२४ आश्विन, २०८०
शीतलपाटीन्युज डटकम।
लन्डन। नेपाल पत्रकार महासंघ बेलायतले नयाँ सदस्यताका लागि प्रक्रिया अघि बढाउने भएको छ।
बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा अक्टोबर ८ मा भर्चुअल माध्यमबाट बस्यो। सो जुम बैठकले शाखाको नयाँ सदस्यता खोल्ने प्रक्रियालाई अघि बढाउन महासचिव नरेन्द्र बस्नेत र सचिव खेमराज रानाभाटलाई तोकिएको हुँदा प्रक्रिया अघि बढाउने गृहकार्य गर्न सुझाव दिने निर्णय गरेको हो । यस्तै शाखाका सदस्यहरुले लिएको अन्तर्राष्ट्रिय प्रेसपास नवीकरण गर्न निवेदन आह्वान गरी प्रक्रिया अघि बढाउन महासचिव बस्नेतलाई जिम्मेवारी दिइएको छ।
पत्रकार महासंघ केन्द्रले रौतहट शाखाका सदस्य फणिदेव महतको टाउकोको ट्युमरको उपचार खर्चको लागि सहयोग आह्वान गरेको हुँदा शाखातर्फबाट सन् २०२१ मा बेलायत शाखाले संकलन गरेर केन्द्रमा पठाएको रकममध्येबाट ५० हजार रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरिएको महासचिव बस्नेतले जनाए ।
बैठकमा गत जुलाई ९ मा भएको १२ औं वार्षिकोत्सव एवं च्यारिटी नाइटको संक्षिप्त रुपमा समीक्षा गर्नुका साथै केही व्यक्तिहरुले कबुल गरेको तर भुक्तानी गर्न बाँकी रकम भुक्तानीको लागि यथाशीघ्र अनुरोध गर्ने र दसैं–तिहार लगत्तै प्रत्यक्ष बैठक आयोजना गर्ने निर्णय भएको छ ।
महासचिव बस्नेतले सञ्चालन गरेको सो बैठकमा कार्यसमितिका अध्यक्ष अर्याल,वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार,सचिवहरु मञ्जु भण्डारी र खेमराज रानाभाट,कोषाध्यक्ष एसके गुरुङ तथा कार्यसमिति सदस्यहरु बमथापा सूर्यवंशी,बाचस्पति रेग्मी र जयराम तामाङको उपस्थिति थियो ।