२४ बैशाख, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन। आगामी जुन २ तारिख आइतबार लन्डन वुल्लीचमा आयोजना हुने बुद्धजयन्ती कार्यक्रम तयारीबारे लन्डनस्थित नेपाली दूतावासमा छलफल भएको छ।आयोजक बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठसहितका पदाधिकारीहरु शुक्रबार दूतावास पुगेर राजदूत ज्ञानचन्द्र आचार्यसहित दूतावास टीमसँग छलफल गरेका हुन्।
बुद्धजयन्ती कार्यक्रममा विगतमा जस्तै दूतावास र नेपाल पर्यटन् बोर्डसँग सहकार्य गरिने पक्का गरिएको कार्यक्रम संयोजक एवम् फाउन्डेसन उपाध्यक्ष प्रसुना कंडेलले जानकारी दिनु भयको छ।कार्यक्रममा विभिन्न मुलुकका कूटनीतिक अतिथिहरु निम्त्याउने र उक्त जिम्मा दूतावासले लिने सल्लाह भएको संयोजक कंडेलले बताउदै बुद्धिष्ट कम्युनिटी सेन्टर यूके,डायमण्ड बुद्धिष्ट सेन्टर र बुद्धिष्ट गुम्बा रेडिङ सहयोगी संस्थाका रुपमा उपस्थित हुने जनाईएको छ।
कार्यक्रममा बौद्ध दर्शनसम्बन्धि खोज,अध्ययन गर्ने बेलायतस्थित विभिन्न युनिभर्सिटीका प्राध्यापक समेतलाई विशेष अतिथिका रुपमा आमन्त्रण गरिंदैछ।बुद्धको जन्मस्थलका रुपमा लुम्बिनीलाई चिनाउँदै बुद्धका शान्ति सन्देश संसारभर फैलाउनुका साथै नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने कार्यक्रमको लक्ष्य छ।
दूतावासको छलफल कार्यक्रममा राजदूत आचार्यसंगै उपनियोग प्रमुख रोशन खनाल,सेकेन्ड सेक्रेटरी रामबाबु नेपाल तथा फाउन्डेसनका तर्फबाट अध्यक्ष दीपक श्रेष्ठ, उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रसुना कंडेल,उपाध्यक्ष अर्जुन कटुवाल,कार्यक्रम सहसंयोजक सुर्जे गुरुङ र नेपाल पर्यटन बोर्ड प्रतिनिधि काउन्सिलर धनबहादुर सार्की सहभागी थिए।