समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

पहाडमा बाँझै छ खेत, तराईमा मासिँदै

  शीतलपाटीन्युज डटकम | ८ पुष २०७९, शुक्रबार १२:४९

दोधारा चाँदनी; पछिल्लो केही वर्षयता बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ।

अन्नभण्डारका रूपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ।

कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको कुल खेतीयोग्य जमिनको ५१ हजार २ सय ५० हेक्टर जग्गा बाँझो छ। पहाडी क्षेत्रबाट बसाइ सरेर आउने क्रम बढेका कारण कैलाली र कञ्चनपुरको खेतीयोग्य जमिन वस्तीमा रुपान्तरण हुँदै गएको छ।

उर्वर भूमिका रूपमा रहेको कञ्चनपुरमा कुल खेतीयोग्य जमिनको ३५ प्रतिशतमा मात्रै खेती हुने गरेको छ। कृषि ज्ञान केन्द्र महेन्द्रनगरका अनुसार कञ्चनपुरमा १ लाख ६१ हजार ७ सय ४१ हेक्टर जमिन खेतीयोग्य छ। यसमध्ये ५६ हजार ६ सय २ हेक्टरमा मात्रै खेती हुने गरेको छ।

कैलालीमा ९० हजार हेक्टर जमिन खेतीयोग्य रहेकामा ८६ हजार ४ सय ५० हेक्टर जमिनमा मात्रै खेती हुने गरेको छ।
त्यसैगरी पहाडी जिल्लामा कुल खेतीयोग्य जमिन ५६ हजार ३ सय ४७ हेक्टर छ। यसमा ४२ हजार ४ सय १३ हेक्टरमा मात्रै खेती भइरहेको निर्देशनालयले जनाएको छ।

त्यसै गरी डोटीमा ३२ हजार २ सय ७६ हेक्टर कुल खेतीयोग्य जमिन रहेकामा २५ हजार ५ सय हेक्टरमा मात्रै खेती भइरहेको छ। डडेल्धुरामा ११ हजार ६ सय १६ हेक्टर जमिन खेतीयोग्य रहेकामा १० हजार ६ सय ६७ हेक्टरमा खेती भइरहेको छ।

बैतडीमा ३१ हजार ४ सय ८५ हेक्टर खेतीयोग्य जमिन रहेकामा २५ हजार ७ सय हेक्टर जमिनमा मात्रै खेती भइरहेको छ। त्यसै गरी खाद्यान्न अभाव हुने जिल्ला बाजुरामा २४ हजार ३ सय हेक्टर मात्रै खेतीयोग्य जमिन रहेकामा २० हजार १ सय ५५ हेक्टरमा मात्रै खेती भइरहेको छ।

यस्तै ३४ हजार ६ सय ७ हेक्टर जमिन खेतीयोग्य रहेको बझाङमा २८ हजार २ सय १४ हेक्टरमा मात्रै खेती भइरहेको छ। त्यसै गरी दार्चुलामा २९ हजार ५ सय ४४ हेक्टर जमिन खेतीयोग्य जमिन रहेकामा २२ हजार ८ सय २५ हेक्टरमा मात्रै खेती भइरहेको छ। निर्देशनालयको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशको कुल खेतीयोग्य जमिनको ५६ प्रतिशतमा मात्रै पूर्ण रूपमा सिँचाइ सुविधा रहेको छ।

निर्देशनालयका कृषि अर्थविज्ञ टेकेन्द्र ऐरले सुदूरपश्चिमका पहाडी जिल्लामा खेतीयोग्य जग्गा बाँझो रहेको र तराईमा खण्डीकरण भइरहेको बताए।

‘सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका दुई जिल्लाको उत्पादनले अन्य सात जिल्लाको खाद्यान्न धान्छ। यी जिल्लामा खेतीयोग्य जमिन कम हुँदै जानु विडम्बना हो,’ उनले भने। उनले यो समस्या न्यूनीकरणका लागि तीनवटै तहका सरकारले मिलेर एउटा विशेष संयन्त्र बनाएर काम गर्नुपर्ने बताए।

कृषि ज्ञान केन्द्र महेन्द्रनगरका कृषि अधिकृत हरिदत्त जोशीले बसाइँसराइका कारण तराईका जिल्लामा हरेक वर्ष ५र१० प्रतिशत खेतीयोग्य जमिन घट्दै गएको बताए। ‘धेरै ठाउँमा घर बनेका कारण खेतीयोग्य जमिन घटेको छ केही ठाउँमा नदी कटानले पनि घटेको छ,’ उनले भने।

माटो बचाउ अभियानका संयोजक हेमबाबु लेखकले पहाडी क्षेत्रबाट तराईमा बसाइँसराइ गर्ने परम्पराले खेतीयोग्य जग्मा मासिन थालेको बताए। उनी भन्छन्, ‘पहाडी क्षेत्रको उर्बरभूमि बाँझो छोडेर तराईमा बसाइँ सरी चामल किनेर खाने परम्परा बढ्दै गएको छ।’

बैतडीको पाटन बहुमुखी क्याम्पसका ग्रामीण विकासका प्राध्यापक ज्योतिप्रकाश पन्त पहाडी क्षेत्रमा जग्गा बाँझो रहने समस्या बढ्नुमा कृषिप्रति युवाको रुचि नहुनु र कृषिबाट आशातीत प्रतिफल नआउनुलाई मुख्य कारण मान्छन्।

उनी पछिल्लो समय युवा विदेश जाने मोहका कारण पनि खेतीयोग्य जमिन बाँझो हुने गरेको तर्क गर्छन्। सरकारले पनि जग्गा धितो राखेर दिने ऋण सुविधा सहज रूपमा प्रवाह हुन नसक्दा पनि कृषक निराश भएको उनको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ