GNNNEWS
लन्डन – काठमाडौँस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले बेलायतका विभिन्न स्थानमा ध्यान शिविर सन्चालन गरेका छन्।
गत साता लन्डन आइपुगेका स्वामी अर्हतले आइतबार बिहान साउथ ह्यारोस्थित नर्थोल्ट कम्युनिटी हलमा योग तथा ध्यान सत्र संचालन गरे।

उनले स्वस्थ र सन्तुलित जीवन शैली निर्वाह गरेर तनावबाट मुक्त हुन सकिने जनाए। उनले बेलायतमा बस्दा उपलब्ध सुविधालाई सदुपयोग गर्दै जीवनमा अन्तरिक शान्ति,सुख र आनन्द प्राप्त गर्न हरेक दिन आफ्नो लागि समय छुट्याउन सुझाव पनि दिए। कार्यक्रमको आयोजक
नेप्लिज ब्रिटिश कम्युनिटी युकेका अध्यक्ष समिरनाथ प्याकुरेलले स्वामी अर्हतलाई धन्यवाद दिंदै बेलायतको व्यस्त जीवनमा योग र ध्यान अनिवार्य बनी सकेको जनाए।
स्वामी अर्हतले मे १६ तारिख (शनिबार) डार्टफोर्ड हिन्दु मन्दिरमा योग तथा ध्यान शिविर संचालन गरेका थिए। त्यस्तै उनले मे १८ तारिख (सोमबार) एभरेष्ट कुजिन,साउथ हयाम्प्टनमा एक दिवसीय ध्यान शिविर संचालन गरे ।
ती सत्रहरुमा स्वामी अर्हतले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताए। “जेनरेशन ग्याप के हो? हामीलाई बच्चाहरुसंग कुरा गर्न किन गाह्रो हुन्छ? त्यसको जग के हो र हामीले कसरी आफ्नै छोरा छोरीसंग संवाद गर्ने कला सिक्न सक्छौं?” जस्ता विषयहरुमा उनले प्रकाश पारेका थिए।
स्वामी अर्हतले आगामी शुक्रबार २२ मेदेखि २५ मेसम्म मूर् हल, मेडनहेडमा चार दिवसीय ध्यान शिविर संचालन गर्ने ओशो आनन्दबोधी ध्यान केन्द्रका संयोजक स्वामी ध्यान शंकरले बताए । ५० जना भन्दा बढी साधकहरुले उक्त आवासीय शिविरमा भाग लिने उनले जनाए।
उक्त आवासीय शिविरमा स्वामी अर्हतले छोरा छोरी र अभिभावकलाई संगै राखेर ध्यान सत्र चलाउने कार्यक्रम छ। घरमा दुइ पुस्ताबीच कसरी समझदारी ल्याउने,घरमै कसरी मोबाइल डिटक्स गर्न सकिन्छ,हाल उपलब्ध भौतिक सुविधाको आधारमा कसरी आफ्नो आत्मिक शान्ति,भित्री खोज र रुपान्तरण गर्दै लाने भन्ने कुरा पनि उनले बताउने छन्।
ओशो तपोवनका संस्थापक बोधिसत्त्व स्वामी आनन्द अरुणका निकट सहयोगी स्वामी आनन्द अर्हतले गत १९ वर्षदेखि बेलायतमा ध्यान शिविरहरु सञ्चालन गर्दै आएका छन्।
प्रतिक्रिया