Friday May 03, 2024

तुलसीमान श्रेष्ठ “लोकसाहित्य सम्मान”द्वारा साहित्यकार कुसमाकर न्यौपाने सम्मानित

१३ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1527


तुलसीमान श्रेष्ठ “लोकसाहित्य सम्मान”द्वारा साहित्यकार  कुसमाकर न्यौपाने सम्मानित

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ।यसबर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान कुसुमाकर न्यौपानेलाई प्रदान गरिने भएको छ। तुलसीमान श्रेष्ठ स्मृति समाजले मंगलबार प्रेस विज्ञप्ति जारी गरी यसबर्षको सम्मान लोकसाहित्य अनुसन्धानमा दशकौंदेखि निरन्तर लागिरहेका नेपाली लोकगीतका अनुसन्धानदाता प्राध्यापक डाक्टर कुसुमाकर न्यौपानेलाई प्रदान गर्ने जनाएको हो।

२५ हजार नगदसहित सम्मान गरिने सो कार्यक्रम आउँदो मंसीरको २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहका बीच प्रदान गर्ने कार्यक्रम रहेको तुलसीमान श्रेष्ठ स्मृति समाजका निरजमान श्रेष्ठले जानकारी दिएका छन।२०१७ सालमा पर्वत जिल्ला पैयुँ गाउँपालिका ६,सरौँखोला, डाँडाकाहुँमा जन्मेका न्यौपाने त्रिभुवन विश्वविद्यालय अन्तर्गत पृथ्वीनारायण क्याम्पस पोखराको प्राध्यापक थिए।

उनका कास्की जिल्लामा प्रचलित लोकगीतमा वृक्ष,वनस्पती र वन (२०४९), गोपीचन लोकनाटक (२०६५), लोकरामायण(२०६५),कस्केली जातजाति र उखान(२०६९),दशावतार बालन लोकनाटक कृतिहरु प्रकाशित छन्।

यसअघि अघिल्लोबर्ष सो पुरस्कार लोक संस्कृतिविद प्राध्यापक तुलसी दिवशलाई प्रदान गरिएको थियो।त्यस्तै २०७८ मा लोक गायिका ज्ञानुराणा, त्यसअघि २०७७ मा लोक तथा देउडा गायक श्री नन्दकृष्ण जोशीलाई,२०७६ मा संस्कृतविद् सत्यमोहन जोशीलाई र २०७५ मा भाषा वैज्ञानिक तथा लोक साहित्यविद् प्राध्यापक डाक्टर चूडामणि बन्धुलाई प्रदान गरिएको तुलसीमान श्रेष्ठ स्मृति समाजका श्रेष्ठले जानकारी दिएको हो।

लोकगीत तथा लोकसंस्कृतिको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दागर्दै क्यान्सर रोगका कारण २०७३ सालमा निधन भएका तुलसीमान श्रेष्ठको स्मृतिमा सो सम्मान स्थापना गरिएको हो। गोरखाको पहिलो समाचारमुलक पत्रिका दरौँदीका संस्थापक सम्पादकका रुपमा काम गरेका श्रेष्ठले गोरखा,तनहूँ,नेपालगञ्ज,काठमाडौँका क्याम्पसमा प्राध्यापन गरेका थिए। श्रेष्ठका गोरखाली लोक साहित्य,हिन्दू धर्ममा नारी,पुस्तान्तर कथा संग्रह, नेपाली लोक गीत : परिचय र बिश्लेषण,झ्याउरे गीतको अध्ययन र अधकल्चो जीवन लगायतका पुस्तकहरु प्रकाशित छन्।त्यस्तै विजय मल्ल स्मृति ग्रन्थ, र विजय मल्ल स्मारिका लगायतका कृति सम्पादन पनि गरेका थिए।

(दरौदी दैनिकबाट साभार)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?