Saturday April 27, 2024

"मेलिनाको डायरीभित्र" कथाकार हरिसिंह थापा : सुरेश जंड्ग शाह

२० भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1323


"मेलिनाको डायरीभित्र" कथाकार हरिसिंह थापा : सुरेश जंड्ग शाह

"मेलिनाको डायरीभित्र" कथाकार हरिसिंह थापा : सुरेश जंड्ग शाह


लण्डन। कथा, कविता,गीत,गजल, नियात्रा र उपन्यास आदि साहित्यका सबै विद्यामा कलम चलाउने नेपाली साहित्य विकास परिषद् यूकेका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवि तथा आख्यानकार हरिसिंह थापाको भर्खरै प्रकाशित नवीनतम् कृति ‘मेलिनाको डायरी’ कथासङ्ग्रह पढ्ने अवसर मिल्यो ।

सुरेशजंगशाह                                                      संस्थापक एवम निवर्तमान अध्यक्ष 

नेपाली साहित्य विकास परिषद् यूके

स्थापित १९९५ (२०५१विसं),लण्डन।

पुस्तकभित्र पसेर हेर्दा जन्मभूमि नेपाल र कर्मभूमि बेलायतको जीवनशैली, सभ्यता, भौतिक विकास र प्राकृतिक सौन्दर्यमाझ सामाजिक परिवेश, छुवाछुत जस्ता सामाजिक कुसंस्कार, सामाजिक सोच, विदेशका पीडा, चेलीवेटी बेचबिखन, घातप्रतिघात,  दुर्व्यसन, मायापिरती, पर्यावरण आदि विषयहरूलाई छोएर यस ‘मेलिनाको डायरी’ कथासङ्ग्रहभित्र विभिन्न शिर्षकमा  १४ वटा कथा समावेस गरिएका छन् ।

कुनै भावपरख, कुनै वस्तुपरक र कुनै वर्णात्मक शैलीका कथाहरू सटिक र मर्मस्पर्सी छन् । लेखकले कर्मभूमिको विकास शैली,सीप र सोच जन्मभूमिमा उतार्न प्रेरणा जगाउने प्रयत्न पनि आफ्ना कथाहरूमा बढो रोचकरूपमा प्रस्तुत गरेका छन्।

आफूले देखेका, भोगेका र सुनेका सामाजिक विषय वस्तुहरूलाई नै सिर्जनामा उतारेर नेपालदेखि बेलायतसम्मका सामाजिक रीतिथितिहरूको जानकारी दिने प्रयास पनि छ।

कथाकारले विदेशिएका युवाहरूको पीडादेखि वैदेशिक रोजगारीले समाज र परिवारमा पारेको असर,विदेश पठाउने धन्दाबाट ठगिएका युवाहरूको आवाज र चेलीवेटी बेचबिखन आदिबारे सशक्त आवाज उठाएका छन्।

समाजमा विद्यमान रूढीग्रस्त सोचको पनि चिरफार गर्न खोजेका छन्। पूर्वीय संस्कार र पश्चिमी सभ्यताका मान्यताहरूलाई आफ्ना कथाहरूमा समेटेर जानाकारीमूलक समिश्रण गराएका छन् थापाले। रोमान्स र अपराधलाई पनि स्थान दिएर कथा संग्रहलाई सन्तुलित स्वाद दिने प्रयत्न आख्यानकार हरिसिंह थापाले गरेका छन्। लेखनमा सरलता र ठट्यौलीशैलीको मिश्रण पनि छ।

‘लौ साली नानी हो! मौका आउँछ पर्खदैन ! जाने भए को को जान्छौ हिँड। आफ्नै ससुराली गाउँकी सालीहरू भनेर पो भनेको त । नत्र सहर जाने कामदारको खाँचो छैन क्यारे !

होइन हामी जान्छौँ नि भिना।म, रूपा, शिलु, मीना, अर्चना, चमेली गरेर हामी छ जना त भइहाल्यौँ नि त।हामीलाई जसरी नि लानु होला भिना ।

हो हो भिना हामी सबै जाने हो … सबैजना एकै स्वरमा सहमति जनाउँछन् ।

लौ त जाने भए भोलि बिहान मिरमिरेमा नै घरबाट हिँड्नु पर्छ । गाडी छोप्न राम्रोसँग उज्यालो नहुँदै बस पार्कमा त पुगि पो सक्ननु पर्छ त हौ !  पछि परियो भने सिट पाइँदैन । ठिङ्ग उभिएर जानु पर्छ । कुरो त बुझ्यौ नि । गाडी भाडा खर्चबर्चको कुनै चिन्ता गर्नुपर्दैन, म मिलाइ हाल्छु । पछि कमाएर मलाई फिर्ता दिनु ।

हुन्छ भिना ! कस्तो राम्रो कुरा गर्नुभयो । पल्लो गाउँको हर्केले जस्तो दुवई जाने भए चार लाख तयार पार त भन्नु भएन । आखिर आफ्नो भिना भनेको भिना नै हो । यो भिनाको गालामा चुमिदिउँकी जस्तो लाग्यो … खितिति हाँस्छिन् सबैजना ।

लौ न लौ साली हो गाला यहीँ छ  ! एक चुमाइले स्वर्गको अनुभूति हुन्थ्यो कि !  एक चुम्मा त जावस न यो भाग्यवानको गालामा ! स्वर्ग देखिहालौँ । 
मनोहर गाला चिम्म गरेर साली नानीहरूतिर पसारेर थाप्छ ।

लौ भिना मीठो चुम्बन… चटम्म आवाज आउँछ । खितिति हाँसोको साथमा ।

ऐया बाबा ! चुम्बन पनि कस्तो सारो हौ ! स्वर्ग देखिएला भनेको त  झिलिझ्याइँ पाताल पो देखियो बाबा !

गाला छाम्दै… आफ्नी साली छैनन् । गाउँकी सालीको चट्कनलाई पनि चुम्बनै सम्झनु पर्यो ! के गर्नु दुध दिने गाईको लात पनि सहनु  भन्छन् … मनमनै गन्थनिन्छ मनोहर । (सङ्गत– कथाबाट उधृत अंश)

प्रस्तुत अंश ‘मेलिनाको डायरी’ कथासङ्ग्रहभित्रको ‘सङ्गत’ कथाबाट उद्दृत गरिएको हो । यस कथामा गाउँघरले पत्याएको सोझो इमान्दार मनोहर पल्लो गाउँको दलाल लालध्वजको सङ्गतले झन्डै दलाल नै बन्न पुग्छ र आफूप्रतिको भरोसाबाट फाइदा उठाउँदै गाउँघरका केटीहरूलाई ललाई फकाई सहरका गलैचा कारखानामा काम गर्ने बहानामा बम्बैको कोठीमा पुर्याउने गरेका दर्दपूर्ण चेलीबेटी बेचबिखनको धन्दा यस कथामा समेटिएको छ  ।

यस्तै, वैदेशिक रोजगारिले परिवारमा पारेको असरबारे पुस्तकको आवरण नाममा समर्पण गरिएको कथा ’मेलिनाको डायरी’ कथामा वैदेशिक रोजगारीले निम्त्याएको विकृत सोचका कारण कथाकी नायिका मेलिनाले अकाल र अनाहकमा आफ्नो जीवन गुमाउनु परेको छ । वियोगान्त कथाको नायक महेश पनि आफै पश्चात्ताप पीडाको बलीमा चढेका छन् । वैदेशिक रोजगारीको एउटा बाध्यता र वर्तमान परिस्थितिको उब्जनी सुखान्त नरहेको युवा परिवारको पीडालाई यस कथामा बढो मार्मिकरूपले प्रस्तुत गर्न लेखक सफल रहेका छन् ।

यस्तै यस्तै मिल्ने खालका घटनाक्रमहरूले हाम्रा गाउँघर समाजसाजलाई विछिप्त वनाइरहेका छन् । तिनै कुरालाई टिपेर आख्यानकार हरिसिंह थापाले कथाको रूप दिएर समाजलाई दलालहरूको प्रलोभनबाट बच्न चेतनाको प्रवाह गर्ने प्रयत्न गरेका छन्, सामाजिक सोच र संकुचित संस्कारलाई बदल्ने प्रयत्न गरेका छन् ।

डायस्पोराका पीडा र प्रणय सौन्दर्यका सुखान्त र दुखान्त अभिष्टहरू पनि समेटेका छन् ‘मेलिनाको डायरी’ कथासङ्ग्रहमा ।

पुस्तकभित्र प्रकाशकीय मन्तव्यमा नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्ल लेख्छन्ः ‘पढ्न रोचक र कौतुहलताले भरिपूर्ण यस ‘मेलिनाको डायरी’ कथासङ्ग्रहभित्र लेखकले प्रेम, प्रणयदेखि प्रवासी पीडासम्मका विषयहरूलाई समेटेर  बढो पठनीयशैलीमा कथाको रूप दिएका छन् । समाजलाई सजक हुन र सोचमा परिवर्तन् गर्न घचघचाएका छन् ।’

नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरको तर्फबाट प्रकाशकीय लेखनमा नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार इल्या भट्टराई लेख्छिन्- ‘कथाकार हरिसिंह थापाले प्रस्तुत ‘मेलिनाको डायरीभित्र समेटेका कथाहरूले वैदेशिक जीवनका सुखदुःख, मान्छेमान्छेबीचको विभेद, घातप्रतिघात, मायाप्रीति लगायत सामाजिक सोच र मनोविज्ञानको प्रतिनिधित्व गरेका छन् ।’

पुस्तकभित्र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी लेख्छन्ः ‘सामाजिक मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्न चाहने लेखकीय अभीष्ट यी कथाहरूमा पाइन्छन् । कथाहरू सरल, सम्प्रेष्य र पठनीय छन् । समकालीन यथार्थ र समाजसुधारको अपेक्षा यस सङ्ग्रहका कथाहरूको मूल प्राप्ति हो ।’

पुस्तकमा नेपाल साहित्यक पत्रकार सङ्घ केन्द्रीय समितिका महासचिव चेतनाथ धमला लेख्छन्ः ‘कथामा सामाजिक सौन्दर्य, घरपरिवारका कथाव्यथा, युवा जीवनका उत्कट चाहाना, विदेशिनुका विवस्था, उपभोक्तावादी संस्कृतिको प्रभाव लगायत कुनैकुनै कथाहरूमा सनातनी प्रभाव र वागचाल शैली प्रष्ट देखा परेका छन् । कथाकारको लेखनशैली बोधगम्य लाग्छ ।’

पुस्तक विमोचनाका अवसरमा नेपाली साहित्य विकास परिषद् यूके की सहअध्यक्ष डा. सुधा श्रेष्ठ र परिषद्की नेपाल च्याप्टरकी सचिव डा. रेणुका थापा ‘सोलु’ ले पुस्तक विश्लेषण गर्दै ‘मेलिनाको डायरी’ कथासङ्ग्रह नेपाली माटो र बेलायती माटोको मिश्रणमा उव्जनी भएको एउटा सुन्दर फूल हो । जसले मन र भावनालाई मात्र नभई कथा विधाको विशिष्टतालाई पनि छोएको छ भनेकी छन् ।

यी सबै विचार उधृत गरेपछि समग्रमा पुनः म यति भनौँ ‘मेलिनाको डायरी’ कथासङ्ग्रह त्यहीँ उभिएको छ जहाँ हाम्रो समाज छ, गाउँघर छ, परिवेश र पर्यावरण छ । समाजको सोच बदल्न कथाहरूले जोड दिएका छन् । अपराध, धोकाधडी र छलकपडको विपक्षमा शिलाझै उभिएका छन् । सदभाव र सुविचारको वकालत गरेका छन् । मायापीर्तिको सौन्दर्यलाई पनि सजाउन पछि परेका छैनन् ।

नेपालको गाउँघरको सम्झना गराउन र बेलायतको सभ्यता र संस्कारको ज्ञान दिलाउन पनि कथाहरू सक्षम रहेका छन् । कथासङ्ग्रभित्रबाट थपकुरा यति भनु आवरण कथा ‘मेलिनाको डायरी’ मा बैदेशिक रोजगारीबाट हाम्रो समाजमा परेको नकारात्मक प्रभाव, सामाजिक सोच र पारिवारिक पीडालाई बढो मार्मिकरूपले समेटिएको छ र स्वदेशमा मान्छेप्रति मानवमैत्री सोचबाट स्खलित पशुतुल्य तुच्छ  सोच अर्थात् मान्छेको मजबुरीको फाइदा लिन झन् अप्ठेरो मा पार्ने विकृत सोचलाई हतोत्साहित पार्ने प्रयास लेखकले कथामा गरेका छन् भने  ‘जीतावेला’ कथामा विदेशमा मान्छेलाई मात्र होइन पशुपन्छिलाई पनि पशुपन्छिमैत्री सामाजिक सोच र महत्व दर्शाउन खोजेका छन् । यसरी लेखकले आफ्ना कथाहरूमा सामाजिक सोचको परिवर्तनतर्फ आवाज उठाएका छन् ।

समग्गमा प्रस्तुत कृति मेलिनाको डायरी एउटा पूर्ण सामाजिक कथासङ्ग्रह हो। मनोरञ्जनात्मक र सकारात्मक छ । पढ्न रोचक र कौतुहलताले भरिएको छ । कथाप्रेमीज्यूहरूमा एकचोटि यो पुस्तक पढ्न सुझाउँछु ।

विसाउनु अघि यति राखुँ ! प्रस्तुत कृति ‘मेलिनाको डाएरी’ कथासङ्ग्रहका लेखक वरिष्ठ साहित्यकार नेपाली साहित्य विकास परिषद् यूकेका पूर्व अध्यक्ष हरिसिंह थापा बेलायतका वहुप्रतिभाशील सक्रिय साहित्यकार हुन् र समाजसेवाको क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ ।

उनका प्रकाशित कृतिहरू उत्तराखण्ड चारधाम यात्रासंस्मरण, बेलायतदेखि चारधाम यात्रासंसमरण, मधुरस कवितासङ्ग्रह, गुराँस फुलेन कवितासङ्ग्रह, करेसाको फूल कवितासङ्ग्र, थेम्स नदीका नागबेलीहरू कवितासङ्ग्रह, सुन्तली उपन्यास, पद्मिनी उपन्यास, नम्रताको कार्डिगन कथासङ्ग्रह, मेलिनाको डायरी कथासङ्ग्रह र मन उँड्यो गीत एलबम आदिले पाठकवर्गको राम्रैसँग मन छुन सफल छन् भने फुटकर कथा कविता र लेखरचनाहरू परिषद्को नियमित प्रकाशन लालीगुराँस साहित्यिक पत्रिकार र अन्य पत्रपत्रिकाहरूमा पाठक वर्गहरूमाझ निरन्तर प्रकाशित हुने गरेका छन् ।

यस मेलिनाको डायरी कथासङ्ग्रहले पनि लेखकका अन्य कृतिहरू झै पाठकवर्गहरमा रुचिकर रहनेछ भन्ने विश्वासकासाथ लेखकको लेखन अरू बढ्दै जाओस् शुभकामना !

सुरेशजङ्ग शाह

(शाह सन् १९९५ (२०५१ वि.सं) मा स्थापित नेपाली साहित्य विकास परिषद् यूकेका संस्थापक तथा निवर्तमान अध्यक्ष हुन्) 

[email protected]



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?