समाचार
|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री|मासु खानुहोस्,दसैँ मनाउनुहोस् तर मुटु जोगाउनुहोस् यी हुन् हृदयाघातका प्रमुख लक्षण

भानुको भाषा,प्रवासको पहिचान कोभेन्ट्रीमा मनाइयो २१३औँ भानु जयन्ती

  शीतलपाटीन्युज डटकम | २९ असार २०८३, सोमबार १४:०६

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतको कोभेन्ट्रीमा विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखाद्वारा आयोजित २१३औँ भानु जयन्ती कार्यक्रम हिजो मिति १२ जुलाई २०२६ मा सौहार्दपूर्ण,साहित्यिक र भावनात्मक वातावरणमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखाका अध्यक्ष श्री भरतकुमार श्रेष्ठ “बिवश” ज्यूले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासंघ कि सदस्य ज्ञानु दाहाल ज्यूले गर्नुभएको थियो। कार्यक्रममा मिडल्याण्ड क्षेत्रमा बसोबास गर्नुहुने आदरणीय बुवा–आमाहरूलाई विशेष अतिथिका रूपमा सम्मानपूर्वक आमन्त्रण गरिएको थियो।

कार्यक्रमको सभापतित्व विश्व नेपाली साहित्य महासंघ मिड ल्याण्ड शाखा बेलायतका अध्यक्ष श्री भरतकुमार श्रेष्ठ “बिवश” ज्यू तथा विशेष अतिथिहरू आदरणीय बुवा–आमाहरूको संयुक्त रूपमा दीप प्रज्वलन गरी गरिएको थियो। सोही अवसरमा आदिकवि भानुभक्त आचार्यको तस्बिरमा उपस्थित सम्पूर्ण महानुभावहरूले पुष्पाञ्जली अर्पण गर्दै उहाँप्रति श्रद्धा व्यक्त गर्नुभएको थियो। साथै संयुक्त रूपमा नेपाली राष्ट्रिय गान प्रस्तुत गरिएको थियो।


कोभेन्ट्रीमा स्थायी रूपमा बसोबास गर्दै आउनुभएका मिलनसार व्यक्तित्व श्री इन्द्रबहादुर कुँवर ज्यूको अल्पायुमै भएको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिको कामनासहित एक मिनेट मौनधारण गरिएको थियो।

कार्यक्रममा विश्व नेपाली साहित्य महासंघका सचिव एवं वैज्ञानिक डा.प्रदीप लामिछाने ज्यूले आदिकवि भानुभक्त आचार्यको जीवन, साहित्यिक योगदान र नेपाली भाषा–साहित्यमा उहाँले पुर्‍याउनुभएको ऐतिहासिक योगदानबारे समीक्षात्मक धारणा प्रस्तुत गर्नुभएको थियो।

त्यसैगरी कोभेन्ट्री नेपाली समाजका संरक्षक एवं बौद्धिक व्यक्तित्व श्री विष्णु सापकोटा ज्यूले संस्कृत भाषामा महर्षि वाल्मीकिद्वारा रचित रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली जनमानसमा पुर्‍याउने आदिकवि भानुभक्त आचार्यको अतुलनीय योगदानबारे चर्चा गर्नुभएको थियो।

कार्यक्रममा साहित्यकारहरू डा.टीका भण्डारी,डा.सुधा शाही, श्री मनोज आचार्य,एलिना संग्रौला,सीता पौडेल,विज्ञान पौडेल लगायतका स्रष्टाहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुभएको थियो। महासंघकी कोषाध्यक्ष कल्पना दाहाल ज्यूले समेत आफ्नो साहित्यिक प्रस्तुति दिनुभएको थियो।

चियापानपछिको साहित्यिक वातावरण अझै जीवन्त बनेको थियो। बेलायतको टन्टलापुरे घामलाई समेत साहित्यिक अनुरागले ओझेल पार्दै कोभेन्ट्रीमा नेपाली भाषा,साहित्य र संस्कृतिको सुन्दर संगम देखिएको थियो।

कार्यक्रमको अन्त्यमा विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखाका अध्यक्ष श्री भरतकुमार श्रेष्ठ “बिवश” ज्यूले वरिष्ठ साहित्यकार कृष्ण धरावासीद्वारा लेखिएको आदिकवि भानुभक्त आचार्यको रामभक्ति धारा र निपूर्ण

भक्तिधारासम्बन्धी आलेखको संक्षिप्त वाचन गर्नुभएको थियो। साथै उहाँले कविता वाचन गर्दै प्रवासमा नेपाली साहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने जिम्मेवारी अब सम्पूर्ण नेपाली समुदायको काँधमा आएको बताउनुभयो।

उहाँले प्रवासमा रहेर पनि नेपाली भाषा,साहित्य र संस्कृतिलाई आफ्नो पहिचानका रूपमा संरक्षण गर्दै भावी पुस्तासम्म पुर्‍याउन सबै एकजुट हुनुपर्ने गहिरो सन्देश व्यक्त गर्नुभयो।

कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्यप्रेमी,अतिथि तथा सहभागी महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष श्रेष्ठले कार्यक्रमको समापन गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ