शीतलपाटीन्युज डटकम।
ईलिङ,लन्डन। नेपाल मुक्तक प्रतिष्ठान यूकेको अध्यक्षमा प्रतिमा केसी ‘प्रवासी’ सर्वसम्मत चयन हुनुभएको छ।

६ सेप्टेम्बर २०२६ मा लन्डनको ईलिंगस्थित मोन्टीज रेस्टुरेन्टमा भएको संस्थाको चौथो अधिवेशन तथा एघारौँ वार्षिक साधारणसभाबाट केसीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। केसी यसअघिको कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो।

कार्यसमितिमा उपाध्यक्ष राज श्रेष्ठ,सचिव गङ्गा भण्डारी,सहसचिव अहिल्या कुँवर र कोषाध्यक्ष जीत बुढाथोकी छन्त्याल चुनिनु भएको छ। सदस्यहरूमा शान्ति थापा सुब्बा र दुर्गा ढकाल चयन भएको निर्वाचन समितिले जनाएको छ।
कार्यसमिति चयनका लागि नेपाल मुक्तक प्रतिष्ठान यूकेका सल्लाहकार डा.रुपक श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिमा अर्का सल्लाहकारद्वय सुमलकुमार गुरुङ र बिनोद अधिकारी रहनुभएको थियो।कार्यक्रममा प्रा.डा.देवीप्रसाद सुबेदी प्रमुख अतिथि रहनु भएको भने हरिसिंह थापा तथा अमेरिकाबाट मुक्तककार गोपाल रेग्मी अतिथिका रुपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान केन्द्रका अध्यक्ष रामकाजी कोनेको शुभकामना सन्देश पढेर सुनाइएको थियो। कार्यक्रमको अध्यक्षता दुर्गाप्रसाद पोख्रेल,संचालन गङ्गा भण्डारी र अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका कावा अध्यक्ष माया गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो।
प्रमुख अतिथि,अतिथि तथा सबै सहभागी स्रस्टाले नवनिर्वाचित कार्यसमितिलाई खादा,मालाले सम्मान गर्दै बधाई दिएका थिए भने निवर्तमान अध्यक्षलाई उहाँको योगदानको चर्चा गर्दै दोसल्ला तथा प्रशंसापत्रले सम्मान गरिएको थियो।
अनेसास र नेपाल मुक्तक प्रतिष्ठानको सहआयोजनामा दुई चरणमा सम्पन्न भएको कार्यक्रममा १६० औं मोती जयन्ती पनि मनाइएको थियो। अतिथि तथा सहभागी सबैले मोतीराम भट्टको तस्बिरमा माल्यार्पण गरी सुरु गरिएको कार्यक्रममा सल्लाहकार सुमलकुमार गुरुङले मोतीराम भट्टको व्यक्तित्व र जीवनी बारेमा गहन र खोजमूलक चर्चा गर्नुभएको थियो। कार्यक्रममा हालै रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउने सबैप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पणसमेत गरिएको थियो।
कार्यक्रममा मुक्तककार डा.रुपक श्रेष्ठको हालै प्रकासित मुक्तकसंग्रह चौशूलको पनि समीक्षा गरिएको थियो । प्रमुख अतिथि प्रा. सुबेदीले कृतिको विहंगम समीक्षा गर्दै यसमा समेटिएका मुक्तकहरू अत्यन्तै गहन भाव बोकेको छ भन्दै चौशूलका चार आयामबारे चर्चा गर्नुभएको थियो। कृति नेपाली मुक्तक साहित्यको उच्चकोटीको कृति भएको र संग्रहनीय रहेको उहाँको भनाइ थियो।
उल्लेख्य संख्यामा साहित्यकारहरूको सहभागिता रहेको कार्यक्रममा लोकगीत,गीत,गजल,कविता तथा मुक्तकहरू वाचन गरिएको थियो।
कार्यक्रममा बिनोद अधिकारी,दुर्गाप्रसाद पोखरेल,राज श्रेष्ठ,हरिसिंह थापा,डा.रुपक श्रेष्ठ,सुमलकुमार गुरुङ,दुर्गा ढकाल,अहिल्या कुँवर, शशी थापा सुब्बा,माया गुरुङ,विजय गुरुङ,बिष्णु थापा,गिरी थापा, जीत बुढाथोकी छन्त्याल,रघु भण्डारी,प्रतिमा केसी,लय प्रसाईं र कुमार केसीले आ-आफ्ना सृजनाहरू वाचन गर्नुभएको थियो।
कार्यक्रमको अन्तमा नवनिर्वाचित अध्यक्ष प्रतिमा केसीले समितिको तर्फबाट निर्वाचन समिति,अतिथि तथा सहभागी स्रष्टाहरू सबैलाई धन्यवाद दिँदै आफ्नो दुई वर्षे कार्यकालमा गरिने र गर्न सकिने एघार बुँदे प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।
प्रतिक्रिया