शीतलपाटीन्युज डटकम।
पोखरा। पोखराका विभिन्न क्षेत्रमा बुधबार राति देखिएको एकाएक प्रहरीको उच्च सक्रियताले शहरभर त्रास,कौतुहल र चर्चाको वातावरण सिर्जना गर्यो। काहुँडाँडा,लम्भीडाँडा, रामबजार,लेखनाथ क्षेत्रका ताल आसपास,लेकसाइड, महतगौंडा,दोबिल्लालगायतका स्थानमा प्रहरीको बाक्लो उपस्थिति,सोधपुछ,शंकास्पद व्यक्तिहरूको नियन्त्रण र भ्यानमा हालेर लैजाने दृश्यले रातभर पोखरा‘सिकायत–अपरेसन’ मोडमा पुगेको जस्तो देखिन्थ्यो।
करिब ९ बजेदेखि सुरु भएको यो अभियान बिहीबार बिहान ५ बजेसम्म निरन्तर करिब १० घण्टा सञ्चालन भयो । सुरुमा स्थानीयले यो आकस्मिक गतिविधिलाई सामान्य सुरक्षा जाँचभन्दा माथिको कुनै विशेष घटना भएको अनुमान गरे पनि पछि मात्र यसको वास्तविकता सार्वजनिक भयो– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको “स्वीप अपरेसन”।
१०० प्रहरी परिचालन, १२२ जना पक्राउ-
कास्की प्रहरीका अनुसार यो विशेष अपरेसनमा करिब १०० जना प्रहरी परिचालन गरिएको थियो। अभियानको मुख्य उद्देश्य टोले गुण्डागर्दी,लागुऔषध ओसारपसार तथा सेवन,मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थानमा अशान्ति फैलाउने र शंकास्पद गतिविधि गर्ने समूहलाई नियन्त्रणमा लिनु रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीका अनुसार १० घण्टे लामो अभियानमा कुल १२२ जना पक्राउ परेका छन्, उनले भने,“टोले गुण्डागर्दी,लागुऔषध कारोबार र प्रयोग, शंकास्पद गतिविधि तथा मादक पदार्थ सेवन गरेर सार्वजनिक शान्ति भंग गर्नेहरूलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो। केहीलाई सोधपुछपछि छोडिएको छ भने केहीमाथि थप अनुसन्धान भइरहेको छ।”यो अपरेसनलाई नयाँ वर्ष २०८३ को सुरुवातसँगै कास्की प्रहरीले गरेको सबैभन्दा ठूलो एकै रातको कारबाहीमध्ये एक मानिएको छ। यसअघि नयाँ वर्षकै दिन २२ जना पक्राउ परेका थिए,जसमा मानव बेचबिखन र अभद्र व्यवहारसम्बन्धी मुद्दासमेत दर्ता गरिएको थियो।
लेकसाइड केन्द्रित कारबाही,पर्यटक क्षेत्रमा कडा निगरानी
पोखराको पर्यटन केन्द्र लेकसाइड पनि यस अपरेसनको प्रमुख फोकसमा रह्यो। ओजन गल्लीसहित विभिन्न स्थानमा प्रहरीले विशेष निगरानी राख्दै २० जना महिलालाई समेत नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार ती महिलाहरूले पर्यटकहरूलाई दु:ख दिएको, मोलमोलाई गर्ने,होटलसम्म मिलाएर लैजाने र अनैतिक गतिविधिमा संलग्न रहेको गुनासोका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। स्थानीय व्यवसायीहरूले समेत सडकबाटै खुलेआम यौन धन्दा सञ्चालन हुने गरेको भन्दै प्रहरीलाई मौखिक उजुरी दिएका थिए।
वैशाख ५ र ८ गते गरी गरिएको कारबाहीमा ती महिलाहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार उनीहरूविरुद्ध पर्यटकलाई लक्षित गरी ठगी र अनैतिक गतिविधि सञ्चालन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ।
समाजमा त्रास र समर्थन दुवै प्रतिक्रिया स्वीप अपरेसनको प्रभावले पोखरामा एकातर्फ सुरक्षा सन्देश गएको छ भने अर्कोतर्फ सामान्य नागरिक पनि अनावश्यक रूपमा नियन्त्रणमा पर्न सक्ने आशंका पनि उठेको छ। नागरिक समाजका प्रतिनिधिहरूले प्रहरीलाई सचेत रहन आग्रह गर्दै अपरेसनका क्रममा निर्दोष नागरिक पनि प्रभावित हुन सक्ने जोखिम औँल्याएका छन्।
नागरिक समाजका एक प्रतिनिधिका अनुसार,“गल्ती नगरेका, सडकमा हिँडिरहेका वा सामान्य रूपमा बसेका नागरिक पनि गलत बुझाइमा पक्राउ पर्ने सम्भावना रहन्छ । त्यसैले प्रहरीले थप संवेदनशीलता अपनाउनुपर्छ।”
प्रहरीको स्पष्ट सन्देश– अशान्तिविरुद्ध कठोर कदम
एसपी नवीन कार्कीले भने प्रहरीको उद्देश्य नागरिकको स्वतन्त्रता कुण्ठित गर्नु नभई समाजमा शान्ति र सुरक्षा कायम गर्नु रहेको स्पष्ट पारे। उनका अनुसार,“नागरिकले कानुनको परिधिभित्र रहेर स्वतन्त्र रूपमा हिँडडुल,मनोरञ्जन र व्यवसाय गर्न पाउँछन् । तर समाजमा अशान्ति फैलाउने,गुण्डागर्दी गर्ने र लागुऔषधको कारोबार गर्नेविरुद्ध प्रहरी कठोर रूपमा प्रस्तुत हुन्छ।”उनले थपे,“पोखरामा लागुऔषध प्रयोगकर्ता र कारोबारकर्ताको संख्या बढ्दै गएको छ। जेनजी आन्दोलनपछि समाजमा देखिएको अस्थिरता र त्रासलाई नियन्त्रण गर्न यो अपरेसन गरिएको हो।”
प्रहरीको व्यापक परिचालन,विभिन्न युनिटको सहभागिता
यस अपरेसनमा वडा प्रहरी कार्यालय बैदाम,रामबजार,बगर र इलाका प्रहरी कार्यालय शिशुवासहित विभिन्न इकाइहरू सक्रिय रूपमा परिचालन गरिएको थियो। लेकसाइड,रामबजार,काहुँडाँडा, लम्भीडाँडा र दोबिल्लासम्म फैलिएको अभियानले शहरभर सुरक्षा घेरा कडा बनाएको देखिन्थ्यो।
रातभर सडकमा प्रहरी भ्यान,चेकपोस्ट र आकस्मिक सोधपुछले स्थानीय बासिन्दा र पर्यटकसमेत प्रभावित भएका थिए । केही स्थानमा मानिसहरूलाई आकस्मिक रूपमा नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो भने केहीलाई तत्कालै रिहा गरिएको प्रहरीले जनाएको छ।
पर्यटन क्षेत्रमा असर र भविष्यको संकेत-
पोखरा नेपालको प्रमुख पर्यटन केन्द्र भएकाले यस्ता व्यापक प्रहरी कारबाहीले सुरक्षा सन्देशसँगै पर्यटन गतिविधिमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ। तर प्रहरी प्रशासनले भने सुरक्षित वातावरण बिना पर्यटन दिगो हुन नसक्ने तर्क गर्दै यस्ता अपरेसन निरन्तर हुने संकेत दिएको छ। एसपी कार्कीले अन्त्यमा भने,“पोखरालाई सुरक्षित,व्यवस्थित र अपराधमुक्त बनाउन प्रहरी कुनै पनि सम्झौता गर्दैन। नागरिकको साथ र सहयोग बिना यो सम्भव छैन।”
पोखरामा बुधबार राति देखिएको “स्वीप अपरेसन” केवल एक सुरक्षा कारबाही मात्र नभई शहरको सुरक्षा रणनीतिमा आएको कडाइको संकेतका रूपमा देखिएको छ। १० घण्टे अभियान, १२२ पक्राउ र लेकसाइडदेखि काहुँडाँडासम्मको व्यापक छानबिनले पोखराको रात्री जीवन र सुरक्षा व्यवस्थाबारे गम्भीर बहस सुरु गरिदिएको छ।
(नव जनप्रहारबाट।)
प्रतिक्रिया