समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन

  शीतलपाटीन्युज डटकम | २६ आश्विन २०८३, सोमबार ०२:१५

शीतलपाटीन्युज डटकम।
लण्डन । पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापना गर्ने अभियानअन्तर्गत हालसम्म १ लाख २२ हजार ५ सय ७२ पाउण्ड (करिब २ करोड ५० लाख रुपैयाँ) संकलन भएको छ। नेपाली भाषा, संस्कृति,परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढाइएको उक्त अभियानबारे नेपाली कल्चर सेन्टर यूकेका संयोजक चिरन शर्माले जानकारी दिएका हुन्।


घटस्थापनाको अवसर पारेर आइतबार नेपाली दूतावास लण्डनमा आयोजित विशेष कार्यक्रममा शर्माले सांस्कृतिक केन्द्र स्थापनाका लागि समुदायबाट उत्साहजनक सहयोग प्राप्त भइरहेको बताए। बेलायतमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने साझा सांस्कृतिक थलो निर्माण गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको उनले उल्लेख गरे।


कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि कार्यवाहक राजदूत एवं प्रमुख अतिथि विपिन दुवाडीले बेलायतमा नेपाली समुदायको साझा चौतारीका रूपमा सांस्कृतिक केन्द्रको आवश्यकता रहेको बताए। नेपाली कल्चर सेन्टर यूकेले अघि सारेको परियोजनाको प्रशंसा गर्दै उनले यसलाई अत्यन्तै सराहनीय पहलको संज्ञा दिए। साथै, परियोजनाका लागि आफूले समेत आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।


दुवाडीले नेपालमा हालै भएका प्राकृतिक विपद्का कारण देश कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै मातृभूमिलाई संकट परेको बेला विदेशमा रहेका नेपाली समुदायले सधैं एकजुट भएर सहयोग गर्दै आएको बताए। देशप्रतिको माया,सामाजिक उत्तरदायित्व र आपसी एकताको भावनाले प्रवासमा रहेका नेपालीलाई मातृभूमिसँग जोडिराखेको उनको भनाइ थियो। उनले नेपाली समुदायको एकता र सहकार्यले यस्ता महत्त्वपूर्ण परियोजनालाई सफल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा हन्स्लो काउन्सिलकी युथ काउन्सिलर टिआ आचार्यले बेलायतमा नेपाली भाषा,संस्कृति,परम्परा र राष्ट्रिय पहिचानको संरक्षणका लागि सांस्कृतिक केन्द्र स्थापना अपरिहार्य रहेको बताइन्। उनले परियोजनालाई सफल बनाउन सम्पूर्ण नेपाली समुदायलाई एकजुट भएर सहयोग गर्न आग्रह गरिन्।


बेलायतमा नेपालका विभिन्न जिल्ला,क्षेत्र र पृष्ठभूमिबाट आएका नेपालीहरू बसोबास गरिरहेको उल्लेख गर्दै आचार्यले भाषा, बोली, परम्परा र संस्कारमा विविधता भए पनि नेपाली समुदायलाई साझा पहिचान र सांस्कृतिक सम्पदाले एकताबद्ध बनाएको बताइन्। नयाँ पुस्तालाई नेपाली भाषा,संस्कृति र परम्परासँग जोडिराख्न तथा भावी पुस्तामा नेपाली पहिचान हस्तान्तरण गर्न सांस्कृतिक केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

यसअघि पण्डित निलहरी घिमिरेले नेपाली दूतावास परिसरमा रहेको हिन्दू मन्दिरमा घटस्थापना पूजा गरेका थिए। कार्यक्रममा स्पेल्थोर्न काउन्सिलका पूर्वमेयर मेड बकको समेत उपस्थिति रहेको थियो। पण्डितहरू निलहरी घिमिरे, चिरञ्जीवी ढकाल, गोविन्द नेपाल र होमनाथ पौडेलले स्वस्तिवाचन गरेका थिए।

नेपाली कल्चर सेन्टर यूकेको पहिलो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा धार्मिक तथा सांस्कृतिक प्रस्तुतिसमेत समावेश गरिएको थियो। कलाकार निरुषा भट्टराई पाण्डेको टोलीले नेपाली सत्सङ्ग तथा भजन प्रस्तुत गरेको थियो। प्रस्तुतिमा श्री बालेश्वरी देवी,होमनाथ पौडेल,शंकर खराल,गंगा खनाल,प्रकृति खनाल र निधि पाण्डेले साथ दिएका थिए।

बेलायतमा नेपाली समुदायको बढ्दो उपस्थिति र भावी पुस्तामा नेपाली भाषा तथा संस्कृतिप्रतिको सम्बन्धलाई निरन्तरता दिन सांस्कृतिक केन्द्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। अभियानले मूर्त रूप लिएसँगै यो केन्द्र नेपाली समुदायको भेटघाट, सांस्कृतिक गतिविधि,धार्मिक अनुष्ठान तथा नेपाली कला र परम्पराको प्रवर्द्धन गर्ने साझा थलोका रूपमा विकसित हुने विश्वास आयोजकले लिएका छन्।

Pictures: https://www.facebook.com/nepaliccuk/posts/pfbid02V3fLwWzeZeUgnqRMppfCtg3expM3o7FJMhe3qc942AUa73ZGYNXWM5hu6wkZNEM9l 

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ