उर्लाबारी डटकमबाट,
काठमाण्डौ,
गृह मन्त्रालयको सहमतिमा प्रहरी प्रधान कार्यालयले प्रहरी संगठनभित्र व्यापक सरुवा प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
अवधि पुगेका कार्यालय प्रमुख तथा कमान्ड तहका प्रहरी अधिकृतहरूलाई लक्षित गर्दै डिआइजीदेखि इन्सपेक्टरसम्मको सरुवा गर्ने गृहकार्य भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले लामो समयदेखि एउटै जिम्मेवारीमा रहेका तथा कार्यावधि पूरा गरेका अधिकृतहरूको व्यवस्थापनलाई प्राथमिकतामा राखेर सरुवा सूची तयार गरिरहेको बुझिएको छ । गृह मन्त्रालयसँग आवश्यक समन्वयपछि सरुवा प्रक्रिया अघि बढाउने तयारी भइरहेको स्रोतको भनाइ छ।
तीन प्रदेशका डिआइजी फेरिने तयारी
स्रोतका अनुसार कर्णाली प्रदेशका डिआइजी जयराज सापकोटा, बागमती प्रदेशका डिआइजी दीपक रेग्मी र लुम्बिनी प्रदेशका डिआइजी भूपेन्द्र खत्रीको सरुवा गर्ने तयारी भइरहेको छ ।
सापकोटा र खत्री प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग निकट नरहेको दाबीसमेत स्रोतले गरेको छ। यद्यपि प्रहरी प्रधान कार्यालयले भने सरुवालाई नियमित प्रशासनिक प्रक्रिया र कार्यावधिसँग जोडेर हेर्ने गरेको छ।
लुम्बिनीका डिआइजी खत्रीको सरुवा भएमा उनको स्थानमा हाल प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका अविनारायण काफ्लेलाई पठाउने तयारी रहेको स्रोतको दाबी छ । त्यसैगरी बागमती र कर्णालीमा पनि काफ्लेकै ब्याचका अधिकृतहरूलाई जिम्मेवारी दिने गरी छलफल भइरहेको बताइएको छ।
अपराध अनुसन्धान कार्यालयमा जान एसएसपीबीच दौड
यता काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वसमेत परिवर्तन हुने सम्भावना देखिएको छ । कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले एक वर्षको कार्यावधि पूरा गरिसकेका छन्।
गत वर्ष जेनजी आन्दोलनलगत्तै उनको उक्त कार्यालयमा सरुवा भएको थियो। पछिल्लो समय अनुसन्धान तथा मुद्दा चलाउने अधिकारसमेत विस्तार भएको महत्वपूर्ण कार्यालयका रूपमा हेरिँदै आएको उपत्यका अपराध अनुसन्धान कार्यालयमा जान एसएसपीहरूबीच प्रतिस्पर्धा सुरु भएको स्रोतको भनाइ छ ।
अपराध अनुसन्धान,संगठित अपराध नियन्त्रण तथा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा प्रत्यक्ष भूमिका रहने भएकाले उक्त कार्यालयलाई प्रहरी संगठनभित्र आकर्षक र प्रभावशाली जिम्मेवारीका रूपमा लिइन्छ । त्यसैले नयाँ नेतृत्वका लागि विभिन्न एसएसपीहरूले आफ्नो दाबी प्रस्तुत गरिरहेको बताइएको छ ।
यी जिल्लाका एसपी पनि फेरिँदै
सरुवा तयारीमा केही महत्वपूर्ण जिल्ला प्रहरी प्रमुखसमेत परेका छन्। स्रोतका अनुसार मोरङका कवित कटवाल,भक्तपुरका सूर्यबहादुर खड्का,कास्कीका नवीन कार्की,पूर्वी नवलपरासीका युवराज खड्का,दाङका दीपक श्रेष्ठ,पाल्पाका दिपेन्द्र पञ्जियार, बाँकेका अंगुर जिसी र कैलालीका नरेन्द्र चन्दलगायत एसपीहरूको सरुवा हुने सम्भावना छ।
जिल्ला प्रहरी प्रमुखको सरुवा गर्दा अपराध नियन्त्रणको अवस्था, कार्यसम्पादन,स्थानीय सुरक्षा चुनौती,कार्यावधि तथा संगठनको आवश्यकता जस्ता विषयलाई आधार बनाउने गरिएको प्रहरी स्रोतको भनाइ छ।
डिएसपी र इन्सपेक्टरको पनि ठूलो फेरबदल
डिआइजी,एसपी र एसएसपीसँगै एक वर्ष अवधि पूरा गरेका पहाडी जिल्लाका डिएसपी,इलाका प्रहरी कार्यालय तथा प्रहरी वृत्तका इन्चार्जहरूलाई समेत फेरबदल गर्ने तयारी भइरहेको छ ।
प्रहरी प्रधान कार्यालयले असोज पहिलो सातातिर ठूलो संख्यामा इन्सपेक्टरहरूको सरुवा गर्ने सम्भावना रहेको स्रोत बताउँछ । यससँगै जिल्ला,इलाका तथा वृत्त तहमा नयाँ नेतृत्व जाने भएकाले तल्लो तहसम्मै प्रहरी कमान्ड संरचनामा फेरबदल हुने देखिएको छ ।
नियमित सरुवा कि शक्ति सन्तुलनको अभ्यास?
प्रहरी संगठनमा सरुवा सामान्य प्रशासनिक प्रक्रिया भए पनि उच्च तहका अधिकृतहरूको सरुवा सधैं चासोको विषय बन्ने गरेको छ ।
विशेषगरी प्रदेश प्रहरीको नेतृत्व,उपत्यकाका अनुसन्धान कार्यालय तथा ठूला जिल्लाका प्रहरी प्रमुखको फेरबदललाई प्रहरीभित्र कार्यसम्पादनसँगै नेतृत्वको विश्वास र संगठनभित्रको शक्ति सन्तुलनसँग जोडेर हेर्ने गरिन्छ।
यसपटक पनि अवधि पुगेका अधिकृतहरूको नियमित सरुवाको नाममा प्रक्रिया अघि बढाइए पनि कुन अधिकृतलाई कहाँ पठाइन्छ भन्ने विषयले प्रहरी संगठनभित्रको आगामी कमान्ड संरचना र नेतृत्वको प्राथमिकता स्पष्ट पार्नेछ।
तर प्रहरी प्रधान कार्यालयले भने सरुवालाई व्यक्तिगत निकटता वा गुटगत आधारमा नभई कार्यसम्पादन,आवश्यकता र कार्यावधिका आधारमा पारदर्शी ढंगले अघि बढाउनुपर्ने चुनौती छ । ठूलो संख्यामा अधिकृत फेरिँदा प्रहरीको मनोबल,अनुसन्धानको निरन्तरता र जिल्लाको सुरक्षा व्यवस्थामा असर नपर्ने गरी निर्णय गर्नुपर्ने देखिन्छ।
सरुवा सूची अन्तिम रूप लिने क्रममा रहेकाले केही नाम र जिम्मेवारीमा फेरबदल हुन सक्ने स्रोतको भनाइ छ। गृह मन्त्रालयसँगको समन्वयपछि मात्रै अन्तिम सूची सार्वजनिक हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया