-कोमल मल्ल
काठमाडौँ,श्रावण ३१। विगत तीन दशकदेखि रेडियो नेपालको वरिष्ठ समाचार वाचक रही नेपाली भाषा साहित्य सञ्चार र पत्रकारिता क्षेत्रमा निरन्तर योगदान पुर् याउनु भएका वरिष्ठ पत्रकार हरिशरण लामिछाने एनएलडिसी साहित्य-सञ्चार पदक पुरस्कारद्वारा सम्मानित भएका छन्।
काठमाडौँ वालुवाटार स्थित परिषद् कक्षमा वरिष्ठ साहित्यकार कवि सर्जक र पत्रकारहरू उपस्थिति रहेको सुशोभन समारोहमा परिषद्को नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार इल्या भट्टराई,सल्लाहकार परिषद्का प्रमुख सल्लाहकार वरिष्ठ कवि गोपाल पराजुली र परिषद्का संस्थापक वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहबाट संयुक्तरूपमा वरिष्ठ पत्रकार तथा सर्जक हरिशरण लामिछानेलाई पुरस्कार पदक तथा प्रमाणपत्र सुशोभन गरिएको थियो।

सुशोभन समारोहलाई प्रमुख अतिथिको आसनबाट संबोधन गर्नुहुँदै नेपाली साहित्य विकास परिषद् यूके का संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले पुरस्कार र पुरस्कृत व्यक्तित्वको बारेमा प्रकाश पार्नुहुँदै परिषद्का साहित्यक गतिविधिहरूमा वरिष्ठ पत्रकार हरिशरण लामिछानेले परिषद्को महासचिवको भूमिकामा होस् वा सल्लाहकार होस् वा एउटा सर्जक अथवा जनसमाजलाई सुसूचित गर्ने रेडियो नेपालको पत्रकारिता जीवनमा नेपाली भाषा साहित्य र सञ्चार समृद्ध गर्ने कार्यमा निरन्तर सराहनीय योगदान पुर् याउँदै आउनु भएको चर्चा गर्नुभयो। वेलायतमा रेडियो पत्रकारिताको उच्च शिक्षा अध्ययनको क्रममा रहँदा पनि श्री लामिछानेले लन्डनमा सन् १९९५ मा नै एभरेष्ट नेपाली रेडियो स्थापना गरेर नेपाली समाचार र साहित्यको प्रसारण आरम्भ गरेको स्मरण गर्दै संस्थापक शाहले नेपाली भाषा साहित्य कला र पत्रकारिताको फाँटमा उदाहरणीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई हरेक वर्ष नेपाली साहित्य विकास परिषद् यूके द्वारा पुरस्कृत गरिने एनएलडिसी नेपाली साहित्य-सञ्चार पुरस्कार यस वर्ष बहु प्रतिभाशील वरिष्ठ पत्रकार लामिछानेलाई पुरस्कृत गर्न पाउँदा गौरव लागेको चर्चा गर्नु भयो।
सभापतिको आसनबाट संबोधन गर्नुहुँदै परिषद्को नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार इल्या भट्टराईले रेडियो नेपाल जस्तो देशको गौरवी सञ्चार संस्थामा रही नेपाली भाषा साहित्य र समाचार संप्रेषणका फाँटमा अनुकरणीय योगदान पुर् याउनुका साथै यस परिषद् मा समेत आबद्ध रहेर सक्रिय रहेका वरिष्ठ पत्रकार हरिशरण लामिछानेलाई यो विशिष्ट पुरस्कार पदकबाट सम्मानित गर्न पाउँदा गर्वानुभूति भएको चर्चा गर्नुभयो।
यसैगरी परिषद्का प्रमुख सल्लाहकार संयोजक वरिष्ठ कवि गोपाल पराजुलीले रेडियो नेपालको व्यस्त समयका बाबजुद पनि यस परिषदमा संस्थापनाकाल देखि आबद्ध रहेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा वरिष्ठ पत्रकार यस परिषद्का सल्लाहकार हरिशरण लामिछानेले अविछिन्नरूपमा पुर् याउनु भएको पुरस्कार योग्य योगदान महत्त्वपूर्ण र गर्विलोछ भन्नुहुँदै परिषदबाट यो सम्मान समर्पण गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो।
पुरस्कार सम्मान ग्रहण गर्नुहुँदै वरिष्ठ पत्रकार तथा सर्जक हरिशरण लामिछानेले पुरस्कारहरूबाट टाढा नै रहने आफ्नो बानी भए तापनि बेलायतमा रहेको नेपाली साहित्य विकास परिषद् यूके सँग आफू त्यहाँ रेडियो पत्रकारिता अध्ययनमा रहँदादेखि नै विभिन्न गतिविधिहरूमा निरन्तर संलग्न रहँदै आएकोले यो पुरस्कार सम्मानप्रति विशेष मोह रहेको छ भन्नु भयो । रेडियो नेपालको तीन दशकसम्मको पत्रकारिताको अनुभव र परिषद्सँगको साहित्यिक यात्रा अब देश र समाजका लागि नयाँ ढङ्गले उपयोग गर्ने विचार व्यक्त गर्नुहुँदै वरिष्ठ पत्रकार लामिछानेले यो पुरस्कार सम्मानका लागि आभार व्यक्त गर्नुभयो।
बधाई मन्तव्य राख्नुहुँदै परिषद्का सल्लाहकार डा.नारायण चालिसेले नेपालको सञ्चार क्षेत्रमा एउटा गर्व गर्न लायक निर्भीक पत्रकारकोरूपमा स्थापित वरिष्ठ पत्रकार हरिशरण लामिछानेको साथमा यस परिषदको कार्य समितिमा रहेर सङ्गसँगै नेपाली भाषा साहित्यको समृद्धिमा गरिएका गतिबिधिहरूको सक्रियतालाई नियाल्दा श्री लामिछाने धेरै पुरस्कारहरू आर्जन गर्ने क्षमता राख्नु हुन्छ भन्नुहुँदै परिषद् बाट उच्च मूल्याङ्कनगरेर यो पुरस्कार सम्मान गर्न पाउँदा आफूलाईहर्षानुभूति भएको विचार प्रकट गर्नुभयो।
कार्यक्रम सञ्चालन तथा स्वागत मन्तव्य गर्नुहुँदै परिषद्का महासचिव वीरेन्द्र कुँवरले देशदेखि विदेशसम्म रहेका नेपाली जनसमाजका माझ रेडियो पत्रकारकोरूपमा परिचित बौद्धिक व्यक्तित्व वरिष्ठ पत्रकार हरिशरण लामिछानेको सम्बन्ध बेलायतमा रहेका नेपाली जनसमाजहरूसँग सञ्चार,कला र साहित्यको आबद्धताले अझ बढी घनिष्ठ परिचय गाँसिएको छ र नेपाली साहित्य विकास परिषद् यूके बाट यो एनएलडिसी साहित्य-सञ्चार पुरस्कार सम्मानका लागि सही व्यक्तित्व छनोट भएको अनुभूति भएकोछ भन्नु भयो।
समारोहमा धन्यवाद ज्ञापन मन्तव्य राख्नुहुँदै परिषद्का कोषाध्यक्ष राजेशजङ्ग शाहले यूके मा रहेको परिषद्को केन्द्रीय संस्थाद्वारा पुरस्कृत हुनुभएका यस समारोहका विशिष्ट व्यक्तित्व परिषद्का सल्लाहकार तथा पूर्व महासचिव वरिष्ठ पत्रकार हरिशरण लामिछानेको नेपाली भाषा साहित्य र सञ्चार क्षेत्रमा संप्रेषित ऊर्जा सबैका लागि अनुकरणीय छ र पुरस्कार योग्य भएको चर्चा गर्नु भयो। कोषाध्यक्ष शाहले सम्मानित तथा सहभागी र सहयोगी सबैमा बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो।
सन् १९९५ मा स्थापना भएको बेलायत स्थित नेपाली जनसमाजको जेठो साहित्यक संस्था नेपाली साहित्य विकास परिषद् यूके मा स्थापना भएका विभिन्न १५ वटा पुरस्कारहरू मध्य वरिष्ठ साहित्यकार कोमलप्रसाद श्रेष्ठ मल्ल र कोहिनूर श्रेष्ठ मल्लद्वारा आ-आफ्ना स्वर्गीय बाबु आमाको स्मृतिमा सन् २०११ मा स्थापना भएको पाँच तोला शुद्ध चाँदी र स्वर्ण अक्षर अङ्कित एनएलडिसी नेपाली साहित्य-सञ्चार पदक पुरस्कार (नगद लिन चाहेमा नेरू पचास हजार रूपैयाँ) परिषद् द्वारा हरेक वर्ष नेपाली भाषा साहित्य कला र सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर् याउने सर्जक सिर्जना,पत्रकार,कलाकार र समाजसेवीहरूलाई प्रदान गरिन्छ। यस अघि यो पुरस्कारबाट बिबिसी नेपाली सेवाका पूर्व प्रमुख सञ्चालक तथा परिषद्का पूर्व अध्यक्ष खगेन्द्र नेपाली,नेपाल पत्रकार महासंघ यूके शाखाका संस्थापक अध्यक्ष तथा प्रधान संपादक पत्रकार नवीन पोखरेल र भिजन संसार युकेका सम्पादक अभिमन्यु वैरागलाई प्रदान गरिएको थियो।
प्रतिक्रिया