शीतलपाटीन्युज डटकम।
काठमाडौं। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ६ र ७ गते हुने प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गर्दै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो।
सञ्चारमन्त्री विक्रम तिमल्सिनाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि प्राप्त हुने २० लाख अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए।
त्यस्तै,अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिड क्रेडिट फेसिलिटीअन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ।
सरकारले नेपालभर नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय गरेको छ।
बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३०,ऐतिहासिक,पुरातात्त्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड २०८३ तथा राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ पनि स्वीकृत गरेको छ।
संसद् अधिवेशन कहिले बोलाउने भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता तिमल्सिनाले आजको मन्त्रिपरिषद् बैठकले यसबारे कुनै निर्णय नगरेको बताए। त्यस्तै,अध्यादेश ल्याउने विषयमा पनि बैठकबाट कुनै निर्णय नभएको उनले स्पष्ट पारे।
प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डाबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको जानकारी दिँदै उनले दुई देशबीचको सम्बन्ध सुधार र राष्ट्रहितका विषयमा महत्त्वपूर्ण छलफल हुने अपेक्षा गरिएको बताए।
रातोपाटीबाट।
प्रतिक्रिया