GNNNEWS-
नटिङहम- बेलायतको मिडल्यान्डस्थित नटिङहममा चौथो मिडल्यान्ड नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ। नेपाली समाज नटिङहमले स्थानीय एक दर्जन बढी नेपाली संघसंस्थासंगको सहकार्यमा स्थानीय मेलवर्न पार्कमा गत सोमबार आयोजित मेलाको बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी,समाजका अध्यक्ष लोकनाथ अधिकारी र संस्थापक अध्यक्ष रणबहादुर खाती क्षेत्रीले संयुक्त रुपमा उद्घाटन गरे।

आफ्नो शुभकामना मन्तव्यमा कार्यवाहक राजदूत दुवाडीले बेलायतवासी नेपालीहरुलाई एक ठाउँमा भेला गराइ उनीहरुबीचको सद्भाव बढाउन तथा बेलायतमा नेपाल र नेपालीपन प्रवर्द्धन गर्न मेलाले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले मिडल्यान्ड र सिंगो बेलायतका नेपालीले व्यक्तिगत र संस्थागत दुवै माध्यमबाट नेपालको प्रवर्द्धन गरिरहेकोमा हार्दिक प्रशंसा गर्दै आयोजक संघ संस्थालाई धन्यवाद पनि दिए। आउँदा दिनमा मेलालाई नेपाली समुदायमा मात्र सिमित नगरी बेलायती र गैरनेपाली समुदायलाई पनि सहभागी गराउन कोशिस गर्न उनले सुझाव दिए।

गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले मेलाले बेलायतमा नेपालीपनको प्रवर्द्धन गरेको जनाउंदै यस्ता कार्यक्रमहरुमा संघको सधैं ऐक्यबद्धता र सहकार्य रहने बताए। उनले एनआरएन नागरिकताको पूर्ण कार्यान्वयनका साथै वंशजको नेपाली नागरिकताको निरन्तरता गर्न नेपाल सरकार संग माग पनि गरे।
तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले नेपाली कला,संस्कृति, भेषभूषा र परम्परा जगेर्ना गर्ने कार्यमा मेला सफल बनेको बताए। सन् २००९ देखि लन्डनमा हुंदै आएको नेपाली मेलाको आयोजक संस्थाका अध्यक्ष गुरुङले आफूहरुको अनुभव र सिकाइ अरु नेपाली समुदायसंग शेयर गर्न समेत आफूहरु इच्छुक रहेको जनाए। एनआरएनए अभियन्ता दयानिधि सापकोटाले मिडल्यान्डको सिंगो नेपाली समुदाय एकजुट बनेर आउँदा वर्षहरुमा मेलालाई थप बृहद र प्रभावकारी बनाउनुपर्ने धारणा राखे।
आयोजक नेपाली समाज नटिङहमका अध्यक्ष लोकनाथ अधिकारीले चार वर्षअघि शुरु भएको मिडल्यान्ड नेपाली मेला चौंथो संस्करणसम्म आइपुग्दा व्यापक र बृहद बनेकोमा खुशी व्यक्त गरे। समाज र मेलाका संस्थापक तथा अग्रजहरुप्रति सम्मान व्यक्त गर्दै उनले आगामी वर्षहरुमा गैरनेपाली समुदायको सहभागितासहित मेलालाई थप बिस्तार र विकास गर्ने लक्ष्य सुनाए।
मेलाको उद्घाटन सत्रमा साझा नेपाली समाज यूकेका अध्यक्ष नारायण फुयांल,गुल्मी जिल्ला समाज यूकेकी अध्यक्ष मञ्जु भण्डारी,पूर्व मेयर एवम् काउन्सिलर भीम सारु,श्रृजनशिल लेष्टर नेपाली समाजका अध्यक्ष शिव पराजुली,नटिङहम महिला समूहकी अध्यक्ष विष्णु खरेललगायतले मन्तव्य राख्दै मेला सफलताको शुभकामना दिएका थिए।
समाजका पूर्व अध्यक्ष विष्णु चालिसे र महासचिव डिलाराम गौतमले संचालन गरेको कार्यक्रमको उद्घाटन सत्रमा पूर्व अध्यक्ष रविन्द्र शर्माले स्वागत मन्तव्य दिए भने समाजका सांस्कृतिक संयोजक सुदिप उप्रेतीले मनोरञ्जनात्मक सत्र सञ्चालन गरेका थिए।
विशेष सांगीतिक प्रस्तुति
मेलामा नेपालबाट आएका ख्यातिप्राप्त कलाकारहरु विष्णु खत्री, रमेशराज भट्टराई,इन्द्र जिसी र अस्मिता डल्लाकोटीले विशेष सांगीतिक प्रस्तुति गर्दै दर्शकहरुलाई नचाएका थिए। मेलामा स्थानीय कलाकार र समुदायको सहभागितामा प्रस्तुत नौमती बाजा,भजनकिर्तन,मौलिक तीज गीतको नाचगान, गीत संगीतसहितका विविध सांस्कृतिक कार्यक्रमले मिनी नेपालको झल्को दिलाएका थिए।
मेलामा १५ वर्षीय किशोर,सजल कार्कीले स्कटल्याण्डको लोकप्रिय ब्यागपाइप बाजा बजाएर दर्शकको मन जीते। ग्लासगोमा अध्ययनरत सजलले विद्यालयमै ब्यागपाइप बजाउन सिकेको उनका पिता व्यवसायी तथा एनआरएनए युकेका उपाध्यक्ष उज्ज्वल कार्कीले बताए।
मेलामा यूकेव्यापी भलिबल प्रतियोगिता,सेभेन ए साइड फुटबल, बालबालिकाको फुटबल,पार्क रनदेखि मनोरञ्जनात्मक खेलहरु पनि आयोजना गरिएको थियो। मेलास्थलमा राखिएका नेपाली खाना,पोशाक,गरगहनादेखि विभिन्न व्यापार र सेवाका स्टलहरु राखिएका थिए। कार्यक्रममा लन्डन तथा आशफोर्डमा कार्यालय रहेको ए स्टार मोर्गेजेजले क्विज कन्टेस्ट संचालन गरेको थियो।
मेलामा सहभागी हुन मिडल्यान्ड र आसपासबाहेक लन्डन, अल्डरसट,वेल्स र स्कटल्यान्डबाट समेत ठूलो संख्यामा नेपालीहरु भेला भएका थिए।
प्रतिक्रिया