शीतलपाटीन्युज डटकम।
काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले आइतबार राती करिब ११ बजे पक्राउ गरेको छ।
एमालेबाट निर्वाचित सांसद शर्माले नाबालिकालाई घरेलु श्रममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप छ । प्रहरीले सांसद शर्मालाई पक्राउ गरी बालबालिका सम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।
२०८१ जेठ १४ गते महानगरपालिकाको टोलीले गरेको सर्भेका क्रममा उनको घरबाट एक बालिकाको उद्धार गरिएपछि यो विषय चर्चामा आएको थियो। सर्भेका क्रममा ती बालिकाले आफू निरन्तर हिंसामा परेको बताएपछि महानगरले उनलाई उद्धार गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा यो घटनाको २०८१ जाहेरी जेठ ३० गते दर्ता भएको थियो। यद्यपि,शर्मालाई सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने तयारी गर्याे।
शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय,काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयसम्म पुग्यो। सो बेला काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले फेसबुकमा स्ट्याटस लेख्दै समय आएपछि कुकर्म गर्नेहरूलाई तह लगाउने बताए।
उनले लेखेका थिए,‘सरी नानु,तिम्रा पीडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनु समय आउनेछ। यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नपर्छ ।’
प्रतिक्रिया