Tuesday July 23, 2024

नेपाली गीत सङ्गीतलाई भाइरसले संक्रमण गर्दै

१ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1697


नेपाली गीत सङ्गीतलाई भाइरसले संक्रमण गर्दै

हरि उप्रेती,

अमेरीका। नेपाली साहित्य जगतमा धेरै विधाहरू छन जस मध्य गीत सङ्गीत एक सशक्त विधा मानिन्छ। विश्व समुदायलाई नेपाली साहित्यको परिचय दिलाउन एक सफल विधा नै गीत सङ्गीत हो भन्दा अत्युक्ति नहोला।आज विश्वभर रहेका गीत सङ्गीत प्रेमीहरू तिनै गीत सङ्गीतका सृजनामा रमाउने र आनन्द लिने गर्दछन्। 

यसो भन्दै गर्दा सम्पूर्ण श्रोता,दर्शक एवं सर्जकहरूले सृजना कसरी सृजित हुन्छन्,संरचना कस्तो हुनुपर्दछ र सृजनामा कस्ता शुत्रहरू प्रयोग गरिन्छन् भन्ने कुरालाई ध्यान दिन आवश्यक पर्दछ। विशेषत: यहाँ गीत सङ्गीतको कुरा भएकाले यहाँ हरूलाई एकैछिन विषयवस्तु तर्फ मोड्न चाहन्छु। गीत भन्न साथ अधिकांशले बुझ्ने परिभाषा भनेको भावात्मक अभिव्यक्ति नै हो तर गीतको अर्थ र परिभाषा यतिले मात्र पर्याप्त भने छैन। 

गीत समाजको ऐना हो,गीत जीवन दर्शनको अभिव्यक्ति हो,गीत सामाजिक रूपान्तरणको एक यथार्थ सन्देश हो। यस्तो गहन विधालाई हल्का रुपमा ग्रहण गरेर सृजनालाई प्रस्तुत गर्नु कतिको न्याय हुन्छ भन्ने प्रश्नमा एउटा सृजनाकारले गम्भीर भएर सो सृजना पस्कनु अगी सोच्नु पर्दछ। गीतको पनि अरू साहित्यिक विधामा जस्तै आफ्नै संरचना हुन्छन् र तिनै संरचनालाई अवलम्बन गरी सरल शब्दहरूलाई प्रयोजनमा ल्याएर जीवन अनि सामाजिक रूपान्तरणका मार्गदर्शन बन्ने सृजनालाई पस्कनु सानोतिनो कला भने पटक्कै होइन। यसरी अर्थपूर्ण रूपमा लेखेका गीतहरूलाई अब न्यायोचित रूपमा लय दिने काम सङ्गीतकारको हुन्छ।  

अब भने यहाहरुलाई थोरै सङ्गीत तर्फ डोर्याउन चाहन्छु। सङ्गीतलाई सामान्य भाषामा भन्नुपर्दा लय भन्ने बुझिन्छ तर लयले मात्र सङ्गीतको परिभाषालाई पूर्णता प्रदान गर्न सक्दैन। सङ्गीत आफैमा वेदको ध्वनी हो भने सङ्गीत सुर,आलाप, ताल, राग अनि धुन हो जसमा सम्पूर्ण मानवको अन्तरनाद घन्किन्छ। हुन त म सङ्गीतको विज्ञ भने होइन तर जे बुझेको छु त्यो कुरा भन्न चैं प्रष्ट रुचाउछु। सङ्गीत सतहमा जति सरल देखिन्छ त्यसको गहिराइ त्यति नै अथाह छ। एउटा विज्ञ सङ्गीतकारले गीतमा सङ्गीत भर्नु अगी गीतको मूल भाव र त्यस सृजनाले प्रवाह गर्ने सन्देश थाहा पाउनु अति आवश्यक हुन्छ।गीतका शब्दहरूलाई केलाएर भाव विचलित नहुने सङ्गीत भरिएका कुनै पनि सृजनाहरु जीवन्त रहन्छन्। आज र अहिले नै केही हुन नसक्ला तर भोलि समयले अवश्य ती सृजनालाई पढाउनेछ अनि सुनाउनेछ। यी त भए गीत र सङ्गीतलाई थोरै बुझ्ने कुरा,अब अलिकति कुरोको चुरो खोतल्न तर्फ लागौ।

राजमती कुमती बाट गुन्जिएको नेपाली गीत सङ्गीत आजको अवस्थासम्म आईपुग्दा हजारौं त के लाखौं गीत सङ्गीत सृजनाहरू बजारमा आईसकेका छन। ती मध्य २५ देखि ३० प्रतिशत सृजनाहरु जीवन्त होलान अथवा राजमती कुमती देखि नारायण गोपाल र भक्तराज आचार्य सम्मको युगमा आईपुग्दा धेरै गीत सङ्गीतले जीवन्त प्राण पाएका छन । त्यस पछिका समय र कालखण्डमा गीत सङ्गीत सृजनामा केही ह्रास आउन थाल्यो। जति जति आधुनिक युगको विकास हुँदै गयो त्यति नै नेपाली गीत सङ्गीतमा पश्चिमी सुगन्ध आउन थाल्यो जुन गीत सङ्गीतलाई समय सापेक्ष विकास गर्न निकै महत्वपूर्ण देखिन्थ्यो। 

तर त्यही सुगन्धलाई आफ्नो मौलिक अत्तर बनाउन खोज्दा खोज्दै विकृतिहरूले प्रवेश गर्ने अवसर प्राप्त गरे।तिनै सुगन्ध विषाणु बन्दै गए अनि विस्तारै सृजनाकारहरुका हात काप्न थाले।गीत रचनामा विकृतिका शब्दहरू उनिन थाले। क्रमश भावमा विचलन पनि आउन थालेको देखिन्छ। ऋषि महर्षिका समय देखि स्थापित हाम्रो पूर्वीय शास्त्रीय सङ्गीतलाई पश्चिमी सङ्गीतको सुगन्धबाट फैलिएका विषाणुले विस्तारै आक्रमण गर्न थालेको देखिन्छ। यता प्रविधिको विकास संगै गीत सङ्गीतमा मौलिक धुन हराउन थालेको पाइन्छ भने उता कम्प्युटराइज बाजाका धुनहरूले सङ्गीतको मिठासमा ह्रास आएको अनुभूत गर्न सकिन्छ। यस्ता अनेकौ संरचनात्मक र प्राविधिक विकृतिलाई अंगाल्दै जाने हो भने के साँच्चै हाम्रो मौलिक गीत सङ्गीतको पहिचान जोगाउन सकिएला त? यो गीत सङ्गीतका विज्ञ र पारखीलाई गम्भीर प्रश्न लाग्नु पर्दछ। यी माथि उल्लिखित विषयहरू सैदान्तिक र प्राविधिक मात्र हुन। अब एकैछिन लागौ गीत सङ्गीतको व्यावहारिक पक्ष तर्फ। 

बढ्दो सामाजिक सञ्जालको प्रयोग संगै वास्तविक जीवन दर्शनलाई चटक्क भुलेर मनोरञ्जनको दुनियाँमा रमाउनेको जमात ह्वत्तै बढेको पाइन्छ। हिजो रेडियो टेलिभिजन हुँदै यूट्यूवसम्म आईपुग्दा गीत सङ्गीतले केही हदसम्म आफ्नो अस्तित्व जोगाइरहेको कुरा नकार्न सकिन्न।जब यूट्यूव हुँदै टिकटक सम्म गीत सङ्गीत आईपुगे विस्तारै विस्तारै सृजनाहरूको अस्तित्व समाप्त हुने बाटो तर्फ लागेको पाइन्छ। जिब्रो नचपाइ भन्नु पर्दा धेरै गीत सङ्गीत र सृजनाहरू बलात्कृत भइसकेका छन। संग संगै ती सृजना संग जोडिएका सर्जकहरू पनि नाङ्गिने क्रम बढ्दो देखिन्छ। यसो भन्दै गर्दा सामाजिक सञ्जालहरू नराम्रा हुन भन्न खोजेको भने पटक्कै होइन तर ति सञ्जालहरूलाई कसरी र कुन अवस्थामा अनि के का लागि प्रयोग गर्दैछु भन्ने कुरा प्रयोगकर्ताले ध्यान दिन आवश्यक देखिन्छ। 

कतिपय अवस्थामा भाइरल हुने बहानामा सामाजिक सञ्जालमा छिरेका भाइरसहरूले गीत सङ्गीतलाई मरणासन्न अवस्थामा पुर्‍याई सकेको कुरा नकार्न सकिन्न। गीत सङ्गीतको भाषा सम्म नबुझेकालाई टिकटकमा जथाभाबी चिच्याई रहेकालाई यूट्यूवमा डलर र भ्यूज कमाउने प्रलोभनमा परी टपक्क टिपेर स्टुडियोभित्र छिराउने प्रवृत्तिले सिङ्गो गीत सङ्गीतको अपमान गरेको पाइन्छ । अर्को तर्फ गीत सङ्गीतमा बर्षौ देखि साधना गर्दै आईरहेका सर्जकका टाउकोमा लट्ठी बजारिएको छ। 

गीत सङ्गीतलाई मौलिक सम्पत्ति र पहिचानको रुपमा सदुपयोग गर्नुपर्ने ठाउँ प्रतिस्पर्धात्मक कार्यक्रम वा रियालिटी शो का नाममा सम्पत्ति कमाउन उद्यत रही कार्यक्रम सञ्चालन गर्दा वास्तविक साधक, सर्जक र कलामाथि कुठाराघात भएको कयौ दृष्टान्त पाइन्छ। अर्को तर्फ नेपाली गीत सङ्गीतको धरोहर मानिने नेपाली लोक तथा लोक दोहोरी गीतमा छाडा पन मौलाएको देख्दा सर्जकहरूमा सृजना गर्ने शब्दहरू नै समाप्त भएका हुन त भन्ने गम्भीर प्रश्न उठेको छ।आजकल कतिपय दोहोरी गीतहरू परिवार संग बसेर संगै हेर्न नसक्ने भइसकेको अवस्था छ।यस्तो छाडापनलाई अँगाली रहने हो भने नेपाली गीत सङ्गीतको धरातल नै समाप्त हुने देखिन्छ।यी सम्पूर्ण विकृतिहरूको उपचार नखोज्ने र भाइरसहरूलाई समयमै पहिचान गरेर औषधी नगर्ने हो भने नेपाली गीत सङ्गीतलाई प्राणघातक रोग लाग्ने निश्चित देखिन्छ। अब त सरोकारवला संघ संस्थाहरू व्यूझिने पो हो कि?

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?