शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। प्रतिनिधिसभाको सभामुख पदमा सांसद डीपी अर्याल निर्विरोध निर्वाचित हुने निश्चित भएको छ। मनोनयन दर्ताको निर्धारित समयमा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनको चयन पक्का भएको हो। औपचारिक घोषणा भने अब बस्ने प्रतिनिधिसभा बैठकमा गरिनेछ।
सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो। सो अवधिमा अन्य कुनै उम्मेदवार नपरेपछि अर्याल एक्ला उम्मेदवार बने। प्रतिनिधिसभा नियमावलीअनुसार एक जनाको मात्रै उम्मेदवारी परेको अवस्थामा बैठकमा प्रस्तावक र समर्थकले बोलेपछि अध्यक्षता गर्ने व्यक्तिले निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ।
घोषणा अब आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा हुने तय भएको छ। प्रतिनिधिसभामा स्पष्ट बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनका कारण प्रतिपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी दिएका थिएनन्। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका मात्रै १८२ सांसद रहेका छन्।
सभामुख चयनसँगै अब उपसभामुख पदको निर्वाचन प्रक्रिया अघि बढ्नेछ। उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुनेछ। संसद् सचिवालयका अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने प्रावधान भए पनि एकल उम्मेदवारी परेको अवस्थामा सो प्रावधान लचक हुन सक्ने व्यवस्था छ।
उपसभामुख कसले पाउने भन्ने विषयमा भने हालसम्म कुनै ठोस छलफल भएको छैन। प्रतिनिधिसभामा रहेका विभिन्न दलबीच यस विषयलाई चासोका साथ हेरिएको छ।
निर्वाचित भएपछि सभामुखले पद तथा गोपनीयताको शपथ राष्ट्रपतिसमक्ष लिनुपर्ने हुन्छ। सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्का सदस्य हुने भएकाले उपसभामुखको चयनलाई समेत राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।
(हिमाली पत्रीकाबाट)
प्रतिक्रिया