शीतलपाटीन्युज डटकम।
लण्डन। नेपालमा हालै आएको विनाशकारी बाढी–पहिरोका कारण दिवंगत हुनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको १३औँ पुण्यतिथिको अवसरमा विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखा बेलायत र कोभेन्ट्री नेपाली समाज बेलायतको संयुक्त आयोजनामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आज मिति ०७/०९/२०२६ मा सम्पन्न भएको छ।

कोभेन्ट्रीस्थित एन्स्टी पार्कमा आयोजित उक्त कार्यक्रममा कोभेन्ट्री नेपाली समाजका महासचिव श्री सुबासचन्द्र अधिकारीज्यूले कार्यक्रमको उद्घोषण गर्नुभएको थियो। शोक र संवेदनाले भरिएको उक्त सभामा कोभेन्ट्री नेपाली समाजका संस्थापक अध्यक्ष श्री सन्तोष पौडेल,निवर्तमान अध्यक्ष सन्तोष रेग्मी,समाजका निबर्तमान महासचिब एब विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखाका उपाध्यक्ष बाबुराम भुषाल लगायत कोभेन्ट्रीमा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखा बेलायतका अध्यक्ष भरतकुमार श्रेष्ठ ‘विवश’ज्यूले बाढी–पहिरोमा ज्यान गुमाउनुहुने सम्पूर्ण दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै विपद्को यस घडीमा सम्पूर्ण नेपालीहरू एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी कोभेन्ट्री नेपाली समाजका अध्यक्ष रमेश कँडेलज्यूले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै उँहाहरुलाई धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभयो। साथै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो।
दिवंगत आत्माहरूको स्वस्ति–शान्तिका लागि श्री हेमलाल सापकोटाज्यूले वैदिक विधिअनुसार प्रार्थना गर्नुभएको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण नेपालीहरूले राष्ट्रिय गान सामूहिक रूपमा गाएपछि दिवंगत आत्माहरूको चिरशान्तिको कामनासहित एक मिनेट मौनधारण गरेका थिए।
कार्यक्रमको अन्त्यमा नेपाल राष्ट्रको रेखाङ्कित नक्साभित्र दीप प्रज्वलन गरी दिवंगत आत्माहरूको चिरशान्ति,सद्गति तथा स्वर्गारोहणको कामना गरिएको थियो। उपस्थित आदरणीय बुबाआमा,ज्येष्ठ नागरिक,युवा तथा बालबालिकासम्मले दीप प्रज्वलनमा सहभागी भई दुःखको यस घडीमा मातृभूमिप्रति ऐक्यबद्धता र मानवीय संवेदनाको अनुपम उदाहरण प्रस्तुत गरेका थिए।
श्रद्धा, समवेदना र राष्ट्रिय एकताको भावनाले ओतप्रोत उक्त कार्यक्रमले विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्ण नेपालीहरूप्रति सम्मान प्रकट गर्नुका साथै शोकसन्तप्त परिवारहरूलाई नैतिक बल प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो।
प्रतिक्रिया