Tuesday May 21, 2024

बेलायत जाने नेपाली फुटबल टिमको बिदाइ, कप्तान भन्छन्- इंग्लिस टोलीसँगको खेलका लागि हामी उत्साहित

१८ बैशाख, २०८१ शीतलपाटीन्युज डटकम। 1437


बेलायत जाने नेपाली फुटबल टिमको बिदाइ, कप्तान भन्छन्- इंग्लिस टोलीसँगको खेलका लागि हामी उत्साहित

शीतलपाटीन्युज डटकम।

काठमाडौँ । इंग्लयान्ड ‘सी’सँग मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ। सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालय सातदोबाटोमा आयोजित कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फेन, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलगायतले टोलीलाई बिदाइ गर्दै शुभकामना दिए । 

नेपालले आगामी वैशाख २४ गते (मे ६) इंग्ल्यान्डको अल्डरसटमा इंग्लिस टोलीसँग खेल्दैछ । बिदाइ कार्यक्रममा नेपालका कप्तान किरणकुमार लिम्बूले छोटो समयको तयारी रहे पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे । ‘इंग्लिस टोलीसँगको खेलका लागि हामी उत्साहित छौँ । टोलीमा नयाँ खेलाडी छन् । ती खेलाडीले इंग्लिस टोलीसँग फुटबल खेल्न पाउनु सुखद पक्ष हो।’

यसैबीच, राजदूत फेनले बच्चा बेला आफूले पनि फुटबल खेल्ने गरेको स्मरण गर्दै नेपाली टोलीलाई सकारात्मक नतिजाका लागि शुभकामना दिए । नेपाली फुटबललाई सहयोग गर्न आफू सदैव तयारी रहेको उनको भनाइ थियो ।  

एन्फा अध्यक्ष नेम्बाङले यस खेलका लागि पहल गर्ने पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पालाई आभार व्यक्त गरे । कोरोना संक्रमणका कारण यसअघि हुन नसकेको खेल अहिले हुन लागेको उनको भनाइ थियो । 

नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले इंग्लिस फुटबलको तल्लो डिभिजनको टोली भए पनि बलियो हुने बताए । अधिकांश खेलाडी प्रिमियर लिग खेल्न लक्ष्यसहित त्यो टोलीमा रहेकाले खेलाडी पनि व्यावसायिक रूपमा उत्कृष्ट हुने प्रशिक्षक एनेसको भनाइ थियो । नेपालमा पछिल्लो समय धेरै खेलाडी बिदेसिएकाले यो टोली कम अनुभवी रहेको उनको भनाइ थियो । 

कार्यक्रममा एन्फा अध्यक्ष नेम्बाङले राजदूत फेनलाई नेपालको जर्सी पनि हस्तान्तरण गरेका थिए । यस्तै, मुख्य प्रशिक्षक एनेसले सोमबार नै २३ सदस्यीय टोली पनि घोषणा गरेका छन् । 

नेपाली टोलीमा कप्तान लिम्बूसहित अभिषेक बराल र विशाल सुनार गोलकिपर रहेका छन् । डिफेन्डरमा छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बू, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्द छन् । 

यस्तै, मिडफिल्डरमा फत्तेमान घले, मणीकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लाकेन लिम्बू तथा फरवार्डमा दिनेश हेन्जन, अञ्जन विष्ट, जिलेस्पीजङ कार्की, हिसुब थपलिया, समीर तामाङ र सञ्जीव विष्ट छन् । 

साभार-गोर्खा मिडीयाबाट।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?