समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

बाँदरको आतंक हटाउन कागती खेती

  शीतलपाटीन्युज डटकम | २ कार्तिक २०७९, बुधबार १५:५३

सिन्धुपाल्चोक– विभिन्न खाद्य तथा नगदे बालीलाई बाँदरले खान थालेपछि सिन्धुपाल्चोकका किसानले वैकल्पिक खेतीको सुरु गरेका छन्।

बाँदर आतंकबाट परम्परागत बाली जोगाउन नसकेपछि किसानले यसको विकल्पमा कागती, किवी, तथा चिया खेती गर्न थालेका हुन्।

किसानले लगाएको बाली जोगाउन नसकेपछि बाँदरलाई झुक्याउँदै वैकल्पिक खेती गर्ने किसानको संख्या बढ्दो छ। खाद्य तथा फलफूल उत्पादन हुने बेलामा बाँदरबाट जोगाउन मुस्किल हुन थालेपछि जिल्लाका सबै स्थानीय तहमा रहेका किसानले वैकल्पिक खेती अपनाउन थालेका हुन्।

यसअघि धान, मकै, कोदोलगायत फलफूल लगाइने ठाउँमा किसानले किवी, कागती, चिया र टिम्मुरलगायत रोप्न थालेका छन्। वैकल्पिक खेतीप्रति चासो नदिएका किसान सरकारले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति ल्याएसँगै यसतर्फ लागेका हुन्।

बाँदरले सताएपछि हेलम्बु गाउँपालिका ४ गैँटारका किसानको बाँझो बसेको झण्डै चार सय रोपनी खेतीयोग्य जमिनमा अहिले कागती खेती गरिएको छ।

मलिलो जमिन, सिँचाइको व्यवस्था, राम्रो उत्पादन हुने गरे पनि उत्पादन बाँदरले खाइदिँदा किसानले उपभोग गर्न पाउँदैन थिए। ‘बाँदरले धेरै नै दुःख दिएपछि परम्परागत अन्नबालीको विकल्पमा हेलम्बुका किसानले व्यावसायिक कागती खेती सुरु गरेका छन्,’ स्थानीय किसान हरिकृष्ण लामिछानेले भने, ‘धान, मकैजस्ता खाद्य बाली बाँदरकै कारण संरक्षण गर्न सकिएन।’ उनले अहिले भने किसानले बाँदरलाई झुक्याउन सफल भएको बताए। कागती खानका लागि बाँदर नआएको हैन। निकै कडा र अमिलो हुने भएपछि बाँदर कागती खान आउन छाडेको उनको भनाइ छ।

कागतीको बोटमा केही काँडासमेत हुने हुँदा बाँदर घाइते हुने गरेपछि कागती खान बाँदर नआउने गरेको हो। घर आसपासका जमिनमा खेतीपाती गरे पनि टाढाका खेतबारीमा बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्ने हुँदा कागती खेतीको सुरु गरिएको अर्का स्थानीय लालनाथ लामिछानेले बताए।बाँदरकै कारण बाँझो राख्नुपरेको १२ रोपनी आफ्नो जमिनमा तीन सय बोट कागतीको बिरुवा रोपेको उनले बताए।

घर आँगनसम्मै बाँदर आएर दुःख दिएपछि पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कका किसानले पनि सामूहिक चिया खेतीको सुरुआत गरेका छन्।

परम्परागत खेतीमा बाँदर लाग्न थालेपछि चिया खेती सुरु गरिएको मन्जुश्री चिया, कफी, अलैँची उत्पादक कृषक समूहका अध्यक्ष रेक्पा तामाङको भनाइ छ। ‘चियामा फल हुँदैन, पात टर्रा हुने भएपछि बाँदर लाग्दो रहेनछ,’ उनले भने ।

पाँचपोखरी थाङ्पालजस्तै चौतारा साँगाचोकगढी नगरपालिकाको ओखरेनी, भोटेकोसी गाउँपालिकाको लिस्ती, मेलम्ची नगरपालिकाको भोटेचौर, हैबुङमा चिया खेती विस्तार गरिएको छ।

इन्द्रावती गाउँपालिका–१ ठूलो ओखरेनीकी शान्ता शेर्पाका अनुसार बाँदरले हैरानी गरेपछि गाउँभर किवी खेती लगाउन सुरु गरिएको छ। समुद्री सतहबाट झण्डै दुई हजार पाँच सय मिटरको उचाइमा पर्ने यो गाउँमा उत्पादित आलु, मुला अहिले लोप भइसकेको अवस्था छ। यहाँका आलु, मुला सदरमुकाममा मात्रै नभई राजधानीसम्म खपत हुन्थ्यो।

‘बाँदरले जमिन खनेर भए पनि आलु, मुला खान थालेपछि यहाँका बासिन्दाले लगाउनै छाड्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘बाँदरबाट जोगाउन अहिले सबैले किवी खेती गरेका छन्।’ उनका अनुसार किवीलाई बाँदरले खाँदैन। किवीको फलको बाहिरी भाग निकै खस्रो हुन्छ। झुस हुन्छ। जसले बाँदरलाई चिलाउने समस्याले सताउँछ। काँचोमा निकै टर्रा र अमिलो हुने हुँदा किवीको फल खान बाँदर नआउने गरेको उनले बताए।

अहिले किवी मेलम्ची, भोटेचौर, हैबुङ, चौतारा, ठूलोओखरेनी, हेलम्बु, लिस्तीलगायतका ठाउँका किसानले व्यावसायिक खेती गरिरहेका छन्। सदरमुकाम चौतारावासी पनि बाँदरको समस्याबाट ग्रस्त छन्। यहाँका किसानले भने किवी, चिया उचाइका कारण नहुने भएपछि टिम्मुर खेतीको सुरुआत गर्न थालेका छन्।

टिम्मुरको बोटमा काँडा हुने हुँदा बाँदर नलाग्ने भएपछि यो खेतीको सुरुआत गर्न लागिएको नेत्र बस्नेतको भनाइ छ। सरकारले बाँदरलगायत वन्यजन्तु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याउन सकिरहेको छैन।

बाँदर नियन्त्रण भएमा जमिन बाँझो हुने समस्या घट्ने, गाउँमै रोजगारीको वातावरण सिर्जना हुने र किसानको आयमा वृद्धि हुने स्थानीयवासी बताउँछन्।

बाँदरले दुःख दिएपछि अघिल्लो आर्थिक वर्षमा जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि गाउँ सभाबाट बजेट विनियोजनसमेत गरेको थियो। पालिकाको वडा नं ३ मा बाँदर नियन्त्रण भनी पाँच लाख विनियोजन गरिएको हो तर नियन्त्रण भने हुन सकेको छैन।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ