समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

मध्यपहाडी लोकमार्ग : हिउँदमा धुलो, बर्खामा हिलाम्य

  शीतलपाटीन्युज डटकम | २८ चैत्र २०७९, मंगलवार १५:४४

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रयाक खुलेको साढे दुई दशक बितिसक्यो।

यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन। हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीय विस्थापित हुनुपरेको छ भने यात्रु आजित बनेका छन्।

करिब २६ किलोमिटर लामो यस खण्डमा पछिल्लो समय उपल्लाचौर–अक्षते क्षेत्रमा भने धमाधम काम भइरहेको छ। माथिल्लो बिहुँ खण्डमा भने काम हुन सकेको छैन। लोकमार्ग कार्यालयले बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का दिएको छ।

दुई खण्डमा कालोपत्रका लागि २०७२/७३ मा सम्झौता भएको थियो। हालसम्म १२ किलोमिटर सडक कालोपत्र भए पनि अझै १३ किलोमिटर सडक बाँकी नै छ।

बिहुँ र अक्षते खण्डको काम गर्ने असारसम्म छ। बिहुँमा सुस्त गतिमा काम हुँदा समयमै सकिने अवस्था छैन। बागलुङदेखि खहरेसम्म केही समय अघि सडक कालोपत्र गरिएको थियो भने हाल खहरेदेखि अक्षतेसम्म काम भइरहेको छ। उक्त खण्डमा चौडा गर्ने, नाली व्यवस्थापन र अलकत्रा बिछ्याउने काम भइरहेको छ।

‘हिउँदमा धुलो र बर्खामा हिलो घरभित्र पस्छ,’ बागलुङ नगरपालिका–३ खहरेका जंगबहादुर कार्कीले भने, ‘सडकमा पानी हाल्दाहाल्दैमा अधिकांश समय बित्छ।’

माथिल्लो खण्डमा कामलाई तीव्रता दिन स्थानीयले माग गरेका छन्। सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग सम्झौता भएको एक दशक बित्नै लाग्यो। पटक–पटक म्याद थप गर्ने गरिएको छ। निर्माण कम्पनीको ढिलासुस्तीले काम सम्पन्न हुन नसकेको स्थानीय वीरबहादुर विकले बताए। ‘सडक छेउछाउ घर बनाउने क्रम बढे पनि धुलो र हिलोले सास्ती भएको छ,’ उनले भने।

लोकमार्गको कुल एक हजार सात सय ७६ किलोमिटर क्षेत्र मध्ये बागलुङ खण्ड एक सय ४२ किलोमिटर लामो छ। निसीखोला क्षेत्रमा दुई वर्ष अघि सडक कालोपत्र भइसकेको छ।

घोडाबाँधेदेखि गलकोट हटियासम्मको सडक एक दशकअघि नै कालोपत्र गरिएको थियो। उक्त खण्डको हाल मर्मतसम्भार हुँदैछ। असार मसान्तसम्म सबै काम सम्पन्न हुने लोकमार्ग आयोजना कार्यालय, पर्वतका सूचना अधिकारी मिलन श्रेष्ठले बताए। ‘काम नसकिए ठेक्का रद्द हुन्छ,’ उनले भने।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ