GNNNEWS-
नयाँ दिल्ली — नेपाल र भारतका नीतिनिर्माता,कूटनीतिज्ञ तथा प्रविधि क्षेत्रका अगुवाहरू नयाँ दिल्लीस्थित नेपाली दूतावासमा भेला भई डिजिटल सार्वजनिक पूर्वाधार,साइबर सुरक्षा,फिनटेक,कृत्रिम बुद्धिमत्ता र स्टार्टअप लगानी क्षेत्रमा सहकार्यलाई गहिरो बनाउने उद्देश्यसहित‘डिजिटल इनोभेसन करिडोर’ को रूपरेखा तयार गरेका छन्।
नेपाल–भारत टेक फोरमले सरकारी अधिकारी,नियामक निकायका प्रतिनिधि,लगानीकर्ता तथा निजी क्षेत्रका नेतृत्वकर्ताहरूलाई एउटै मञ्चमा ल्याई सद्भावनालाई संरचित सहकार्यमा रूपान्तरण गर्ने लक्ष्य राखेको थियो। सहभागीहरूले नेपालमा तीव्र गतिमा विस्तार भइरहेको प्रविधि इकोसिस्टम र भारतको विशाल डिजिटल पूर्वाधारलाई आपसी सहकार्यमार्फत मात्र प्रभावकारी रूपमा उपयोग गर्न सकिनेमा जोड दिए।
कार्यक्रमको उद्घाटन सम्बोधन गर्दै भारतका लागि नेपालका राजदूत डा.शंकर शर्माले दुई छिमेकी राष्ट्रबीचको आर्थिक साझेदारी सुदृढ बनाउन गहिरो डिजिटल सहकार्य अत्यन्त महत्वपूर्ण रहेको बताए। त्यस्तै नेपालका लागि भारतका पूर्व राजदूत मनजीव सिंह पुरीले नेपालमा विस्तार भइरहेको सूचना प्रविधि प्रतिभा र सहायक नीतिगत वातावरण भारतको डिजिटल पूर्वाधार र विशाल बजारसँग पूरक हुने उल्लेख गर्दै अहिले प्रविधि आधारित एकीकरणका लागि महत्वपूर्ण अवसर सिर्जना भएको बताए।
टेक फोरममा मुख्य विषयगत प्रस्तुति दिंदै बेलायतमा मुख्यालय रहेको सूचनाप्रविधि सम्बन्धी परामर्शदातृ कम्पनी,जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँल, ले तीन स्तम्भमा आधारित डिजिटल इनोभेसन करिडोरको खाका सार्वजनिक गरे।
पहिलो स्तम्भ अन्तर्गत सीमापार भुक्तानी प्रणाली र खुला वाणिज्य प्रणालीको समन्वय,डिजिटल पहिचान र सहमति ढाँचा,सुरक्षित डाटा आदान–प्रदान प्रणाली तथा समन्वित क्लाउड आधुनिकीकरण समेटिएको छ। दोस्रो स्तम्भमा संयुक्त साइबर सुरक्षा मापदण्ड, साझा लचकता अभ्यास र ‘साइबर ट्रस्ट कम्प्याक्ट’को अवधारणा प्रस्ताव गरिएको छ। तेस्रो स्तम्भमा नेपाली स्टार्टअपहरूलाई भारतमा विस्तार गर्न संरचित मार्ग तयार गर्ने, भेन्चर क्यापिटल सञ्जाल र एक्सेलरेटरसँग जोड्ने तथा कर्पोरेट इनोभेसन साझेदारीलाई सहज बनाउने योजना समावेश गरिएको छ।
“भूगोलले छिमेकी भए पनि नेपालले चुस्तता र इन्जिनियरिङ गहिराइ ल्याउँछ,भारतले आकार र संस्थागत परिपक्वता ल्याउँछ। यदि हामीले केवल अभिप्राय होइन,कार्यान्वयनलाई समन्वय गर्न सके दक्षिण एशियाभर सुरक्षित,अन्तरसञ्चालनयोग्य र विस्तारयोग्य डिजिटल प्रणाली निर्माण गर्न सक्छौं,”युके तथा आयरल्याण्डका लागि अमेजन वेब सर्भिसेज (एडब्लुएस)एम्ब्यासडर समेत रहेका फुयाँलले भने।
प्रस्तावलाई कार्यान्वयनमा रूपान्तरण गर्न फुयाँलले आगामी ९० दिनभित्र डीपीआई इन्टरअपरेबिलिटी ल्याब,साइबर ट्रस्ट कम्प्याक्ट र स्टार्टअप ल्यान्डिङ प्याड सुरु गर्न सिफारिस गरे। उनले प्रत्येक पाइलट परियोजनामा स्पष्ट स्वामित्व,नियामकीय समन्वय,समयसीमा र मापनयोग्य सफलता सूचक आवश्यक हुने उल्लेख गर्दै प्रारम्भिक कार्यान्वयनले नै करिडोरलाई सञ्चालनयोग्य ढाँचामा रूपान्तरण निर्धारण गर्ने बताए।
फोरमका सहभागीहरूले करिडोरको सफलताका लागि अनुशासित कार्यान्वयन र नीतिगत समन्वय अपरिहार्य रहने स्वीकार गरे। उनीहरूले फिनटेक एकीकरण,कृत्रिम बुद्धिमत्ता शासन,क्लाउड लचकता,प्रतिभा आवागमन तथा डाटा संरक्षण र डिजिटल व्यापारको समन्वित ढाँचामा सहकार्यका अवसरहरू पहिचान गरेका छन्।
फोरममा करिडोर प्रस्तावलाई ठोस कार्ययोजनामा रूपान्तरण गर्ने प्रतिबद्धतासहित यस सहकार्यले दक्षिण एशियाका अन्य अर्थतन्त्रहरूका लागि नमूना मोडलको रूपमा काम गर्न सक्ने विश्वास व्यक्त गरिएको थियो।
पीएचडी च्याम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज तथा जेनेस सलुशनसंगको सहकार्यमा नयाँ दिल्लीस्थित नेपाली दूतावासले उक्त फोरम आयोजना गरेको थियो।
प्रतिक्रिया