समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी

  शीतलपाटीन्युज डटकम | २८ आश्विन २०८३, बुधबार १४:४६

शीतलपाटीन्युज डटकम।
पोखरा। फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई-पोखरा-दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायीहरू पूर्ण रूपमा ढुक्क रहेको पाइएको छ।

सुरुमा छ महिनाका लागि मात्र टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मका लागि बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीहरू थप विश्वस्त बनेका हुन्।

दुबई-पोखरा-दुबई उडान सुरुआतमै उत्साहजनक रहेकाले फ्लाई दुबईले बुकिङ अवधि बढाएको फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले जानकारी दिए।

आगामी वर्षसम्मका लागि बुकिङ खुला भएपछि उडान नियमित रूपमा सञ्चालन हुनेमा विश्वास थप बढेको र यो पोखराका पर्यटन व्यवसायीलगायत सबैका लागि सुखद् विषय भएको उनले उल्लेख गरे।

हाल चाडबाडको समय भएकाले दुबईबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुबई जानेको संख्या केही कम रहेको भए पनि चाडबाड समाप्त भएपछि पोखराबाट दुबई जाने यात्रुको संख्या उल्लेख्य रूपमा बढ्ने पर्यटन व्यवसायी श्रेष्ठले बताए।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्षसमेत रहेका उनले फ्लाई दुबईको यस उडानलाई पूर्ण रूपमा सफल बनाउन सम्बद्ध सबै पक्षको निरन्तर सहयोग र सहकार्यको खाँचो रहेको जोड दिए।

पोखरा अन्तरराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार असोज ७ गतेयता मौसम खराबीका कारण फ्लाई दुबईको एउटा उडान रद्द हुनुबाहेक अन्य दिन नियमित उडान भइरहेको छ।

फ्लाई दुबईको निर्धारित उडान तालिका अनुसार जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण हुन्छ भने साँझ ७ः१५ बजे पोखराबाट दुबईतर्फ प्रस्थान गर्दै आएको छ।

गत सोमबारसम्मको तथ्यांक अनुसार फ्लाई दुबईको उडानमार्फत तीन हजार ११३ यात्रु दुबईबाट पोखरा आएका छन् भने पोखराबाट एक हजार ४२३ यात्रु दुबई प्रस्थान गरेका छन्।

फ्लाई दुबईको उडानलाई प्रभावकारी बनाउन निरन्तर लागिपरेका पोखराका पर्यटन व्यवसायीलगायत सम्बद्ध पक्ष उडान दिगो हुनेमा पूर्ण विश्वस्त हुनाका साथै निकै उत्साहित देखिएका छन्।

टिकट बुकिङ उत्साहजनक रहेपछि टुर्स एण्ड ट्राभल्स व्यवसायीमा पनि उडान नियमित हुनेमा ठूलो आशा जागेको छ। यस उडानमार्फत आउने यात्रुलाई लक्षित गर्दै स्थानीय होटल तथा रेष्टुराँहरूले विभिन्न सहुलियत योजनाहरूसमेत सार्वजनिक गरेका छन्। फ्लाई दुबईले हाल १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाज प्रयोग गरेर दुबई-पोखरा-दुबई उडान सञ्चालन गरिरहेको छ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सुरु गर्ने फ्लाई दुबई पहिलो वायुसेवा कम्पनी बनेको छ। यसअघि केही वायुसेवा कम्पनीहरूले पोखराबाट अन्तरराष्ट्रिय गन्तव्यहरूमा केवल चार्टर उडान मात्र गरेका थिए।

फ्लाई दुबईको उडान सुरु भएसँगै दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै मुलुकहरूसँग पोखराको सीधा हवाई सञ्जाल विस्तार भएको छ। यसबाट दीर्घकालीन रूपमा पोखराको पर्यटन, व्यवसाय,रोजगारी र समग्र आर्थिक गतिविधिमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।

सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको यस विमानस्थलबाट लामो समयसम्म नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकहरूलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयमै फ्लाई दुबईले उडान सुरु गरेको हो। दुबई-पोखरा-दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति प्रदान गरेको थियो।

सरकारले अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न यस विमानस्थलमा लाग्ने विभिन्न शुल्कहरूमा विशेष छुट सुविधा दिएको छ। विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ,ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ भने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
DCNepal बाट।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ