Saturday April 27, 2024

पुस्तक बिबेचना

६ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 2183


पुस्तक बिबेचना

पुस्तक विवेचना

झर्न त झरेकै हुन्छ दिनउँ मुस्कान् खोज्दै ऑसु 

सफूतयगु सफू भित्र कोमल                     

                                                                                                                          सुरेशजंग शाह                                                                                         

झीगु अटल विश्वास दु ।

थुकिइ ख्वबि मदु

छायकि थ्व ख्वयेम्वा:

थ्वया छुं धायेगु मदु 

छाय् कि थ्व गुबले त्वा:दलेम्वा:

(मित्रता)

 

हाम्रो अटल विश्वास छ 

यसको आँसु छैन 

यसले रुनु पर्दैन 

यसको कुनै गुनासो छैन 

किनकि यसले कहिल्यै टुट्नु पर्दैन ।

                             (मित्रता कविताबाट उद्धृत)

                          यी उद्धृत पङ्क्तिहरूमा मित्रताको प्रसङ्गमा कवि कोमलले अत्यन्त सटिक आत्मिय भाव प्रस्टाएका छन्। वास्तवमा विश्वासको जगमा नै मित्रता टिकेको हुन्छ र मित्रताको जगमा नै सबै प्रकारका सम्बन्धहरू टिकेका हुन्छन्। जब सम्म मित्रतामा विश्वासको दरार आउँदैन तव सम्म मित्रतामा रुनु पर्ने र टुट्नु पर्ने अवस्था कहिले पनि आउन सक्दैन । यो सास्वत सत्य हो। यही कुरा  कोमलले बढो मिठास भरेर मित्रता कवितामा पस्केका छन्। सबैका लागि बढो मनन् योग्य प्रसङ्ग रहेकोले मैले पनि पुस्तक विवेचनाको आरम्भमा नै उद्धृत गर्न चाहेँ 'सफूतयगु सफू' कविता सङ्ग्रह भित्रबाट।

बालकाल देखि काठमाडौमा हुर्केबढेकोले मलाई नेवारी संस्कृति, नेवारी खाना,गीतसङ्गीत, पहिरन सारै मन पर्छ र  नेपाल भाषा धेरथोर बुज्छु  पनि । यो सबै श्रेय मेरा बालकालका अति मिल्ने प्रिय साथी काभ्रे पनौतीका स्व.रमेश सैँजुलाई नै छ । उनले शब्दहरू सिकाए, संस्कृतिसँग परिचित गराए। उनीसँगको सरसङ्गत र उनको घर परिवारसँगँ आवतजावत, खानपिन, उठवसले मेरो बाल हृदयमा नेवारी संस्कृति र भाषा प्रति गहिरो ममता र प्रभाव रहेको छ। म आफूलाई यो संस्कार र संस्कृति भन्दा अलग पाउँदिन। यति हुँदा पनि यो समीक्षा लेखनमा भने यतिखेर मेरा विद्वान्  सर्जक मित्र नेपाली साहित्य विकास परिषद् युके कि सहअध्यक्ष कवयित्री डा.सुधा श्रेष्ठको भाषा अर्थ्याउनमा सहारा लिएको यथार्त पनि यहीँनिर प्रस्ट राख्न चाहन्छु।

                      नेपाली साहित्यका तीनवटा काव्य कृतिहरू 'नेताहरूको महङ्गो बजार', 'पिरतिको चाल' र 'तमसुक' बाट नेपाल भाषा (नेवारी भाषा) मा अनुवादित रूपमा  हाम्रा सामु वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लको नविनतम् कृतिकारूपमा 'सफूतयागु सफू' चिनाखँ मुना आइपुगेको छ । यसभित्र तीनसय सैँतीस्  कविताहरू सङ्गृहीत रहेका छन् । करिव साढे चार सय  पेजको  'सफूतयगु सफू' चिनाखँ मुना अर्थात 'कितावहरूको किताव' कवितासङ्ग्रह  वरिष्ठ कवि कोमलको  निकै मोटो नविनतम् काव्य कृति रहेकोछ। यस कृति भित्र सङ्गृहीत  कविता, मुक्तक र गीतहरूले समाजको सोच बदल्ने प्रयत्न गरेका छन्। राष्ट्र प्रेम र देश भक्तिमा निखार ल्याउन उन्मुख छन् । राजनीतिमा सुद्धता र राजनेतामा देश प्रति इमान्दार हुन झक्झकाएका छन् । क्रान्ति होस वा शान्ति त्यो देश, जनता र जनजीविकाको पक्षमा हुनु पर्छ । शासन त्यसैका लागि हुनु पर्छ । त्यो हुन नसके क्रान्ति जन्मन्छ। प्रकृतिले प्रवृति बदल्छ-बदल्छ भन्ने अठोट उनका  काव्यले जाहेर गरेका छन्। पशुपंछी र पर्यावरणलाई मायाको स्पर्समा आलिङ्गन गर्न सुझाएका छन्। भलाकुसारी र माया पीर्तिको प्रसङ्गमा पनि मनलाई बढो रोमान्चित पार्न उन्मुख छन्। समग्रमा यो 'सफूतयगु सफू' कवितासङ्ग्रह साहित्यका सबै स्वादले भरिपूर्ण एक सन्तुलित पूर्ण काव्य कृति रहेकोछ।

 

सर्जक र सिर्जनालाई संक्षेपमा केलाउँदा वर्षायामको झरी झै जतिखेर पनि सिर्जनशील भइरहने र धाराप्रवाह कविता लेख्न सक्ने असिमित प्रतिभाका धनी  कवि कोमल र उनका सिर्जनाहरूमा राष्ट्रभक्ति, देश प्रेम, राष्ट्रीयता, प्रकृति प्रेम र माया प्रीतिको सौन्दर्य  पाइन्छ । उनका सिर्जनाहरूमा नेपाली माटोमा जे उब्जनी हुन्छ त्यही फलेको हुन्छ र  नेपाली मुटूमा जुन माया घुलेको हुन्छ त्येही सौन्दर्य  प्रतिबिम्बित भएको हुन्छ। यसर्थ उनी छाती भरि देश बोकेका मन भरि माया बोकेका राष्ट्रवादी रोमान्टिक आशु कवि हुन्। आफ्ना सिर्जनाहरू नेपाल भाषामा अनुवाद प्रकाशित गरेर कोमलले नेपाली साहित्यको स्वाद फराकिलो परिधिमा पुर् याएका छन्।

यजुछं ख्वबिइ नवात

जिं हुइमफु।

हतलय् जि जु छु स्यू स्व

लिहां वये वा वयमखु। 

                        (यज्यु छं)

 

मायालु तिमीले आँसुमा बोल्यौ

म पुच्छन सक्दिन ।

लडाइँमा म छु के थाहा हेर

फर्किन्छु फर्किन्न ।

            (मायालु तिमीले -गीत रचनाबाट उध्द्त )

                         सङ्गीतकार न्हू बर्जाचार्यको सङ्गीत, गायक रामकृष्ण ढकालका साथै  गायक सपन राई, गायीका सीतु खरेलको मधुर स्वरमा समेत  रेकर्ड पनि भई सकेको यही पुस्तक भित्रको यो रचनामा  कोमलले बढो मार्मिकरूपले युद्ध भूमिमा रहेका योद्धाको  मनोभाव केलाएका छन् । वास्तवमा आज घर छोडेर विदेश जानु  परेका तमाम नेपाली युवा युवतीहरू चाहे अरवको खाडीमा हुन् वा युरोप अमेरिका मै किन नहुन् ।  हरेकको जीवन युद्ध जस्तै छ । मानसिक पीडा रहित सरल र सहज कसैको छैन। परिवार छोडेको पीडा, घर गाउँ सहर छोडेको पीडा,साथीभाइ समाज छोडेको पीडा, देश छोडेको पीडा ,भूगोल छोडेको पीडा। माटोको सुवास, संस्कार र सभ्यता विछोडेको पीडा । यति धेरै पीडा भित्र अर्काको देशमा हात पाखुरा बजारेर जीवन यापन गर्नु कम्ताको सङ्घर्षका दिनहरू विताउनु पर्दैन। युद्ध लड्नेको दु:ख गोला बारुद भित्रकै भयो। अरवको खाडीमा तातोमा सेकिनेहरूको पनि  जीवन युद्ध मै छ। अर्काको देशमा आफ्नो स्थान बनाउन तयार पार्नु पर्ने कागजपत्रको खेला, वकिलको दस्तुर र कामको दवाव पनि युद्ध लडे जत्तिकै छ । मेसो गर्दागर्दै घर जहाजमा फर्किने हो कि बक्सामा फर्किने हो यो पीडा कम्तिको छैन । समग्रमा मुग्लानी जीवनको पीडा प्रतिनिधित्व गरेको छ रचनाले ।

चन्द्र सूर्य ध्वजा रगताम्य फाँसीमा झुन्डिदै छ 

नेताहरूको सफेत क्रियाकर्म को शंखनाद गरेर  

उत्तर दक्षिण र पातालको बजारमा 

दश गजाको हत्या हुँदा 

टुलुटुलु हेरिरहन्छन् बहिरा नेताहरू 

                               (बुज्रुक कृतिकारहरू -कविताबाट उद्धृत)

'बुज्रुक कीर्तिकारहरू' कवितामा आज देश युरोप अमेरिका र छिमेकी देशहरूको स्वार्थको खेल मैदान भइरहेको । देश फाँसीमा लड्किएको बेला नेताहरू बहिरा हुन पुगेको आफ्नो अभिमत बढो मार्मिक रूपले राख्दै देशको सिमाना मिचिदा पनि नेताहरू बोल्नसम्न नसकेकोमा विरोध जनाउँछन् । सरकार लाचार छायाँ बनेर केबल दर्शक बनिरहेकोमा बिद्रोह जनाउँ छन् ।

 

कसैले भन्छ चन्द्रमा राम्रो

कसैले सूर्यलाई 

म भन्छु हजुर त्यो भन्दा राम्रो 

नेपाली ध्वजालाई।

                           (पिरतिको चाल बाट उद्धृत)

                          पुस्तक भित्र मन्तव्यका क्रममा नेपाली साहित्यविकास परिषद् नेपाल च्यप्टरका प्रमुख सल्लाहकार वरिष्ठ कवि सहित्यकार गोपाल पाराजुली लेख्नुहुन्छ :

कोमलका कवितामा नेपानलको झण्डाको संवेदना छ। माटोको चेतना। यही चेतनाले यिनी देशसँग जोडिएका छन्। संवेदनाको प्रवल वेगमा उठ्ने यिनका कवितामा देखिनेछ  एउटा निश्छल कविको उपस्थिति र निर्विरोध त्यसको छाया ।

वास्वमा 

मायाको सिर्जना

स्पर्श, हेराइ, बोलाइ

र सुगन्धबाटै

दौडन्छ रगत

नसा नसामा । 

          (पर्याय कविताबाट उद्धृत)

                          पुस्तकमा मन्तव्यका क्रममा पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार कवि  लोकेन्द्र बहादुर चन्द लेख्नु हुन्छ : मेरो आफ्नो ठाउँ सुदुर पश्चिमका चम्किला वरिष्ठ कवि कोमल डोटीमा जन्मेर  लन्डनमा साहित्यको फूलवारी फुलाए छन् । उनको प्रसिद्धिले खुसी मन भयो । 'सफूतयगु सफू' भित्रका  कवितामा देशको माटोको सुवासना पाइन्छ । चिन्तन् र माया पाइन्छ । नेपाली साहित्यलाई  नेपाल भाषामा अनुवाद प्रकाशन गर्ने नेपाली साहित्य विकास पिरषद् युके र नेपाल भाषा फाउन्डेसन काठमाडौको कार्य सराहनीय छ ।

मृत्यु उत्सव मनाइरहेका वर्तमानहरू 

हिँडिरहेछन् सडक भरि

कारुणिक प्रहारको अतीत बोकेर

व्यक्ति, समाज, गाउँ सहर

अनि सिङ्गो राष्ट्रको विकृत मनोदशा

वर्तमान मात्ति रहेछ इतिहास च्यात्न 

सुनको कलम बोकेर 

                         ( मृत्यु उत्सव कविताबाट उद्धृत)

                        पुस्तकभित्र मन्तव्यका क्रममा नेपाली साहित्य विकास परिषद् युके का प्रमुख सलाहकार यती नेपाली एसोसिएसन युके का  पूर्व अध्यक्ष डा.राघव प्रसाद धितालOBE  लेख्नुहुन्छ : कोमलका सिर्जनाहरूमा देशप्रतिको माया झल्किन्छ। कर्तव्य बुझिन्छ। राजनीतिक प्रदूषण प्रति चिन्ता देखिन्छ। न्याय हराउँदाको आवाज छ । इतिहास,संस्कृति र सभ्यता मेटिन थालेको चिन्ता छ। मन रोमान्चित पार्ने सिर्जनाहरू पनि छन् । समग्रहमा कवि कोमल राष्ट्रीय चिन्तन् बोकेकेका अब्बल कवि हुन्।

आँखाभरि तिमीलाई चुपचाप राखेको छु

मुटूभरि तिमीलाई ढुकढुकी मै साँचेको छु

कतिलाई ढाँटे मैले तिमीलाई माया लाउन

आफैलाई रोपेँ मैले तिमीसँग फूलिदिन !

                           (आँखाभरि (मिखा जायेक कविताबाट उद्दृत)

             नेपाली साहित्य विकास परिषद् युके का पूर्व अध्यक्ष तथा बिबिसी नेपाली सेवाका पूर्व सञ्चालक कवि खगेन्द्र नेपालीको विचारमा कोमल : 

माटोको मायामा हुरूक्क हुने कवि कोमलका कविताहरू जसरी जुधारुरूपले राष्ट्र र राष्ट्रीयताको पक्षमा अजर शीला भई उभिएका छन् , त्यसरी नै माया पिरतिका प्रसङ्गमा  लुरूक्क परेर गुलाफको फूलझैँ कोमल र रोमाचित मन बोकेका छन्।

झर्न त झरेकै हुन्छ दिनउँ 

मुस्कान् खोज्दै ऑसु 

भेट्नै मुस्किल खुसीहरू 

पैँचो मागि कसरी हाँसु ।

                      पुस्तक भित्र आफ्नो मन्तव्यका क्रममा  नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार इल्या भट्टराई लेख्नुहुन्छ : देश प्रेम देखि माय पीर्ति सम्मका कविताहरू सारै मन छुने  छन् । कवि कोमलका तीन वटा नेपाली साहित्यका काव्य कृतिहरूबाट  अनुवादित  एउटै पुस्तक 'सफूतयगु सफू' कवितासङ्ग्रह नेपालको प्राचिन सांस्कृतिकरूपले समृद्ध नेपाल भाषामा  प्रकाशन गर्न पाउँदा खुसी लागेको छ  ।

विश्वास निभेको फाँटमा 

फेरि आँधिहुरी बनेर मच्चिन थालेपछि

मुस्कुराउँछ र शान्तिको वसन्त ?

त्यसैले शान्ति भनी

आदर्श लुट्न

अस्तित्व फाँसीमा झुणाड्याउन

मृत्यु जन्मेको जन्म्यै छ ।

                        (कस्ले भन्छ मृत्यु जन्मदैन कविताबाट उद्धृत)

            पुस्तकभित्र पसेर परिषद्कि सहअध्यक्ष कवयित्री डा. सुधा श्रेष्ठ भन्नु हुन्छ: कवि कोमलले पुस्तकभित्र आज देशमा उत्पति भएको परिस्थिति प्रति बढो बजोडले आफ्ना कविताहरूमा आवाज उठाएका छन् । शान्तिको नाममा देशको अस्तित्व मेटिने त्रास क्रान्तिकालभन्दा भयावह भएर उठिरहेको छ । न्याय भ्रष्ट हुँदै जाँदा विश्वास हराएको छ । नैतिकता र आदर्श लुटेराहरूले कैद गरेकाले असामाजिक त्रास फैलिएकोछ । समग्रमा देश दुखेको अनुभूति आज सबैलाई भएको छ तर बुझ्ने ठाउँमा पुगेकाहरूले बुझपचाइरहेका छन् भन्ने मत कवि कोमलका कविताहरूमा पाइन्छन् ।

यो बजारमा

विदुर, विधवा, बालक, वृद्धहरूलाई

समावेशी र रूपान्तरणको माला लगाउँदै 

खोक्रो आद्रशको शङ्खनाद गर्दै नचाइरहेकोछ 

नेताहरूको महङ्गो बजारमा ।

                     (नेताहरूको महङ्गो बजार कविताबाट उद्धृत)

 

              पुस्तकभित्र कवि कोमल र सिर्जनशीलता बारे नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका संस्थापक अध्यक्ष साहित्यकार कवि रक्ष राई लेख्नुहुन्छ: कोमल प्रसाद श्रेष्ठ मल्ल मैले कविता पढेर चिनेका कवि हुन्। यो यात्रामा मैले उनका कविताबाट धेरै पाठ सिकेको छु । कविता उनको प्राणसँग जोडिएको बस्तु हो । कवि कोमलका विद्रोही कवितामा विसङ्गत समयको आकाशमा बदल्दै गर्जिन्छ, विजुली चम्किन्छ, चट्याङ्ग पर्छ र घनघोर वर्षा हुन्छ ।

एकान्तमा 

उज्यालो निभेको बेला म थिएँ

कानले अँध्यारो सुन्यो

आँखाले अँध्यारो देख्यो

नाकले अँध्यारो सुँघ्यो !

           (अन्धकार कविताबाट उद्धृत)

           पुस्तक समीक्षाको क्रममा  नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरकी  सचिव डा.रेणुका थापा'सोलु'  भन्नुहुन्छ :

डायसपोराबाट कवि कोमलले देशभित्र राजनीतिक प्रदूषणले देश बिटुलिन पुगेको देख्छन्  र विरुद्धमा आवाज उठाउँछन्। न्याय प्रदुशित भएको देख्छन र आवाज उठाउँछन्। समाज विग्रहतिर धकेलिएको  देखेर चिन्तित् हुन्छन् । विदेशी शक्तिहरूको  चलखेलले देशको अस्तित्व मेटिन सक्ने खतराको विरुद्धमा जोडतोडले विरोध जनाउँछन् । यस 'सफूतयगु सफू' चिनाखँ मुना -भित्र कवि कोमल क्रान्तिका काव्य लिएर उभिएका छन् । प्रेमिल प्रणय र प्रदेशको पीडा बोकेका छन्।

                      मेरा सहहृदयी मित्र नेपाली साहित्य विकास परिषद् युके का अध्यक्ष वरिष्ठ कवि कोमल मल्ल'निराकार' को साहित्यिक यात्रा बालकाल देखिबाटै आरम्भ भएको हो । नेपालमा हुँदा अध्ययन र सेवाले अधिवक्ताको परिचय बोकेका कोमल कानुनका ठेली भन्दा कविताका ठेली बोकेर साहित्यिक गोष्ठी र समारोहहरूमा पुग्थे। काव्यिक प्रतियोगिताहरूमा भाग लिन्थे । यसक्रममा नेपालका थुप्रै साहित्यक संघसंस्थाहरू र नेपाल प्रज्ञा प्रतिष्ठानबाट समेत थुप्रै पुरस्कार र प्रशंसापत्रहरू पाए।  कविता प्रतियोगिताहरूमा निकै उत्सहकासाथ भाग लिने उनको बालकालदखिको राम्रो बानी थियो । कविता बोकेर सडक आन्दोलन समेतमा होमिएका कोमल  नब्बेको दशकमा बेलायत आए पछि  रोजिरोटी दिनचर्याका दबाब र  व्यस्तताका  बाबजुद पनि कविता लेखनको खोला बगाइरहे । सन् १९९२ मा म लगायतका साथीहरू मिलेर लन्डनमा सगरमाथा खबर पत्रिका नियमित  प्रकाशनमा ल्याएका थियौँ र पत्रिकामा साहित्य सामग्रीको स्थाई स्तम्भ छुट्याई कथा,कविता,गीत,गजल,ठट्यौली,लेख रचना आदि छाप्ने गर्थ्यौं। उतिखेर बेलायतमा नेपालीको सङ्ख्या कम थियो। त्यस माथि पनि सर्जकहरू झनै क। अहिलेको जस्तो इन्टर्नेट र मोबाइलको जमाना थिएन। पत्रिकाको संपादक भएकोले अर्को अङ्कमा कस्को सहित्य सामग्री पाइएला भनेर मनमा झर्को भइरहन्थ्यो। पछि कवि कोमललाई लन्डन मा पाए पछि यो झर्कोबाट पनि मुक्ति पाएको थिएँ। अर्थात  बेलायतमा मात्र उनको साहित्य साधना र सेवा झण्डै तीन दशक पुग्न लाग्यो । सन् १९९५ मा नेपाली साहित्य विकास परिषद युके को स्थापनाकाल देखि नै नेपाली भाषा साहित्यको समृद्धिमा सक्रिय र  सङ्गठितरूपमा लागि परेका कोमल परिषद्का विभिन्न पदहरूमा काम गर्दै सन् २०१८ बाट अध्यक्ष भएर हाल तेस्रो कार्यकालको नेतृत्व  सम्हालिरहेका छन् ।  उनले प्रस्तुत ' सफूतयगु सफू'  चिनाखँ मुना कृति भन्दा अघि झणडै एक दर्जन काव्य कृति प्रकाशित गरिसकेका छन्। धारा प्रवाह कविता लेख्न सक्ने क्षमता र  उर्जा राख्न सक्ने कोमल डायस्पोराका राष्ट्रवादी रोमान्टिक आशु कवि हुन । नेपाल र बेलायतमा गरेर चार दशकभन्दा बढी समयदेखि निरन्तर मौलिक सिर्जना र सेवामा लागिपरेर वरिष्ठ कविको सम्बोधन सम्मान आर्जन गरिसकेका कोमल बेलायतमा एनएल डिसी गोल्ड मेडल प्रथमबाट समेत सम्मानित भइसकेका छन् । भर्खरै पनि नइ प्रकाशन नेपालबाट नइ कीर्ति अलङ्कार पदकबाट पनि सम्मानित भएका छन्। बेलबेलामा उनले पाएका अरू थुप्रै पदक र पुरस्कारहरू छन्। मैले यहाँ  अहिले उलेख गरिन।  नेपालको डोटी, दिपायल,सिलगढी बजारमा बुबा स्व.कृष्णप्रसाद श्रेष्ठ मल्ल र मुमा स्व.खड्क कुमारी श्रेष्ठ मललको कोखबाट बिसं २०१६  सालमा जन्मिएका वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्ल सन् १९९३ मा बेलायत, लन्डनमा अध्ययनको सिल्सिलामा आएका हुन् र अध्ययन पश्चात श्रीमती कोहिनूर मल्ल, छोरी इच्छा मल्ल र छोरा उपदेश मल्ल र बुहारी एवम् सानु नातीका साथमा लन्डनमा साहित्य तथा समाज सेवामा सक्रियरूपले लागिपरेका छन्।

                      मेरा सर्जक मित्रको यो नवीनतम कृति 'सफूतयागु सफू 'कवितासङ्ग्रह  पुस्तक नेपाली साहित्य विकास परिषद् युके तथा परिषद्को नेपाल च्याप्टर र नेपाल  भाषा फान्डेसन, काठमाडौँ को संयुक्त प्रयासबाट प्रकाशन गर्न पाउँदा खुसी लागेको छ।

                         नेपाली भाषा साहित्यलाई अरू विभिन्न मातृ भाषा वा अङ्ग्रेजी  लगायतका विदेशी भाषाहरूमा समेत लेखन वा अनुवाद प्रकाशन गर्दै जाने नेपाली साहित्य विकास परिषद्को कार्ययोजना अन्तर्गत नै यो कृति नेपाल भाषा फाउन्डेसन, काठमाडौको संयोजन र सह प्रकाशनमा अनुवाद प्रकाशित गरिएको हो । नेपाली नयाँ वर्ष २०८० साल आगमनका अवसरमा गत अप्रिल महिनामा परिषदद्वारा एबिआई कलेज लन्डनमा आयोजित समारोहमा प्रमुख अतिथि नेपाली राजदूतावासकी नियोग उपप्रमुख रोशन खनालबाट  विमोचित  भएको थियो भने यसअघि परिषद्को नेपाल च्याप्टरद्वारा  नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आयोजित  समारोहमा भाषा परिषद्का अध्यक्ष  डा. गोपाल ठाकुर र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य,सचिव डा.धनप्रसाद सुवेदीबाट  विमोचन भएको थियो । बेलायतमा नेपाली साहित्य विकास परिषद् युके र नेपालमा रत्न पुस्तक भण्डार वागबजारबाट उपलव्ध हुने यो 'सफूतयगु सफू' चिनाखँ मुना अर्थात 'किताबहरूको किताब' कविता सङ्ग्रह नेपाल भाषाका जानाकार साहित्य प्रेमी पाठकहरूको रुचिभित्र पर्नेछ भन्नेमा म विश्वस्त छु । लेखकमा शुभकामनाका ।

(आगामी अङ्कमा परिषद्का पूर्वअध्यक्ष वरिष्ठ साहित्यकार कवि हरिसिंह थापाको कथासङ्ग्रह 'मेलिनाको डायरी', पूर्व सहअध्यक्ष तथा सल्लाहकार कवि डा. गोपाल पौडेलको कथासङ्ग्रह 'पाकेटमारको चिट्ठी' र पत्रकार एवम् कथाकार कवि दूत गर्बुजा पुन' चिम्खोले काइँला' को जीवनी कृति  'लोसोगोठदेखि बकिङ्घम प्यालेससम्म' पुस्तकहरूको समीक्षा यस नेपाली साहित्य विकास परिषद् युके को लेखकहरूलाई प्रोत्साहन र पाठकवर्गहरूमा साहित्यप्रति अभरुचि बढाउने उद्देश्य र कार्यतालिका अनुरूप नै क्रमश: प्रकाशित हुने जानाकारी पनि यहीँ निर साहित्यप्रेमी पाठकवर्गमा अवगत गराउँदछु)

सुरेशजङ्ग शाह

Email: [email protected]

संस्थापक तथा निवर्तमान अध्यक्ष - नेपाली साहित्य विकास परिषद् यूके (स्थापित १९९५),लण्डन

प्रधान सम्पादक- लालीगुराँस साहित्यिक पत्रिका (प्रकाशन आरम्भ १९९६)  



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?