११ बैशाख, २०८१
पूर्ण गुरुङ,
लण्डन । गत आइतबार लण्डनमा सम्पन्न लण्डन म्याराथनमा नेपालबाट आएका धावक गोपी चन्द्र पार्कीले उत्कृष्ट प्रर्दशन गरेका छन् । उनले उक्त २६ माईल दुरीको दौडलाई २ घण्टा २२ मिनेटमा पुरा गरेका छन् । ५९७०५ जनाले सफलतापूर्वक पुरा गरेको उक्त म्याराथनमा उनी २३ सौ स्थान आउन सफल भएका छन्।
त्यस्तै, लामो समयदेखि विभिन्न दौड प्रतियोगितामा भाग लिदै आएका बेलायतवासी नेपाली सन्देश राईले २६ माईलको दुरी २ घण्टा ३३ मिनेट, प्रकाश गुरुङले २ घण्टा ३९ मिनेट, सन्तोष राईले २ घण्टा ४७ मिनेट, चन्दन गुरुङले २ घण्टा ५४ मिनेट, मन्द गुरुङले ३ घण्टा ५ मिनेट, कुशल दिक्षितले ३ घण्टा ८ मिनेट, तिल बिक्रम सम्बाहाम्फेले ३ घण्टा १४ मिनेट, राजेन्द्र गुरुङले ३ घण्टा ३२ मिनेट, धन क्षेत्रीले ३ घण्टा ३५ मिनेट, गौरब गुरुङले ३ घण्टा ३९ मिनेट, पारस गुरुङले ३ घण्टा ४० मिनेटमा पार गरेका छन् ।
स्मरण रहोस्, लामो समयदेखि बेलायतमा मेर्गेज, स्टेट एजेन्सी, इन्स्योरेन्सलगायतको व्यवसाय गर्दै आएका पीपल ग्रुपका मेनेजिङ्ग डाइरेक्टर सूर्यप्रकाश गुरुङले स्व. राष्ट्र राई तथा मिरा राईको फाउण्डेशनलाई सहयोग गर्ने उद्देश्यले उक्त म्याराथनमा भाग लिएका थिए । उनले उक्त फाउण्डेशन सहयोगार्थ २० हजार ८०१ पाउण्ड संकलन गर्न सफल भएका छन् । साथै, उनले ४ घन्टा २६ मिनेटमा सो म्याराथन पुरा गरेका थिए ।
तस्वीर- फेसबुक