समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

कुर्था–बिजुलपुरा रेलमार्ग निर्माण अन्तिम चरणमा

  शीतलपाटीन्युज डटकम | ७ पुष २०७९, बिहीबार १५:३८

काठमाडौँ-  जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत कुर्थाबाट बिजुलपुरासम्मको रेलमार्ग निर्माण लगभग सकिएको छ। सो खण्डमा आवासलगायतका थोरै निर्माण बाँकी रहेको र धेरै काम सकिएकाले भारतीय पक्षले हस्तान्तरण गर्न नेपाल सरकारलाई जानकारी गरेको रेल विभागले जनाएको छ।

भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने कुरा सुरु गरेको विभागका प्रवक्ता सिनियर डिभिजनल इञ्जिनियर अमन चित्रकारले बताए। ‘अब छिट्टै नै यो खण्ड सरकारलाई हस्तान्तरण हुन सक्छ,’ उनले भने।

बाँकी रहेका थोरै काम भारतीय पक्षले नै गर्ने प्रवक्ता चित्रकारले जानकारी दिए। पहिले हस्तान्तरण भएपछि नै बाँकी काम गरिसकिने उनको भनाइ छ। अहिले नै निर्माण शतप्रतिशत सकिएको नभए पनि जति संरचना सकिएको छ त्यो हस्तान्तरण गर्न भारतीय पक्षले भनेको उनले बताए। उनले भने, ‘हाम्रो तर्फबाट निर्णय भएपछि हस्तान्तरण हुनेछ।’

अहिले भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रेल सञ्चालनमा छ। रेलमार्ग हस्तान्तरण भएपछि महोत्तरीको बिजुलपुरासम्म नै रेल सञ्चालन गर्न सकिने प्रवक्ता चित्रकारले जानकारी दिए। अहिले नै कुर्थाबाट रेल बिजुलपुरासम्म जानसक्ने भइसकेको छ। रेल नियमितरूपमा बिजुलपुरासम्म सञ्चालन गर्न थप जनशक्ति आवश्यक हुनेछ।

भारतीय अनुदान सहयोगमा निर्माणाधीन सो रेलमार्गको मुख्य पूर्वाधारको काम सकिएको छ। बिजुलपुराबाट महोत्तरीको बर्दिवाससम्मको निर्माण पनि भारतीय पक्षले नै गर्नेछ।

कुर्थासम्म रेलको लाइन पुरानो नै भएकाले जग्गाको ठूलो समस्या नभए पनि बिजुलपुराबाट बर्दिवास खण्डमा जग्गा प्राप्ति गर्नुपर्ने रेल विभागले जनाएको छ। अहिले धेरै जग्गा प्राप्त भइसकेकाले निर्माणमा जान सकिने प्रवक्ता चित्रकारले जानकारी दिए।

भारतीय पक्षले कुर्थासम्मको खण्डमा पहिले रेलमार्ग भएकै ठाउँमा पुराना सबै पूर्वाधार हटाएर नयाँ निर्माण सुरु गरेको थियो। पहिले ‘न्यारो गेज’ मा निर्माण भएकामा अहिले ‘ब्रोड गेज’ मा निर्माण भएको हो।

यो रेलमार्ग निर्माणमा प्राविधिक र आर्थिक दुवै पक्ष भारतीय सहयोगमा भएको हो। हाल सञ्चालनमा रहेको रेल सेट भने नेपाल सरकारले भारतीय सरकारी कम्पनीसँग खरिद गरेको रेल विभागले जनाएको छ।

जयनगरबाट जनकपुर, कुर्था, बिजलपुरा हुँदै सो रेलमार्ग बर्दिवाससम्म पुग्नेछ। नेपाल सरकार आफैँले निर्माणअघि बढाइरहेको पूर्व–पश्चिम रेलमार्ग पनि बर्दिवास नै भएर अघि बढ्नेछ। यी दुवै रेलमार्ग बर्दिवासमै भेटिने गरी योजना बनाइएको छ।

पहिलो खण्डमा कुर्थासम्मको निर्माण सकिएपछि नै बिजुलपुरासम्मको निर्माण अघि बढाइएको थियो। यो खण्ड सकिएकाले अब बर्दिवाससम्मको निर्माण अघि बढाइने विभागले जनाएको छ। लामो समयसम्म जग्गा विवादकै कारण कुर्था–बिजुलपुरा रेलमार्ग निर्माण अघि बढ्न सकेको थिएन भने त्यो टुंगिएसँगै रेलमार्ग निर्माण गरिएको हो।

सन् २०१० मा तत्कालीन राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका क्रममा दुई देशका सीमा जिल्ला जोड्ने गरी पाँच ठाउँमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो। भारत सरकारको अनुदान सहयोगमा पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने भनिए पनि एउटा यो र अर्को जोगबनी–विराटनगर रेलमार्गमा मात्रै निर्माण भइरहेको छ। त्यसबाहेकका न्यू जलपाइगुडी–काँडडभिट्टा, नौतनवा–भैरहवा र रुपैडिया–नेपालगञ्ज क्षेत्रमा भने निर्माण सुरु हुन सकेको छैन।

नेपालमा राणाकालमै १९८४ तिर भारतको रक्सौलबाट नेपालको अमलेखगञ्ज तथा १९९४ तिर जयनगरबाट जनकपुरसम्म रेलसेवा थियो। त्यो बन्द भएको लामो समयपछि नयाँ प्रविधिको रेलमार्ग निर्माण गरिएको हो।

जयनगर–कुर्था रेल सञ्चालनकै लागि सरकारले दुई सेट रेल खरिद गरेको थियो। कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण झण्डै तीन वर्षपछि २०७८ चैत २१ गतेबाट सो रेलमार्ग सञ्चालन भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा रेलको भर्चुअल उद्घाटन गर्नुभएको थियो। अहिले रेल नियमित सञ्चालनमा छ।

कुर्थादेखि बिजुलपुरासम्म रेलमार्ग १७ किमी छ। जयनगरबाट बिजुलपुरासम्म रेलमार्ग निर्माण हुँदा जम्मा ५२ किमीमा रेल सञ्चालन हुनेछ। बर्दिवाससम्म नै खण्डमा निर्माण सकिँदा यो रेलमार्गको जम्मा लम्बाइ झण्डै ७० किमीको हुने बताइएको छ।

अहिले सरकारले आफ्नै लगानीमा पूर्व–पश्चिम रेलमार्ग अघि बढाइरहेको छ। अपर्याप्त बजेटका कारण निर्माणले गति लिइरहेको छैन। भारत सरकारले काठमाडौँ–रक्सौल र चीन सरकारले काठमाडौँ–केरुङ रेलमार्ग निर्माणमा चासो देखाएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ