शीतलपाटीन्युज डटकम।
एबर्डिन,स्कटल्याण्ड। एबर्डिनमा बसोबास गर्दै आएका नेपाली चेलीहरू चन्द्रा श्रेष्ठ र श्रुति श्रेष्ठले एबर्डिन हिन्दु मन्दिरको सहयोगार्थ यहि शनिवार आयोजित एबर्डिन फुड मेलामा परम्परागत नेपाली परिकार सेलरोटी बिक्री गरी दुई घण्टामै ४०० पाउण्ड संकलन गरेका छन्।श्रेष्ठद्वयले यसअघि आयोजित फुड मेलामा पनि नेवारी परिकार बिक्री गरी मन्दिरलाई आर्थिक सहयोग प्रदान गरेका थिए। नेपाली संस्कृति र परम्परागत खानाको प्रवर्द्धनसँगै सामाजिक तथा धार्मिक कार्यमा निरन्तर योगदान दिँदै आएको प्रयासलाई सहभागीहरूले प्रशंसा गरेका छन्।

एबर्डिन हिन्दु मन्दिरद्वारा आयोजित फुड मेलामा विभिन्न देश तथा क्षेत्रका परिकारका स्टलहरू राखिएका थिए। अपराह्न ४ बजेदेखि सुरु भएको मेलामा चन्द्रा र श्रुति श्रेष्ठले सेलरोटी,अचार तथा नेपाली चिया बिक्रीका लागि स्टल सञ्चालन गरेका थिए।

नेपाली स्वादका परिकारप्रति सहभागीहरूको आकर्षण उल्लेखनीय देखिएको थियो। विशेषगरी सेलरोटीप्रति दर्शक तथा सहभागीहरूको उत्साह उच्च रह्यो। मेलामा आएका आगन्तुकहरूले नेपाली परिकारको स्वाद लिन उत्साहपूर्वक सहभागिता जनाएपछि स्टलमा राखिएका सम्पूर्ण खाद्य सामग्री दुई घण्टाभित्रै बिक्री भएका थिए।

सेलरोटी,अचार र नेपाली चिया बिक्रीबाट संकलित £४०० रकम कार्यक्रमस्थलमै एबर्डिन हिन्दु मन्दिरको कोषमा हस्तान्तरण गरिएको थियो।एबर्डिन हिन्दु मन्दिर ट्रस्टका पूर्व सचिव तथा समाजसेवी डा.नारायण श्रेष्ठले नेपाली परम्परागत खानाको लोकप्रियताले स्थानीय समुदायमा नेपाली संस्कृति चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

उहाँले यस्ता कार्यक्रमले नेपाली समुदाय र स्थानीय समाजबीच सांस्कृतिक आदानप्रदान तथा आपसी सद्भाव बढाउन समेत सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।एबर्डिन हिन्दु मन्दिरका धार्मिक,सांस्कृतिक तथा सामाजिक गतिविधिहरूमा नेपाली समुदायको सक्रिय सहभागिता रहँदै आएको छ।
।- प्रकाश अर्याल
प्रतिक्रिया