समाचार
|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न|लन्डनस्थित नेपाली दूतावासमा गौतम बुद्धको प्रतिमा स्थापना|नागरिकताको फरक मागले प्रक्रिया जटिल बन्यो : मनिष झा|बेलायतमा ११७ औं महाकवि देवकोटा जयन्ती भव्य रूपमा मनाइयो|नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न इयुसंग पहल भैरहेको छ: मंत्री पौडेल|लन्डनमा “नर्थहोल्ट १०K रन” भव्य रूपमा सम्पन्न|एनआरएन नागरिकता सम्बन्धी कानून तीन महिना भित्रै बन्ने : सांसद झा|नेपाली साहित्य विकास परिषद् युकेको १५औँ कार्यकारिणी समिति चयन|नेकपा एमालेको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन हुदै, अध्यक्षमा प्रभु थापा निश्चित|बेलायतको फ्रिम्लीमा नेपालीद्वारा सञ्चालित ड्राइ क्लिनिङ तथा लन्ड्री व्यवसाय,नेपाली समुदायलाई विशेष छुट

बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न

  शीतलपाटीन्युज डटकम | २३ कार्तिक २०८३, आईतवार ०७:३६

शीतलपाटीन्युज डटकम।
लण्डन। विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती कार्यक्रम बेलायतको कोभेन्ट्रीमा भव्य,सभ्य एवं साहित्यिक वातावरणका साथ सम्पन्न भएको छ।

आज मिति ७ नोभेम्बर २०२६,शनिबार सम्पन्न उक्त कार्यक्रम विश्व नेपाली साहित्य महासङ्घ मिडल्यान्ड शाखाका अध्यक्ष श्री भरतकुमार श्रेष्ठ ‘विवश’को अध्यक्षतामा सम्पन्न भएको हो। बेलायतको मिडल्यान्ड क्षेत्रमा रहनुभएका आदरणीय बुबाआमाहरूको प्रमुख आतिथ्य तथा विभिन्न सङ्घसंस्थाका पदाधिकारी एवं साहित्यिक व्यक्तित्वहरूको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा शान्ति समाज बेलायतका महासचिव श्री शशाङ्क शर्माज्यू, पासा पुचः गुठी मिडल्यान्ड बेलायतका अध्यक्ष श्री निसेन्टमान ब्रह्मचारीज्यू,दुईवटा गिनिज वर्ल्ड रेकर्डका धनी एवं सगरमाथा आरोही श्री साजन डङ्गोलज्यू,कोभेन्ट्री नेपाली समाजका अध्यक्ष श्री रमेश कँडेलज्यू,समाजका निवर्तमान अध्यक्ष श्री सन्तोष रेग्मीज्यू,महासचिव श्री सुवासचन्द्र अधिकारीज्यू तथा कोभेन्ट्री नेपाली लायन्स क्लबका अध्यक्ष श्री गोविन्द सापकोटाज्यूको विशेष उपस्थिति रहेको थियो।

महासङ्घकी सक्रिय सदस्य श्रीमती सीता पौडेलज्यूले सञ्चालन गर्नुभएको कार्यक्रममा महासङ्घका अध्यक्ष श्री भरतकुमार श्रेष्ठ ‘विवश’ तथा आदरणीय बुबाआमाहरूको संयुक्त हातबाट दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो। नेपाली तथा अङ्ग्रेजी राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै ज्ञात–अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रममा महासङ्घकी सक्रिय सदस्य श्रीमती ज्ञानु दाहालज्यूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी महासङ्घका सचिव एवं प्राज्ञिक व्यक्तित्व डा.प्रदीप लामिछानेज्यूले महाकवि देवकोटाको जीवनयात्रा,व्यक्तित्व तथा नेपाली साहित्यमा उहाँले पुर्‍याउनुभएको अतुलनीय योगदानबारे विस्तृत प्रकाश पार्नुभएको थियो। उहाँले आफ्ना मौलिक एवं मर्मस्पर्शी कविता वाचन गर्दै कार्यक्रमलाई थप साहित्यिक उचाइ प्रदान गर्नुभयो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा बालबालिकाहरूको मौलिक सिर्जना प्रस्तुतिलाई लिन सकिन्थ्यो। साना बालस्रष्टाहरू लुनिभा श्रेष्ठ,आदित्य रेग्मी,प्रथा वाग्ले,इभा वाग्ले तथा अनुप कँडेलले अङ्ग्रेजी भाषामा आफ्ना मौलिक साहित्यिक सिर्जना वाचन गरेका थिए। बालप्रतिभाहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र सिर्जनात्मक अभिव्यक्तिले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो। यसले नेपाली साहित्यको भविष्य नयाँ पुस्ताको सिर्जनशील हातमा सुरक्षित हुँदै गएको सुखद सङ्केतसमेत गरेको थियो।

त्यसैगरी साहित्यिक स्रष्टाहरू मोहन आचार्य ‘जलद’, अलिना सङ्ग्रौला,मनोज आचार्य,विज्ञान पौडेल,शशाङ्क शर्मा, केशव भट्टराईलगायतले आफ्ना मौलिक साहित्यिक रचनाहरू वाचन गर्नुभएको थियो। साथै महासङ्घकी कोषाध्यक्ष श्रीमती कल्पना दाहालज्यूले पनि आफ्ना मौलिक साहित्यिक सिर्जना वाचन गर्नुभएको थियो। उहाँहरूको सिर्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई थप साहित्यिक एवं भावपूर्ण बनाएको थियो।

कार्यक्रमकी प्रस्तोता श्रीमती सीता पौडेलज्यूले बीचबीचमा महाकवि देवकोटाका कालजयी कविताहरू सुमधुर लय र छन्दमा वाचन गर्नुभएको थियो। उहाँको कोकिलकण्ठी स्वर र काव्यात्मक प्रस्तुतिले सिङ्गो वातावरणलाई भावमय एवं काव्यमय बनाएको थियो।

त्यसैगरी दुईवटा गिनिज वर्ल्ड रेकर्ड कायम गर्न सफल तथा सगरमाथा आरोही श्री साजन डङ्गोलज्यूले आफ्नो जीवनानुभव सुनाउँदै मानिसले आफूभित्रको इच्छा,सपना र साहसलाई कहिल्यै मर्न दिन नहुने प्रेरणादायी जीवनदर्शन प्रस्तुत गर्नुभयो। उहाँको अनुभवले उपस्थित सबैमा सकारात्मक ऊर्जा र आत्मविश्वास थपेको थियो।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष एवं विश्व नेपाली साहित्य महासङ्घ मिडल्यान्ड शाखाका अध्यक्ष श्री भरतकुमार श्रेष्ठ ‘विवश’ज्यूले नेपाली साहित्यको आकाशमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले पुर्‍याउनुभएको अतुलनीय योगदानको संक्षिप्त चर्चा गर्नुभयो। उहाँले देवकोटाका सिर्जनाहरू केवल साहित्यिक सम्पदा मात्र नभई मानवता,स्वतन्त्र चेतना,समानता र मानवीय संवेदनाका अमूल्य निधि भएको उल्लेख गर्नुभयो। साथै कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि,साहित्यकार,स्रष्टा,अभिभावक तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दै आफ्ना साहित्यिक सिर्जना वाचनसमेत गर्नुभयो।

समग्रमा,उक्त कार्यक्रम महाकवि देवकोटाको साहित्यिक योगदानको स्मरणमा मात्र सीमित रहेन;पुस्तान्तरण हुँदै गएको नेपाली भाषा,साहित्य,संस्कृति र सिर्जनात्मक चेतनालाई प्रवासको भूमिमा जीवन्त राख्ने एउटा सुन्दर साहित्यिक सङ्गमका रूपमा स्थापित भयो।

भौगोलिक दूरीले मातृभूमिबाट टाढा पुर्‍याउन सक्ला,तर भाषा, साहित्य र संस्कृतिप्रतिको आत्मीयतालाई कहिल्यै टाढा बनाउन सक्दैन भन्ने सन्देशसहित कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भयो।

विश्व नेपाली साहित्य महासङ्घ
मिडल्यान्ड शाखा,बेलायत

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ