समाचार
|पोखरेली मञ्च यूकेद्वारा गण्डकी प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर केसीको सम्मानमा विशेष कार्यक्रम सम्पन्न|बर्न्ट ओकस्थित वाटलिङ कम्युनिटी सेन्टरमा मनाइयो ‘रिमेम्बरेन्स सन्डे’|बेलायतमा घरधनीहरूका लागि ‘रजिष्टर योर रेंटल प्रपर्टी’ नियम लागू हुँदै : कानुन पालना गर्न विज्ञहरूको आग्रह|बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासङ्घ,मिडल्यान्ड शाखा बेलायतद्वारा आयोजित ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयनती भब्य सम्पन्न|लन्डनस्थित नेपाली दूतावासमा गौतम बुद्धको प्रतिमा स्थापना|नागरिकताको फरक मागले प्रक्रिया जटिल बन्यो : मनिष झा|बेलायतमा ११७ औं महाकवि देवकोटा जयन्ती भव्य रूपमा मनाइयो|नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न इयुसंग पहल भैरहेको छ: मंत्री पौडेल|लन्डनमा “नर्थहोल्ट १०K रन” भव्य रूपमा सम्पन्न|एनआरएन नागरिकता सम्बन्धी कानून तीन महिना भित्रै बन्ने : सांसद झा

पोखरेली मञ्च यूकेद्वारा गण्डकी प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर केसीको सम्मानमा विशेष कार्यक्रम सम्पन्न

  शीतलपाटीन्युज डटकम | ३० कार्तिक २०८३, आईतवार १७:१७

शीतलपाटी संबाददाता,
फार्नबोरो,बेलायत,१४ नोभेम्बर २०२६।
पोखरेली मञ्च यूकेको आयोजनामा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री माननीय प्रकाशबहादुर केसीको सम्मानमा शनिबार बेलायतको फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा विशेष स्वागत,भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


बेलायतस्थित विभिन्न नेपाली सामाजिक संघसंस्थाका अध्यक्ष, पूर्वअध्यक्ष,पदाधिकारी,समाजसेवी तथा पोखरेली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रमले प्रवासी नेपाली समुदाय र नेपालका जनप्रतिनिधिबीचको आत्मीय सम्बन्ध तथा सामाजिक सहकार्यलाई थप प्रगाढ बनाएको थियो।

पोखरेली मञ्च यूकेका महासचिव बिक्रम भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा उहाँले प्रारम्भमा प्रमुख अतिथि माननीय प्रकाशबहादुर केसीको राजनीतिक तथा सामाजिक परिचय प्रस्तुत गर्दै सार्वजनिक सेवा,सामाजिक गतिविधि तथा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकासमा उहाँले पुर्‍याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो।

कार्यक्रममा तमुधीं यूकेका अध्यक्ष श्री जुमकाजी गुरुङले संस्थामार्फत नेपालमा सञ्चालन गरिएका विभिन्न सामाजिक तथा परोपकारी गतिविधिहरूको चर्चा गर्नुभयो। उहाँले प्रवासमा रहेका नेपालीहरूले आफ्नो जन्मभूमिप्रतिको माया र सामाजिक उत्तरदायित्वलाई निरन्तर व्यवहारमा उतार्दै आएको उल्लेख गर्नुभयो।

कार्यक्रममा एनआरएनए यूकेका पूर्वअध्यक्ष, तमुधीं यूकेका पूर्वअध्यक्षहरू, सहारा यूकेका पदाधिकारीहरू तथा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि माननीय प्रकाशबहादुर केसीले बेलायतस्थित नेपाली समुदायसँग भेटघाट र विचार आदानप्रदान गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले प्रवासी नेपाली समुदायले नेपाली भाषा, संस्कृति, सामाजिक एकता तथा जन्मभूमिप्रतिको सम्बन्धलाई जीवन्त राख्न निर्वाह गर्दै आएको भूमिकाको महत्त्वबारे चर्चा गर्नुभयो।

कार्यक्रममा पोखराको समग्र विकास, पर्यटन प्रवर्द्धन, सामाजिक सेवा तथा नेपाल र बेलायतबीचको सामुदायिक सहकार्यका विषयहरूमा समेत विचार आदानप्रदान भएको थियो।

पोखरेली मञ्च यूकेले अन्तर्राष्ट्रिय साझेदारका रूपमा सहकार्य गर्दै आएको पोखरा म्याराथनमा माननीय केसीले पुर्‍याउनुभएको सौजन्य सहयोगको समेत कार्यक्रममा स्मरण गरिएको थियो। खेलकुद र पर्यटनका माध्यमबाट पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्ता सहकार्यहरू महत्त्वपूर्ण हुने धारणा व्यक्त गरिएको थियो।

कार्यक्रममा माननीय केसीकी धर्मपत्नीको समेत गरिमामय उपस्थिति रहेको थियो।

पोखरेली मञ्च यूकेका अध्यक्ष श्री गंगा (पवित्र) गुरुङले माननीय प्रकाशबहादुर केसी तथा उहाँकी धर्मपत्नीप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारी, समाजसेवी, शुभेच्छुक तथा मञ्चका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

अध्यक्ष गुरुङले प्रवासमा रहेका पोखरेलीहरूबीच आपसी एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्नुका साथै जन्मभूमि पोखरासँगको सामाजिक,सांस्कृतिक तथा भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउँदै लैजान पोखरेली मञ्च यूके निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो।
उहाँले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरूका साथै गोर्खा प्यालेस रेस्टुरेन्टका सञ्चालक तथा समाजसेवी श्री सूर्य गुरुङप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो।

पूर्वमन्त्री केसीको कार्यकालका पाँच उल्लेखनीय कार्य-

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुहुँदा माननीय प्रकाशबहादुर केसीले सार्वजनिक सेवा सुधार, सडक पूर्वाधार विकास तथा विकास आयोजनाको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुभएको थियो। उहाँको मन्त्रालयले सार्वजनिक गरेको पहिलो सय दिनको प्रगति विवरणमा उल्लेख भएका पाँच महत्त्वपूर्ण कार्यहरू यस प्रकार रहेका छन्।
१. यातायात सेवा सुधार: कास्की, तनहुँ, बागलुङ र नवलपुरका यातायात कार्यालयहरूमा टोकन प्रणाली तथा हेल्प डेस्कको व्यवस्था गर्नुभयो।
२. सवारीचालक अनुमतिपत्र सेवा सहज: प्रयोगात्मक परीक्षाको नतिजा अद्यावधिक गर्ने समय घटाएर ७–१० दिनमा झार्ने व्यवस्था मिलाउनुभयो।
३. सडक पूर्वाधार विकास: पहिलो सय दिनमा १६.७ किलोमिटर सडक कालोपत्रे वा पक्की निर्माण, १९ किलोमिटर ढलान तथा करिब १२ किलोमिटर सडक स्तरोन्नति भएको प्रगति सार्वजनिक गर्नुभयो।
४. अवरुद्ध सडक पुनः सञ्चालन: पहिरोले अवरुद्ध कास्की र बागलुङका महत्त्वपूर्ण सडकहरू दशैँअघि सञ्चालनमा ल्याउन पहल गर्नुभयो।
५. विकास आयोजनामा सक्रियता: प्रदेशका ११ वटै जिल्लामा योजनाको अनुगमन गराउँदै पहिलो सय दिनमा ३८ आयोजना सम्पन्न भएको प्रगति सार्वजनिक गर्नुभयो।

मन्त्रालयको प्रगति विवरणमा समेटिएका यी कार्यहरूले उहाँको कार्यकालमा नागरिकमैत्री सेवा प्रवाह तथा भौतिक पूर्वाधार विकासलाई अघि बढाउन भएका प्रयासहरूलाई उजागर गर्दछन्।

पोखरेली मञ्च यूकेद्वारा आयोजित उक्त कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूको जन्मभूमिप्रतिको आत्मीयता, सामाजिक उत्तरदायित्व र सामुदायिक एकताको भावनालाई थप सुदृढ बनाउँदै नेपाल र बेलायतबीचको सामाजिक सम्बन्धलाई प्रगाढ बनाउने सन्देश दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ