा अस्ट्रियाबाट जोडिएका छन्।
१५ जनाबाट उत्कृष्ट १२ मा पुग्दा २५ प्रतिशत भोटिङको नम्बर जोडिने छ भने ७५ प्रतिशत निर्णायकको नम्बर हुने छ।
उत्कृष्ट १२ बाट १० मा जाँदा भोट र निर्णायकको बराबर ५० प्रतिशत हुने छ भने उत्कृष्ट १० बाट ग्रान्ड फिनाले (फाइनल) मा पुग्ने छ। ५ जनाको छनोट गर्दा भने ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गर्ने छ। तर,ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ उपाधि जित्न सफल हुनेछन्।
उपाधि जित्नले नगदरु ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले रु २ लाख र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र पाउने कार्यक्रमका उप संयोजक प्रवीण गुरुङले जानकारी दिए।
अक्टोबर १ मा उत्कृष्ट १५ को प्रस्तुति स्पेस फोर के टेलिभिजनमा नेपालको समय अनुसार राति १० बजे प्रसारण हुने छ। अक्टोबर ५ मा उत्कृष्ट १२ को प्रस्तुति प्रसारण पछि अक्टोबर ९ मा सेमिफाइनल (उत्कृष्ट १०) को प्रस्तुति प्रसारण गरेर फिनालेका लागि उत्कृष्ट ५ जनाको छनोट गरिने छ। फिनाले अक्टोबर १५ मा काठमाडौंमा आयोजना गरिने छ ।
खल्ती एपबाट कसरी भोट गर्ने ?
सुरुमा खल्ति एप ओपन गर्ने,त्यसपछि इन्टरटेनमेन्ट सेक्सनमा जाने। अनि एनआरएन द सिंगर देखिने छ। त्यसपछि तपाईंलाई मन पर्ने प्रतिस्पर्धीलाई ट्याप गरेर भोट गर्न सक्नुहुने छ।