समाचार
|“बेलायती राजनीतिमा पहिलो पटक नेपाली मूलकी महिला तथा गोर्खा डेलिगेटद्वारा सम्बोधन: राजनीतिक क्षेत्रमा प्रणालीगत अवरोध र डायस्पोरा समुदायको बढ्दो प्रभावमाथि जोड।”|सोह्र अर्थात् महालय श्राद्ध एक विवेचना : आचार्यश्री माधवशरण|रांङभाङ्ग समाज यूकेद्वारा गायिका सबिना बुढा मगरको बिदाइ कार्यक्रम भब्य सम्पन्न|प्रहरीका ८ एआईजीको सरुवा, को कहाँ ? हेर्नुहोस सूची|लन्डनमा आयोजित श्रद्धाञ्जलि सभामा सैयौं सहभागी|अक्टोबर १० मा १९ औ रेडिङ कप फुटबल तथा भलिबल प्रतियोगिता हुदै|गोर्खा मिडियाले मनायो छैटौँ वार्षिकोत्सव भव्य|नेपालको हिमालदेखि न्यूयोर्कको महासभासम्म|पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ|सांसद विदुषी राणा बेलायतमा,नेपाललाई सघाउन अन्तरराष्ट्रिय समुदायलाई आह्वान

देखिन छाडे गिद्ध

  शीतलपाटीन्युज डटकम | १३ पुष २०७९, बुधबार १४:५८

लुम्बिनी- चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन्। १०–१५ वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर प्रकृतिका कुचीकार उपनामले परिचित गिद्धको बास हुन्थ्यो।

मानवीय सचेतनासँगै जथाभावी फालिने चौपायाको सिनोलाई गाड्ने तथा व्यवस्थितरूपमा राख्न थालिएपछि आहारा अपुग भई गिद्ध देखिन छाडेको लुम्बिनी सांस्कृतिक नगरपालिका–९ महिलवारका चराप्रेमी भोला गुप्ताले बताए। जैविक विविधता र पर्यावरणका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने लोपोन्मुख पक्षी हो, गिद्ध। यसको ठूलो धार्मिक महत्व पनि छ।

गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थ खाएर वातावरणलाई प्रदूषणमुक्त, दुर्गन्धमुक्त तथा रोगमुक्त बनाउन भूमिका खेलेको हुन्छ। गिद्ध आफैँले सिकार गर्दैन। यसले मरेका जनावरका मासु (सिनो) खाने गर्दछ। गिद्धले सिनो खाई वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्छ। यो पर्यावरणीय चक्र, सनातन खाद्य शृंखलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो।

‘केही वर्ष पहिला गिद्ध सिनो फालेको आधा घण्टाभित्रै पुगी सफा गर्दथे,’ गुप्ताले भने, ‘अचेल गिद्ध नआउँदा गाउँ नै दुर्गन्धित हुने गरेको छ।’ सिनोलाई कुकुर–स्यालले चिथोर्ने गर्दा वातावरण झनै दुर्गन्धित हुने गरेको उनको भनाइ छ। समयमा सिनो सफा नभए कुकुर, काग, स्याल र मुसाको संख्यामा वृद्धि हुन्छ। फलस्वरुप मानिसमा हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेगजस्ता रोगका साथै चौपायामा एन्थ्रक्स, ब्रुसेलोसिस र टिबीजस्ता रोगको संक्रमणले महामारीको रूप लिन सक्छ।

पर्यावरणीय सुरक्षाका लागि उपयोगी गिद्धको संख्या कम हुनु चिन्ताको विषय भएको हिन्दू परिषद् नेपालका प्रवक्ता तथा लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का पण्डित ओमकार पाण्डेले बताए। ‘गिद्धको सेवा र संरक्षण हाम्रो दायित्व हो। त्रेतायुगमा सीता हरण हुँदाको दुःखदायी समयमा जटायु र सम्पाती नामक गिद्धले भगवान रामलाई सहयोग गर्नुभएको थियो,’ उनले भने, ‘गिद्ध पर्यावरणको शुद्धीका साथै प्राणीमात्रका लागि पुजनीय छ।’

धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनिदेवताको वाहनका रूपमा पुजिन्छ। नेपालको माथिल्लो हिमाली क्षेत्रमा बस्ने लामा समुदायले गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुर्‍याउने दूतका रूपमा पुज्ने गर्छन्। नेपाल, भारत र पाकिस्तानमा गरिएको विस्तृत अनुसन्धानबाट गिद्धको स‌ंख्यामा ह्रास आउनुको मुख्य कारण नन्–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी औषधि डाइक्लोफेनेक भएको पशु चिकित्सक अशोक भण्डारीले बताए।

‘धेरै प्रकारका दुःखाइ र सुन्निने अवस्थामा औषधिको रूपमा मानिस र पशु दुवैमा डाइक्लोफेनेक औषधिको प्रयोग गरिन्छ,’ उनले भने, ‘डाइक्लोफेनेक प्रयोग गरी उपचार गरिएका गाईवस्तुको सिनो गिद्धले खाँदा त्यसको असरका कारण मिर्गौलाले काम नगर्ने भई उनीहरू मर्ने गरेको पाइएको छ।’

पछिल्लो अनुसन्धानले फ्लुनिक्सिन, कारप्रोफेन, निमुसुलाइड, एसिक्लोफनेक, किटोप्रोफेन र फिनाइबुटाजोनलगायत औषधि गिद्धका लागि विषाक्त मानिएको उनको भनाइ छ। त्यसको विकल्पमा गिद्ध, अरू चराचुरुंगी र वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्याम र पछिल्लो समयमा उत्पादन गरिएको टोल्फेनामिक एसिड सुरक्षित मानिएको डा. भण्डारीले बताए।

सरकारले २०६३ जेठ २३ गतेदेखि पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग, उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगाएको छ। मानिसले अन्य जनावरलाई लक्षित गरी सिनोमा विष राख्दा तथा अवैज्ञानिक ढंगबाट विस्तार गरिएका विद्युतीय तार आदिले पनि सानो संख्यामा जीवित रहेका ठूलो कदका गिद्धलाई संकटमा पारेको छ।

पक्षीविद् भूपाल नेपालीले पर्यावरणीय सुरक्षाका लागि गिद्धको संरक्षण गर्न आवश्यक रहेको बताए। ‘हालसम्म विश्वमा २३ प्रजाति तथा दक्षिण एसियमा ९ प्रजातिका गिद्ध पाइन्छन्। ती सबै ९ प्रजातिका गिद्ध नेपालमै पाइन्छन्,’ उनले भने।

नेपाल पक्षी संरक्षण संघका परियोजना अधिकृतसमेत रहेका पक्षीविद् नेपालीका अनुसार, ‘९ मध्ये ६ प्रजातिका गिद्ध नेपालकै रैथाने हुन्, जसले नेपालमै गुँड बनाइ बच्चा कोरल्छन्।’ बाँकी तीन प्रजाति हिउँदे आगन्तुक र बटुवाका रूपमा नेपाल आउने गरेको उनले बताए।

नेपालमा ९ प्रजातिका गिद्धमध्ये डंगर, सानोखैरे, सुन र लामो ठुँडे प्रजातिका गिद्ध आइयूसीएनको सूचीमा अति संकटापन तथा सेतो, हिमाली, राज र हडफोरगिद्ध संकटापन्न तथा खैरो गिद्ध सामान्य अवस्थामा रहेको उनले बताए।

पछिल्लो समयमा नेपालमा डंगर गिद्धको संख्यामा केही सुधार आएको नेपालीले बताए। ‘मरेका जनावरको सिनो तत्काल खाने भएकाले गिद्धले पारिस्थितिकीय प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन्,’ उनले भने। त्यतिमात्र नभई वन फँडानी तथा औद्योगिक प्रदूषण र जलाधारको ह्रासका कारण गिद्धमात्रै नभई नेपालमा पाइने ८९० प्रजातिका चरामध्ये १४९ प्रजातिका चरा लोपोन्मुख पक्षीको सूचीमा परेकाले उनीहरू सबैको संरक्षण आवश्यक रहेको नेपालीको भनाइ छ।

गिद्धको संरक्षण तथा प्रवद्र्धनका लागि २०६५ सालमा नेपाल पक्षी संघ, प्राकृतिक संरक्षण कोष, चिनारीको प्राविधिक पक्ष र दातृ निकायको सहयोगमा सञ्चालित गिद्ध प्रजनन केन्द्र ९कृत्रिम बच्चा कोरल्ने स्थान० चितवनको कसरामा स्थापित छ। -रामविकास चौधरी/रासस

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ