शीतलपाटीन्युज डटकम।
अमेरीका। बौद्ध भिक्षुहरूको एक समूहले संयुक्त राज्य अमेरिकामा चार महिनासम्म पैदल यात्रा गर्दै ३,२०० किलोमिटर लामो ‘शान्ति पदयात्रा सफलतापूर्वक सम्पन्न गरेको छ। “वाक फर पीस” नाम दिइएको उक्त पदयात्रा गत वर्ष अक्टोबर २६ मा टेक्ससबाट सुरु भई जनवरी १० मा वाशिङ्टन डीसीमा पुगेर टुंगिएको थियो। यात्रामा १९ जना भिक्षु सहभागी थिए।
विश्वभरका विभिन्न थेरवादी बौद्ध मन्दिरबाट आएका भिक्षुहरूले १०८ दिनसम्म निरन्तर हिँडेर अमेरिका तथा विश्वभर शान्ति,दयाभाव र करुणा फैलाउनुपर्ने सन्देश दिएका छन्। बाटोमा कहिलेकाहीँ उनीहरू खाली खुट्टा हिँडे भने कतिपय स्थानमा हिउँ परेको कठोर मौसमको सामना गर्नुपरे पनि यात्रा परित्याग गरेनन्।
अमेरिकामा राजनीतिक ध्रुवीकरण उत्कर्षमा पुगेको समयमा आयोजित यस पदयात्राले लाखौँ अमेरिकीहरूको ध्यानाकर्षण गरेको बताइएको छ। आयोजकहरूका अनुसार यात्राको उद्देश्य कुनै राजनीतिक पक्ष लिनु नभई सामाजिक सद्भाव,सहअस्तित्व र करुणाको सन्देश फैलाउनु थियो।
भिक्षुहरूले यात्राका क्रममा स्थानीय समुदायसँग अन्तरक्रिया गर्दै ध्यान,प्रवचन र शान्ति सन्देशसम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन गरेका थिए। सहभागीहरूले पदयात्रालाई आध्यात्मिक साधना र सामाजिक चेतनाको अभियानका रूपमा लिएको बताएका छन्।
टेक्ससदेखि वाशिङ्टनसम्मको यो लामो यात्राले धार्मिक सहिष्णुता, आपसी सम्मान र मानवीय मूल्यहरूलाई पुनः स्मरण गराएको आयोजकहरूको विश्वास छ। शान्ति पदयात्राले विभाजित समाजमा एकताको सन्देश दिन महत्वपूर्ण भूमिका खेलेको उनीहरूको दाबी छ।
प्रतिक्रिया