सुरेश कोइराला,चितवन।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चितवनको एक मतदान केन्द्रमा मतदान अधिकृतसहित शतप्रतिशत महिला कर्मचारी खटाईएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भरतपुर महानगरपालिका १० स्थित भरतपुर माध्यमिक विद्यालय मतदान केन्द्रको जिम्मा महिलालाई मात्र दिइएको हो। यहाँ अघिल्लो निर्वाचनमा पनि महिलालाई मात्र निर्वाचन गराउने जिम्मा लगाईएको थियो।
३ हजार ७२७ जना मतदाता रहेको यस मतदान स्थलमा मतदान अधिकृत,सुरक्षाकर्मी सबै महिला हुन् । यहाँ २४ जना कर्मचारी, १२ जना स्वयसेवक र २७ जना सुरक्षा कर्मी खटिएका छन् । चार वटा मतदान केन्द्र रहेको यस विद्यालयमा‘क’मतदान केन्द्रको मतदान अधिकृत शुशिला वाग्ले, ‘ख’ मतदान केन्द्रको मतदान अधिकृतमा विन्दु पौडेल,‘ग’मतदान केन्द्रको मतदान अधिकृतमा विष्णु मायाँ विके र ‘घ’ मतदान केन्द्रको मतदान अधिकृतमा विन्दु देवकोटा रहेका छन्।
मतदान स्थल निर्माणको तयारी पुरा भएको मतदान अधिकृत विन्दु पौडेलले जानकारी दिइन्। हामीले बुध निर्माणको तयारी र काम बाडफाड् गरिसकेका छौँ,उनले भनिन्‘हामीले सकेसम्म व्यवस्थित साथ निर्वाचन सम्पन्न गराउनेछौँ।’मतदानका लागि महिला–पुरुष छुट्टाछुट्टै लाइनमा लाग्ने व्यवस्था गरिएको छ।
अहिलेसम्म आफ्नो काम कर्तव्यबारे कुनै गुनासो नआएको समेत मतदान अधिकृत विष्णुमायाँ विकेले बताईन। गत वर्ष पनि हामीले यहाँ महिला कर्मचारीले मात्र निर्वाचन समपन्न गराएका थियौँ,उनले भनिन् त्यतिखेर सबैभन्दा पहिले हामीले मतदान गराएर सकाएका थियौँ। अहिले पनि राम्रो हुने अपेक्षा छ।’उनले निष्पक्ष रुपमा सर्वदलिय बैठक पनि सम्पन्न गरिसकेको बताइन्।
सुरक्षा व्यवस्थालाई पनि मजबुद बनाईएको प्रहरी साहायक निरिक्षक एलिना धानुकले बताइन्। सुरक्षाकर्मी पनि हामी महिला मात्र छौँ।‘यो जिल्ला प्रहरी कार्यालयबाट पनि नजिक छ,’उनले भनिन्। आवश्यक सुरक्षा चाहिएमा हामीले यहाँ सुरक्षाकर्मी बोलाउने छौँ।’
प्रतिक्रिया