समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

लण्डनमा १७औँ नेपाली मेलाको तयारी पूरा,४२ संस्थाको सहभागिता

  शीतलपाटीन्युज डटकम | ८ भाद्र २०८३, सोमबार ०९:१६

पूर्ण गुरुङ,
लण्डन। बेलायतको नेपाली समुदायमा लोकप्रिय नेपाली मेलाको १७औँ संस्करणको तयारी पूरा भएको आयोजक तमु धिं युकेले जनाएको छ। आगामी ३० अगस्ट आइतबार लन्डनको केम्पटन पार्क रेसकोर्समा आयोजना हुने मेलाको तयारीबारे जानकारी दिन तमु धिं युकेले गत आइतबार मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गरेको हो।

नेपाली दूतावास लन्डनको सहकार्यमा आयोजना हुने मेलामा बेलायतमा रहेका नेपाली संघसंस्थाले आफ्नो मौलिक कला, संस्कृति,भेषभूषा तथा परम्परा झल्काउने झाँकी र नृत्य प्रस्तुत गर्नेछन्।


मेलाका संयोजक तथा तमु धिं युकेका उपाध्यक्ष कमल कोने गुरुङका अनुसार ‘हाम्रो संस्कृति,हाम्रो पहिचान,हाम्रो गौरव’ भन्ने नारासहित आयोजना हुने मेलामा बेलायतस्थित ४२ नेपाली संघसंस्थाको सहभागिता रहनेछ।

यस वर्ष २४ संस्थाले झाँकी प्रस्तुत गर्नेछन्। झाँकी र नृत्य दुवै विधामा ९ संस्था तथा नृत्य विधामा मात्र १० संस्थाले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै,झाँकी तथा नृत्यमा सहभागी हुने तर प्रतिस्पर्धामा भाग नलिने संस्थाको संख्या ६ रहेको आयोजकले जनाएको छ।

संयोजक गुरुङका अनुसार मेलाको उद्घाटन बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले गर्नेछन्। कार्यक्रममा अन्य नेपाली तथा विदेशी कूटनीतिक प्रतिनिधिको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ।


यस वर्ष झाँकी तथा नृत्य प्रतियोगिताको प्रमुख पुरस्कार ‘एम्बासडर कप’को राशि वृद्धि गरिएको छ। गत वर्ष १,१०० पाउण्ड रहेको पुरस्कार यस वर्ष बढाएर १,५०० पाउण्ड पुर्‍याइएको छ। प्रथम र द्वितीय रनरअपले क्रमशः ७०० र ५०० पाउण्ड प्राप्त गर्नेछन्। विजेता तथा उपविजेता टोलीलाई ट्रफी र प्रमाणपत्रसमेत प्रदान गरिनेछ। त्यस्तै,एनआरएनए कपको पुरस्कार राशि पनि ३०० पाउण्डबाट बढाएर ५०० पाउण्ड पुर्‍याइएको छ।


मेलामा नेपाली खाना,पोशाक,मौलिक सामग्री तथा विभिन्न व्यापार,सेवा र च्यारिटीका गरी करिब ७५ वटा स्टल रहनेछन्। स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउन हेल्थ क्याम्पसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।

संयोजक गुरुङका अनुसार मेला आयोजना गर्न करिब ६१ हजार पाउण्ड खर्च हुने अनुमान गरिएको छ भने करिब ६४ हजार पाउण्ड आम्दानी हुने अपेक्षा गरिएको छ।

बिहान १० बजेदेखी बेलुकी ८ सम्म संचालन हुने मेलामा प्रवेशका लागि वयस्कलाई ५ पाउण्ड शुल्क तोकिएको छ। बालबालिका तथा ज्येष्ठ नागरिकका लागि प्रवेश निःशुल्क हुनेछ। कार पार्किङ शुल्क ५ पाउण्ड तथा कोच र बस पार्किङका लागि १० पाउण्ड शुल्क लाग्नेछ।

Screenshot

आयोजकका अनुसार यस वर्ष कार पार्किङ क्षमता बढाएर करिब १,१०० पुर्‍याइएको छ। दर्शकको सुविधालाई विशेष ध्यान दिँदै प्रवेश तथा पार्किङ शुल्क भुक्तानीका लागि १२ वटा कार्ड मेसिनको व्यवस्था गरिएको छ।

पत्रकार सम्मेलनमा तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङले हालै एभरेस्ट म्याराथन पूरा गरेर फर्किएका क्याप्टेन लक्ष्यबहादुर गुरुङको अभियानमा सहयोग गर्नसमेत आग्रह गरे। उनले आगामी ११ र १२ सेप्टेम्बरमा गोर्खा वेलफेयर ट्रस्टद्वारा आयोजित १०० किलोमिटर ट्रेलवाकमा तमु धिं युकेले समेत सहभागिता जनाउने जानकारी दिए।


कार्यक्रममा तमु धिं युकेका मिडिया सेक्रेटरी एसके गुरुङले सहभागी सञ्चारकर्मीहरूको परिचय गराएका थिए। त्यसपछि अध्यक्ष जुमकाजी गुरुङ,आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ र उपाध्यक्ष कमल कोने गुरुङले सञ्चारकर्मीहरूलाई स्वागत तथा सम्मान गरेका थिए। कार्यक्रममा नेपालबाट आएका कलाकार तथा सामाजिक अभियन्ताहरूलाई समेत स्वागत गरिएको थियो।

पत्रकार सम्मेलनमा तमु धिं युकेका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष,सल्लाहकार,आमा समूहका प्रतिनिधि,पदाधिकारी तथा सदस्यहरूको समेत विशेष उपस्थिति रहेको थियो।

तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपाध्यक्ष परशुराम गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव डा.विशाल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ